काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्चाल मार्फत आइतबार एक सार्वजनिक सन्देश जारी गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य बीमा कार्यक्रमको कमजोरी सुधार गर्दै राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका हुन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थालाई दाबी रकम भुक्तानी नगरेपछि निजी क्षेत्रका अस्पतालले बीमितको उपचार सेवा बन्द गर्न थालेका छन्। सरकारले अस्पताललाई अझै पनि ११ अर्ब रूपैयाँ भुक्तानी गर्न बाँकी छ।
खर्च धान्न नसकिएको भन्दै सरकारले बहिरङ्ग सेवा अन्तर्गत रू. २५ हजार रूपैयाँमा सीमित गरेको छ। सरकारले बहिरङ्ग उपचार सेवाको दुरूपयोग भएको भन्दै अधिकत्तम रकमको सीमा तोकेको हो। यद्दपी वार्षिक उपचार सेवावापतको सीमा रू. १ लाख कायमै राखेको छ।
थापाले स्वास्थ्यमा सबैको पहुँच बढाउन प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने उनले बताए। यसका लागि सुर्तिजन्य पदार्थ, मदिरा लगायत वस्तुमा कर बढाएर ती करको पैसा बीमाका लागि खर्च गर्न सकिने उनको भनाई छ।
सामाजिक सुरक्षा र स्वास्थ्यसँग जोडिएका कार्यक्रमहरुलाई एकीकृत गर्ने, बीमा अन्तर्गत सञ्चालन गर्ने, तीन तहका सरकारबीचको समन्वयलाई पनि एकीकृत र सुदृढीकरण गरे बीमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सक्ने उनले बताए। उनले निजी क्षेत्रको समेत सहभागितामा जोड दिंदै भने, ‘निजी सहित सबै स्वास्थ्य संस्थाबाट बीमाको सेवा दिने अवस्था बनाउनुपर्नेछ।’
स्वास्थ्य बीमा कार्यक्रममा भइरहेको चुहावट रोक्दै सेवालाई प्रभावकारी र भुक्तानी रकम समयमै पाउने व्यवस्था कसरी बनाउने, संरचनागत सुधार के कसरी गर्ने ? भन्ने बारेमा आफूले गृहकार्य गरेको उनले जानकारी दिए।
प्रतिनिधि सभाको निर्वाचनपछि बीमाको जोखिम बहन बढाउँदै बीमितले जति खर्च लागेपनि सबै उपचार गर्ने व्यवस्था मिलाउन सकिने उनको दाबी छ। बीमालाई सुधार गरेर सेवा प्रभावकारी बनाउन सके कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपर्ने उनले बताए।
थापा स्वास्थमन्त्री हुँदा नेपालमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको हो।












