काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनावश्यक रेफर गरेको पाइएमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थासँग सम्झौता रद्द गर्ने चेतावनी दिएको छ।
बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘अनावश्यक रेफर (प्रेषण) गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची ८ को ४ (ग)बमोजिम सम्झौता स्थगन वा रद्द हुनेछ’, परिपत्रमा भनिएको छ, ‘त्यस्ता स्वास्थ्य संस्थाको दाबी मूल्यांकन तथा रुजु गर्दा त्यस्तो रकम सोधभर्ना गरिने छैन।’
बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक संस्थाले आफ्नो संस्थामा सेवा पर्याप्त हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बीमा ऐन, नियमावली र प्रेषण कार्यविधिविपरीत अनावश्यक रुपमा रिफर गरेको पाइएकोले आफ्नो संस्थामा भइरहेको सेवालाई नजरअन्दाज गरी रिफर नगर्न परिपत्रमा निर्देशन दिइएको छ।
‘सेवा उपलब्ध गराउन नसक्ने भएमा नियमावलीको अनुसूची ९ बमोजिम रिफर पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न अनुरोध छ’, परिपत्रमा भनिएको छ।












