काठमाडौं । ग्राहकको अर्बौं रकम ठगीमा जापानमा रहेको प्रुडेन्सियल लाइफ इन्स्यारेन्स कम्पनीकै १०० जनाभन्दा बढी पूर्व र वर्तमान कर्मचारी संलग्न रहेको खुलासा भएको छ। उनीहरुले कुल लगभग ५०० ग्राहकको ३ अर्ब १० करोड जापनिज येन अर्थात लगभग २ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ ठगी गरेको कम्पनीले खुलासा गरेको हो।
अमेरिकी बीमा कम्पनीको यो जापानी सहायक कम्पनी हो। कम्पनीले यस ठगी घटनाहरुको जिम्मेवारी लिन अर्को महिना आफ्नो सीईओ पद छोड्ने घोषणा गरेको छ।
जुन २०२४ मा कम्पनीका एक पूर्वकर्मचारीलाई कथित ठगी गतिविधिहरुका लागि पक्राउ गरिएको थियो। पक्राउपछि झुटा लगानीका लागि अनुरोधसहित गलत कामका अन्य घटना देखा पर्यो। जसले कम्पनीलाई त्यस वर्षको अगस्टमा थप आन्तरिक अनुसन्धान सुरु गर्न प्रेरित गर्यो।
गत वर्ष ग्राहकहरुको व्यक्तिगत जानकारी चुहावट गरेको आशंकामा अर्का पूर्वकर्मचारीलाई पक्राउ गरिएपछि जापानको वित्तीय सेवा एजेन्सीले कम्पनीलाई पूर्वकर्मचारीहरुसँग सम्बन्धित ठगीको पुनरावृत्ति रोक्नका लागि उपायहरुसहितको प्रतिवेदन पेस आदेश दिएको थियो।
अनुसन्धानका क्रममा कम्पनीले पुष्टि गर्यो कि तीन पूर्वकर्मचारी काम गर्दा प्रुडेन्सियल लाइफको प्रणाली र बीमा व्यवसायसँग सम्बन्धित रकम हिनामिनामा संलग्न थिए। उनीहरुले ८ ग्राहकलाई बीमा रकम व्यावसायिक लेनदेनको हिस्सा हो भनेर भ्रममा पारेर लगभग ६० लाख येन अर्थात लगभग ५५ लाख २६ हजार रुपैयाँ ठगी गरे। यसमा केही ठगी २०१७ देखिका हुन्।
कम्पनीले यो पनि पत्ता लगायो कि यसका वर्तमान र पूर्वकर्मचारीमध्ये १०६ जना यसको बीमा व्यवसायसँग सम्बन्धित अन्य ठगी गतिविधिमा संलग्न थिए। यसमा कम्पनीको बीमा व्यवसायसँग सम्बन्धित लगानी उत्पादनहरु माग्ने वा ग्राहकबाट व्यक्तिगत ऋण प्राप्त गर्ने समावेश थियो। यी कार्यको परिणामस्वरुप ४९८ ग्राहकको कुल लगभग ३ अर्ब येन ठगी भएको पाइएको छ।
फर्मले प्रभावित ग्राहकहरुलाई क्षतिपूर्ति दिन काम गरिरहेको र मुद्दाहरुमा प्रहरीसँग सहकार्य गरिरहेको जनाएको छ। प्रुडेन्सियल लाइफले भन्यो, ‘कर्मचारीहरुले ग्राहकहरुसँगको आफ्नो घनिष्ठ सम्बन्धको फाइदा उठाएका घटनाहरु व्यवस्थापनको उचित निरीक्षणको अभावका कारण हुन सक्छन्। जसले त्यस्ता गतिविधिलाई चिह्न लगाउन असफल भएको थियो।’
यसबाहेक कम्पनीका अनुसार उच्च प्रदर्शनसँग सम्बन्धित क्षतिपूर्ति प्रणालीले वित्तीय लाभमा केन्द्रित वातावरण सिर्जना गर्न सक्छ र यसको बिक्री कर्मचारीमा आय अस्थिरता सिर्जना गरेर गलत कार्यको जोखिम बढाउन सक्छ।
प्रुडेन्सियल लाइफका सीईओ र अध्यक्ष कान मबारा यी घटनाको जिम्मेवारी लिन फेब्रुअरी १ मा पद त्याग्नेछन्। उनको स्थानमा प्रुडेन्सियल लाइफको समूह कम्पनी प्रुडेन्सियल जिब्राल्टर फाइनान्सियल लाइफ इन्स्योरेन्सका वर्तमान अध्यक्ष र सीईओ हिरोमित्सु तोकुमारुले काम गर्नेछन्। –एजेन्सी












