काठमाडौं । अन्तर्राष्ट्रिय बीमा सुपरिवेक्षकहरूको संघ (IAIS) ले जीवन बीमा क्षेत्रमा देखा परेका नयाँ संरचनात्मक परिवर्तनहरू र त्यसले निम्त्याउन सक्ने जोखिमहरूका बारेमा एक महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ।
विश्वभरका बीमा नियामकहरूका लागि तयार पारिएको प्रतिवेदनले विशेषगरी बीमा कम्पनीहरूले गर्ने वैकल्पिक लगानी र सीमापार पुनर्बीमाका अभ्यासहरूमाथि कडा निगरानी राख्नुपर्नेमा जोड दिएको छ। प्रतिवेदनका मुख्य बुँदाहरूः
१) वैकल्पिक सम्पत्तिमा लगानीको नयाँ चुनौती
अहिले विश्वभरका जीवन बीमा कम्पनीहरूले परम्परागत सरकारी ऋणपत्र वा शेयर बजारभन्दा बाहिर गएर वैकल्पिक सम्पत्ति जस्तै निजी इक्विटी (Private Equity), घरजग्गा, पूर्वाधार आयोजना र निजी ऋणमा लगानी बढाउन थालेका छन्। संघले यस्ता लगानीलाई तीनवटा आधारमा जोखिमपूर्ण मानेको छ।
यस्ता सम्पत्तिको बजार मूल्य तत्काल निर्धारण गर्न कठिन हुन्छ, संकटको समयमा यस्ता लगानीलाई तुरुन्तै नगदमा परिणत गर्न सकिँदैन र जटिलताः यस्ता लगानीका शर्त र संरचनाहरू सामान्य लगानीभन्दा निकै जटिल हुन्छन्।
२) सम्पत्ति भारित (एसेट इन्टेन्सिभ) पुनर्बीमाको बढ्दो प्रयोगः
जीवन बीमा कम्पनीहरूले आफ्नो दायीत्व र पूँजीको भार कम गर्न एसेट इन्टेन्सिभ पुनर्बीमाको निर्भरता बढाउने क्रम बढेको छ। यसमा विशेषगरी पेन्सन र एन्युइटी जस्ता ठूला दायीत्वहरूलाई विदेशी पुनर्बीमा कम्पनीहरूमा सार्ने गरिन्छ।
यसले निम्त्याउन सक्ने मुख्य जोखिमहरूः
पुनर्बीमा कम्पनी टाट पल्टेमाः यदि विदेशी पुनर्बीमा कम्पनी असफल भएमा, त्यो सबै दायीत्व फेरि मूल बीमा कम्पनीमै फर्किन्छ। जसले कम्पनीलाई डुबाउन सक्छ।
नियामक छिद्रः फरक फरक देशका कानुनको फाइदा उठाउँदै पूँजी पर्याप्तताको नियम छल्ने जोखिम रहन्छ।
३) वित्तीय स्थिरतामा प्रभावः
संघका अनुसार अहिले नै विश्वव्यापी रूपमा ठूलो वित्तीय संकट आउने देखिँदैन, तर निश्चित बीमा कम्पनीहरूमा केन्द्रित भएको जोखिमले बजारमा हलचल ल्याउन सक्छ। हाम्रो मुख्य उद्देश्य बीमा कम्पनीहरूले कुनै पनि आर्थिक झट्का सहन सकुन् भन्ने सुनिश्चित गर्नु हो संघका महासचिव जोनाथन डिक्सनले भन्नुभयो।
नेपाली बीमा क्षेत्रका लागि यसको अर्थः
नेपालको बीमा क्षेत्र पनि विस्तारै आधुनिकीकरणतर्फ गइरहेको छ। यद्यपि नेपालमा अहिले नै यस्ता जटिल अन्तर्राष्ट्रिय पुनर्बीमा र निजी इक्विटीमा ठूलो लगानी भइसकेको छैन, तर नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिकामा गर्ने परिवर्तनहरूमा यी विश्वव्यापी अभ्यासहरूले प्रभाव पार्न सक्छन्।
संघको अबको कदमः
बीमा कम्पनीहरूको लगानीको तथ्याङ्कलाई अझ सुक्ष्म रूपमा निगरानी गर्ने, विभिन्न देशका नियामकहरूबीच सूचना आदान प्रदानलाई तीब्र बनाउने र जटिल पुनर्बीमा सम्झौताहरूको लागि नयाँ निर्देशिका जारी गर्ने काम अब संघले गर्नेछ।
यो प्रतिवेदनले बीमा कम्पनीहरूले बढी नाफा कमाउने लोभमा जटिल लगानी र पुनर्बीमा संयन्त्र अपनाउँदा बीमितको सुरक्षामा कुनै सम्झौता हुनुहुँदैन भन्ने विषयमा प्राथमिकता सहित जोड दिएको छ।












