काठमाडौं । बीमामा परम सदविश्वासको सिद्धान्त बीमाका अन्य सबै सिद्धान्तभन्दा महत्वपूर्ण मानिन्छ। यो सिद्धान्तको मुख्य आशय के हो भने बीमाका पक्षहरू बीमित र बीमकको तर्फबाट बीमासँग सम्बन्धित कुनै पनि महत्वपूर्ण जानकारी वा सूचना वा तथ्य प्रमाणको इमान्दारितापूर्वक एक अर्का समक्ष खुलासा गर्ने । ढाँट वा छलछामको प्रयास नगर्ने ।
बीमितले बीमालेख प्रस्तावमा गर्ने उद्घोष र स्वास्थ्य परिक्षण प्रतिवेदनका आधारमा बीमा कम्पनीले जोखिम निर्धारण गर्छ, जोखिमको मूल्य पैसामा निर्धारण गरेर बीमाशुल्क तोक्छ। र यही बीमाशुल्कवापत बीमितको तर्फबाट जोखिम आफूले बोक्छ। बीमा गरिएको विषय वस्तुमा केही क्षति भइ हाले बीमाको शर्त बमोजिम क्षतिपूर्ती वा दाबी भुक्तानी गर्छ।
परम सदविश्वासको सिद्धान्तको कुनै एउटा पक्षबाट मात्रै उलंघन भयो भने बीमा करार बदर योग्य हुन्छ, कानूनीरूपमा खारेज योग्य हुन्छ।
यी त भए बीमाको सर्वमान्य सिद्धान्तको विषय । अब चर्चा गराैं, बीमितले बीमा प्रस्ताव फारममा रोगको उपचार भइरहेको विषयमा उल्लेख नगरेको, बीमा कम्पनीले त्यही रोगका कारण मृत्यु भएको जिकीर गर्दै दाबी अस्वीकृत गरेको र अन्ततः अस्पतालले जारी गरेको मृत्यु घोषणा पत्रमा मृत्यु कारणमा त्यो रोगबारे कुनै उल्लेख नगरेको आधारमा नेपाल बीमा प्राधिकरण(साबिक बीमा समिति)ले बीमितको पक्षमा गरिदिएको फैसलाको ।
घटना २०७७ साल माघ १० गते बिहान अन्दाजी ३ बजेको हो । त्यो दिन सबेरै बीमित शैलेन्द्र महर्जन नाजार्जुन नपाको भीमढुङ्गास्थित आफ्नै निवासको शाैचालयमा लडेर बेहोस भएको अवस्थामा भेटिन्छन् । उनलाइ तत्कालै उद्धार गरेर स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्याउँदा चिकित्सकले नाडी छाम्दै उनको निधन भइसकेको पुष्टी गर्छ र आवश्यक जाँच गरेर मृत घोषित गरिदिन्छन् ।
छोराले नेपाल लाइफमा २०७६ भदाै ४ गते रू. ५ लाख २० हजार बीमाङ्कको सुरक्षित जीवन बीमा गरेको थाहा पाएकी सबिनाले दाबी भुक्तानीका लागि नेपाल लाइफमा निवेदन दिन्छिन् । केही महिनासम्म काठमाडाैंका अस्पतालहरूको ढड्डा पल्टाइवरी सकेपछि नेपाल लाइफले २०७८ साल भदाै ३ गते सबिनालाइ, परम सदविश्वासको सिद्धान्त विपरित बीमितले Seizure Disorder (छारे रोग) लुकाएकाले बीमकको कुनैपनि दायित्व छैन, दाबी पाइन्न भन्ने आशयको पत्र दिन्छ। बीमा कम्पनीबाट यस्तो जवाफ पाएपछि बिलखबन्दमा परेकी उनी १५ दिन नबित्दै भदाै १८ गते प्राधिकरणमा उजुरी दर्ता गराउन पुग्छिन् ।
नेपाल लाइफको जिकीरः
दाबी भुक्तानी किन नदिएको भन्ने बीमा समितिको प्रश्नमा नेपाल लाइफले, बीमितले बीमा गर्नु अघि २०७१ मंसिर १६ देखि नै Seizure Disorder (छारे रोग) लगायतका रोगको उपचार गराईरहेको देखिएकाले परम सदविश्वासको सिद्धान्त विपरित उद्घोष गरी बीमा गराएकाले बीमकको कुनै पनि दायित्व निर्धारण गरी भुक्तानी गर्न बाध्य नहुने भन्ने व्यहोराको लिखित जवाफ २०७८ असोज १ गते पेश गर्छ।
प्राधिकरणको ठहरः
बीमा गर्नु अघि बीमितको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ओम हस्पिटल, काठमाडौंमा छारे रोगको उपचार गराएको देखिन आउँछ। निजको मृत्यु अघि आकस्मिक उपचार भएको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल काठमाडौको मिति २०७७ माघ २६ गतेको पत्रमा होश गुमाएपछि अस्पताल पुर्याइएका बिरामी अचेत अवस्थामा र नाडीको धड्कन बन्द भएको अवस्थामा ल्याइएकोमा निजलाई मृत अवस्थामा ल्याइएको उद्घोष गरिएको” भनी उल्लेख भएको सम्म देखिन्छ। तर अस्पतालको कागजमा निज बीमितको मृत्युको कारण छारे रोग नै भएको भनी उल्लेख भई प्रमाणित भएको देखिएन ।
बीमाको परम सद्विश्वासको सिद्धान्त अनुसार बीमितले बीमा गर्दा उद्घोष गर्नुपर्ने अति आवश्यक विवरण लुकाई छिपाई बीमा गराएको र त्यसकै कारण क्षति हुन गएमा उक्त सिद्धान्तको प्रतिकूल कार्य भएको आधारमा बीमकले दाबी इन्कार गर्न सक्ने हुन्छ। प्रस्तुत दाबीमा बीमितले आफूलाई बीमा गर्दा भएको छारे रोग उद्घोष नगरी बीमा गराएकोसम्म देखिएपनि निजको मृत्यु सित उक्त रोगको सम्बन्ध रहेको भनी ठोस रूपमा प्रमाणित नहुने अवस्थामा बीमकको जिकिर बमोजिम बीमाको परम सदविश्वासको सिद्धान्त आकर्षित हुने अवस्था विद्यमान रहेको देखिएन ।
२०७९ साल भदाै २९ बीमा समितिले उजुरीको फैसला गर्दै, बीमितको आमा सबिना महर्जनको माग बमोजिम मृत्यु दाबी रकम भुक्तानी दिनु भन्दै नेपाल लाइफलाई प्राधिकरणले आदेश जारी गर्यो।
प्राधिकरणले लिएको आधारः
- मृत्यु घोषणा पत्रमा मृत्यु कारण छारे रोग उल्लेख नभएको
- जुन तथ्य लुकाएको भनिएको हो सोही कारणले बीमितको मृत्यु भएको पुष्टी हुने प्रमाण नभएको
यो मुद्दामा के पाइन्छ भने, बीमितको तर्फबाट परम सदविश्वासको सिद्धान्त विपरित छलछाम भयो भन्ने बीमकको जिकीर त्यतिबेलासम्म मान्य हुँदैन जबसम्म बीमितले लुकाएको रोगकै कारण निजको मृत्यु भएको पुष्टी गर्ने कुनै आधिकारिक कागज प्रमाणबाट पुष्टी हुँदैन।

















