- प्रेम वली
देशको समग्र आर्थिक अवस्था हाल निकै सुस्त बनेको छ। कुनै पनि क्षेत्र पूर्ण रुपमा आशावादी देखिँदैन भने लगभग सबै क्षेत्रमा निराशाको वातावरण व्यापक छ। राजनीतिक अस्थिरता, दीर्घकालीन आर्थिक दृष्टिकोणको अभाव, उद्यम तथा रोजगारी सिर्जनामा गिरावट तथा पुँजीको निष्क्रियता, यी सबै कारकहरुले देशको अर्थतन्त्रलाई मन्द गतिमा धकेलिरहेका छन्।
आज बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रँदै गएको छ तर सस्तो ब्याजदरमा समेत ऋण लिन इच्छुक कोही छैन। यो वास्तविकता एक गम्भीर संकेत हो ‘जनता लगानीको भविष्य देखिन नचाहेको अवस्था’। हुन त नयाँ व्यवसाय सुरु गर्नुभन्दा विदेश पलायन सुरक्षित देख्ने मानसिकता पनि बढ्दो छ। अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने जनप्रवाहले नै यसको पुष्टि गर्दछ।
मन्दीको प्रमुख कारणः जग्गा–व्यापारमा असन्तुलित ऋण विस्तार
गत केही वर्षमा जग्गा कारोबारको नाममा बैंक तथा सहकारीहरुले अत्यधिक ऋण विस्तार गरे। धेरै ऋणीहरुले ठूल्ठूला कित्ता उठाए तर अपेक्षित रुपमा जग्गाको मूल्य वृद्धि हुन सकेन। परिणामस्वरुप ऋण तिर्न नसक्ने अवस्था सिर्जना भयो।
सहकारीहरुले उठाएका विशाल जग्गा कित्ताहरु बेच्न नसक्दा समस्या थप चर्कियो। कतिपय बैंकले अत्यधिक मूल्यांकनका आधारमा ऋण दिएका घटनाहरुले पनि जोखिम बढायो। बैंकहरुले ऋण सुकाउनेक्रममा जग्गा साकबन्दी गर्न त सफल भए तर बजारमै मूल्यावधि नहुँदा ती सम्पत्ति पुनः बेच्न नसक्दा पुँजी थुनिएको छ।
देशको ठूलो पुँजी स्थिर सम्पत्तिमा अड्किनु नै आजको अर्थतन्त्र कमजोर हुनुको मुख्य कारण हो। बैंकहरुको लगानी निष्क्रियताले आगामी आर्थिक संकटको जोखिम बढाइरहेको छ। त्यसैले यस विषयमा राष्ट्र बैंक र सरकारले ठोस र दीर्घकालीन नीतिगत सुधार ल्याउन जरुरी छ।
शेयर बजारः दीर्घकालीन पुँजी परिचालनको प्रभावकारी माध्यम
यद्यपि कतिपयलाई शेयर बजार जुवा वा जोखिमयुक्त खेलझैँ लाग्न सक्छ। तर, तथ्य यो हो कि शेयर बजार सुव्यवस्थित पुँजी परिचालनका लागि कुनै पनि देशको मेरुदण्ड मानिन्छ।
ठूला आयोजना, हाइड्रोपावर, वित्तीय संस्था, उत्पादनमूलक उद्योग सबैलाई दीर्घकालीन लगानी आवश्यक पर्छ। जुन बैंकिङ प्रणालीले मात्र पुरा गर्न सक्दैन। यही आवश्यकता शेयर बजारले पूरा गर्छ।
संस्थापक शेयर, साधारण शेयर, हकप्रद र एफपीओमार्फत कम्पनीहरुले आवश्यक पुँजी उठाउन पाउँछन्।
यदि शेयर बजार नै नहुने हो भने कम्पनीहरुले ठूलो लगानी कसरी जुटाउने ? देशमा उत्पादन, रोजगारी र उद्यम कसरी बढ्ने?
त्यसैले सरकारले शेयर बजारलाई जुवा भनेर हेला गर्ने मात्र नभएर विकसित अर्थतन्त्रको ढाँचामा लैजाने गम्भीर सोच र नीति आवश्यक छ।
शेयर बजारः सबै वर्ग तथा पुस्ताको सहभागिता भएको विशाल वित्तीय प्लेटफर्म
शेयर बजारको अर्को विशेषता यसको समावेशिता हो। यहाँ गृहिणीदेखि अवकाशप्राप्त नागरिकसम्म, युवादेखि हजुरबाआमासम्म, हजार रुपैयाँ लगानी गर्नेबाट लिएर करोड–अर्ब लगानीकर्तासम्म सबैको सक्रिय सहभागिता छ।
हालको तथ्यांकअनुसार देशभर झण्डै ७२ लाख निवेशक यस बजारसँग जोडिएका छन्। यही संख्या शेयर बजारको राष्ट्रिय महत्व प्रमाणित गर्न पर्याप्त छ। जब बजार चलायमान हुन्छ तब ठूलो जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित हुन्छ।
लगानीकर्ताले कमाएको रकम व्यापार विस्तार, उपभोग खर्च, शिक्षा–स्वास्थ्य र घुमफिर तथा अन्य सेवा क्षेत्रमा खर्च गर्ने हुँदा समग्र अर्थतन्त्रमा सकारात्मक तरंग फैलिन्छ।
अर्थतन्त्र चलायमान गर्न सरकारलाई धेरै स्रोत चाहिन्न। शेयर बजारलाई एकपटक सकारात्मक मार्गदर्शन मात्र पर्याप्त छ।
सरकार र नियमनकारी निकायले के गर्नुपर्छ ?
देशको आर्थिक सुधारमा शेयर बजार महत्वपूर्ण उपकरण बन्न सक्छ। तर, यसका लागि केही कदम अनिवार्य छन्।
नीतिगत स्पष्टताः शेयर बजारसम्बन्धी नियम–कानुन टुकुटुकमा बदलिँदा अनिश्चितता बढ्छ। सबैका लागि स्थिर, स्पष्ट, दूरदर्शी नीति बनाइनु अत्यन्त जरुरी छ।
लगानीकर्तामैत्री कर प्रणालीः पुँजीगत लाभकर, डिम्याट शुल्क, हस्तान्तरण शुल्क आदि कर प्रणाली सरल, न्यायोचित र प्रोत्साहनमूलक बनाउनुपर्छ।
बजार सञ्चालनमा पारदर्शिताः सूचना प्रणाली, निगरानी, अनुगमन, आइपीओ प्रक्रिया, मूल्य संवेदनशील सूचना (एमपीएस)को कडा कार्यान्वयनले बजारमा विश्वास बढाउँछ।
दीर्घकालीन संस्थागत लगानीकर्ता प्रोत्साहनः पेन्सन फन्ड, बीमा कम्पनी, प्राविधिक कोषहरुलाई बजारमा प्रवेश गर्न सहज वातावरण बनाइनु जरुरी छ।
आर्थिक स्थिरता र राजनीतिक स्पष्ट सन्देशः राजनीतिक अनिश्चितता लगानीको सबैभन्दा ठूलो दुश्मन हो। सरकारको स्पष्ट आर्थिक रोडम्याप र लगानी सुरक्षासम्बन्धी प्रतिबद्धताले बजारलाई ठोस सन्देश दिन सक्छ।
निष्कर्ष
देशको आर्थिक सुस्ती, रोजगार अभाव, उत्पादनमा गिरावट र पुँजीको निष्क्रियताजस्ता समस्याहरुको समाधानको दिशामा शेयर बजार एक शक्तिशाली विकल्प बन्न सक्छ। ७२ लाख लगानीकर्ताको भरोसा, संस्थागत लगानीको सम्भावना, व्यवसाय र उद्योगहरुलाई दीर्घकालीन पुँजी उपलब्ध गराउने क्षमताजस्ता तत्वहरुले शेयर बजारलाई अहिलेको परिस्थितिमा अत्यन्त महत्वपूर्ण बनाएका छन्।
अब सरकार, राष्ट्र बैंक, सेबोन र सम्बन्धित निकायको समन्वित प्रयास आवश्यक छ । एकपटक शेयर बजार सही दिशामा अघि बढ्यो भने अर्थतन्त्रको चलायमान पुनस्र्थापित गर्न यसले निर्णायक भूमिका खेल्नेछ।
(लेखक वली शेयर बजारमा लामो समयदेखि सक्रिय छन्।)

















