काठमाडौं । विश्वमा कानुनी प्रणाली (एलएसए)को दुरुपयोगले दायित्व बीमालाई उल्लेखनीय रुपमा असर गरेको पत्ता लागेको छ।
बीमा मुद्दाहरुमा डाटा र विश्लेषण प्रदान गर्ने संस्था बीमा सूचना संस्थान (ट्रिपल–आई) र सम्पत्ति र दुर्घटना बीमामा विशेषज्ञता हासिल गर्ने एक्चुअरीहरुको व्यावसायिक समूह क्याजुअल्टी एक्चुरियल सोसाइटी (सीएएस)ले गरेको नयाँ अध्ययनले यस्तो पत्ता लागेको हो। अध्ययनले यी कारकहरुले विगत दशकमा दायित्व बीमा घाटा २३१.६ अर्ब डलर र २८१.२ अर्ब डलरबीच पुर्याएको देखाएको छ। जुन मानक आर्थिक मुद्रास्फीतिले व्याख्या गर्न सकिनेभन्दा धेरै बढी हो।
‘दायित्व बीमामा मुद्रास्फीतिको प्रभावः २०१५–२०२४’ नामक अध्ययनले ठूला जुरी पुरस्कारहरु, मुद्दा वित्तपोषण र परिवर्तनशील कानुनी अभ्यासहरुजस्ता कारकले व्यक्तिगत अटो, व्यावसायिक अटो, अन्य दायित्व घटना र उत्पादन दायित्व घटना बीमा लाइनहरुमा दाबी लागत र रक्षा खर्चमा उल्लेखनीय वृद्धि गरेको छ भन्ने कुरा उजागर गरेको छ।
‘यो विश्लेषणले दायित्व बीमा दाबी घाटामा उल्लेखनीय वृद्धि सामान्य आर्थिक मुद्रास्फीतिभन्दा धेरै बढी भएको देखाउँछ’, ट्रिपल–१ का सीईओ सीन केभेलिघनले भने, ‘अत्याधिक फैसला र मुद्दा–मामिलामार्फत प्रकट हुने कानुनी प्रणालीको दुरुपयोगले दाबी लागतमा संरचनात्मक वृद्धि गरेको छ। जसले गर्दा बीमा कम्पनी र बीमित दुवैको लागतमा निरन्तर वृद्धि भएको छ।’
प्रतिवेदनअनुसार यी घाटाको सबैभन्दा ठूलो हिस्सा दाबीको संख्यामा वृद्धिको सट्टाप्रति दाबी लागत बढ्दै गएको कारणले हो।

















