काठमाडौं । डाक्टर गोविन्द केसीले दिएको चेतावनीका बावजुद, चिकित्सा शिक्षा आयोगको २१औं बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न विषयमा विद्यार्थी भर्नाका लागि संख्या बढाउने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्नातक तहमा थप १ हजार ३ सय ५९ विद्यार्थी भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको हो।
मेडिकल शिक्षामा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले गुणस्तरिय मेडिकल शिक्षाका लागि पूर्वाधार, जनशक्ति लगायतका कारणले तत्काल विद्यार्थी भर्ना कोटा थप्न नहुने भन्दै अडान राख्दै आएका छन् । उनले सरकारलाइ दबाब दिन आमरण अनशन समेत बस्दै आएका छन् ।
बैठकले सबैभन्दा धेरै एमबीबीएसमा विद्यार्थी भर्ना संख्या थप्ने निर्णय गरेको छ। आयोगले एमबीबीएस( मेडिकल स्नातक तह) मा थप ४९५ विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । अब देशभरका शिक्षण अस्पतालहरूमा एमबीबीएस तहमा विद्यार्थी भर्ना संख्या २ हजार ६ सय ३५ पुग्नेछ। यसअघि एमबीबीएस तहका लागि २ हजार १ सय ४० सिट थियो। बैठकले ब्याचलर इन डेण्टल सर्जन बिडिएसका लागि ५० संख्या थप्ने निर्णय गरेको छ।
शिक्षण अस्पतालमा कार्यरत अावासीय चिकित्सकहरूले तलब वृद्धि र न्यूनत्तम तलब तथा बिदा लगायतको सेवा सुविधा माग गर्दै हड्ताल सहितको आन्दोलन गरेपछि मेडिकल कलेजका सञ्चालकले सरकारले भर्ना संख्या बढाउनुपर्ने शर्त अघि सारेका थिए।
प्रधानमन्त्री केपी अोलीले चिकित्सा शिक्षा आयोगमार्फत भर्ना कोटा थप्ने आश्वासन दिएपछि मात्र निजी क्षेत्रको मेडिकल कलेज सञ्चालकहरू आवासीय चिकित्सकले अघि सारेको माग पुरा गर्न सहमत भएका थिए ।
यसैगरी नर्सिङ तर्फ बिएस्सी नर्सिङमा ४४० र बिएनएसमा १२२ विद्यार्थी संख्या थपेको छ।यसअघि बिएस्सी नर्सिङमा १ हजार ९ सय ९० सिट रहेकोमा अब उक्त संख्या बढेर २ हजार ४ सय ३० पुगेको छ। आयोगले, बिपिएचमा ६२,बिएएमएसमा १०, बिएसस्सी रेडियो थेरापीमा ५, बीएस्सी र बीएनएससहित ५६२ सिट थप्ने निर्णय गरेको छ।
यसैगरी आयोगले बीएमएस तर्फको विद्यार्थी भर्ना संख्या भने ३५ ले घटाएर ६५ सिट मात्र कायम गरेको छ।

















