भर्खरै मात्र बडा दशैं सकिएको छ। हिन्दू परिवारमा अर्को प्रमुख पर्व तिहार भित्र्याउने चट्टारो छ। बडा दशैंमा मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा, आशिष लिने परम्परा छ। यसै परम्परासँगै आफूभन्दा सानाले केही मीठो मसिनो किनेर खाउन् भन्ने उद्देश्यले ठूलाबडाले आशिषसँगै दक्षिणास्वरुप केही नगद दिने प्रचलन पनि बढ्दै गएको छ।
मध्यम वर्गिय घरपरिवारमा आधुनिक जीवनशैलीका कारण सदस्य संख्या सीमित हुँदै जाँदा दक्षिणास्वरूप दिइने रकम बढ्दै गएको देख्न पाइन्छ। दशैं चाड ठूला बडा प्रति सम्मान् र सानाप्रति माया दर्शाउने सुअवसर हो । यो सँगै बालबालिकालाई वित्तीय व्यवस्थापन सिकाउने यो एउटा उपयुक्त समय पनि हो । चाडपर्वमा बालबालिकाले सानोदेखि ठूलो र पैसा देखि रुपैयाँसम्म देख्न पाउँछन् । यो अवसरलाई उनीहरुमा नगदलाई राम्ररी पहिचान गर्न र पैसाको महत्व सिकाउनका लागी उपयोग गर्न सकिन्छ।
साना नानीहरुले पाएको दक्षिणावापतको रकम उनीहरुलाई नै गणना गर्न लगाएर कूल रकमको योगफल निकाल्न लगाउनु प्रभावकारी हुन्छ। यो बाहेक हामीले बैंक भाैचरमा प्रत्येक नोटको रकम र संख्या गणना गरेर उल्लेख गरे झैं कापीमा उनीहरूलाई पनि लेख्न लगाउँदा जोड र गुणन दुबैलाई व्यवहारिकरुपमा पनि सिक्न सहज हुन्छ। उनीहरुले कपि किताबमा पढेको हिसाबकिताबबारे उनीहरुलाई व्यवहारमा पनि ज्ञान हुन्छ। यो बाहेक भविष्यमा कागजी बैंक भाैचरमा विवरण भर्दा समेत बाल्यकालमा सिकेका कुरा प्रयोगमा ल्याउन सक्छन् ।
यो बाहेक थोरै होस् वा धेरै रकम दक्षिणा संकलन भए पनि बालबालिकालाई बैंक बचत खाता खोलिदिएर पनि वित्तीय साक्षरताको बिउ रोप्न सकिन्छ। ५-७ वर्षको उमेर पुरा भएका बालबालिकालाई अभिभावकले आफूसँगै बैंकमा लगि दिएर बैंक खाता के हो, कसरी खोल्न सकिन्छ भन्ने सबिस्तार जानकारी दिएर उनीहरूको नाममा बचत खाता खोलि दिएको अवस्थामा वित्तीय साक्षरता दिलाउन उपयोगी हुनसक्छ।
दक्षिणावापतको सबै रकम बैंक बचतमा राख्नुको साटो केही रकम पकेट खर्च, केही रकमको किनमेल र केही रकम बचत गर्न लगाएर व्यवहारिकरुपमा अभिभावकहरुले बालबालिकालाई बजेट बनाउने र व्यवस्थापन गर्ने बारे पनि सहज र सरल तरिकाले अवगत गराउन सक्छन्।
हाम्रो विद्यालय स्तरको शिक्षा प्रणाली व्यवहारिक ज्ञान दिलाउनेभन्दा पनि घोकन्ते विद्या सिकाउने खाले छ। यस्तो अवस्थामा भविष्यको कर्णधार बालबालिकालाई अभिभावकले नै व्यवहारिक जीवनमा सक्षम बनाउनका लागी आफैंले व्यवहारिक ज्ञान दिलाउनु वा सिकाउनुको विकल्प हुँदैन । चाडपर्वको समयमा बालबालिका पढाईलेखाईको धपेडीपूर्ण दैनिकीबाट उन्मुक्त भएका हुन्छन् । यस्तो बेला घरपरिवारसँगको लामो समयको बसाई र अन्तरंग अन्तरकृयाले नयाँ कुरा सिक्न उनीहरूको ध्यान केन्द्रित हुन्छ।
सधैंभरि कोठा वा घरआँगनभित्रै सीमित हुने बालबालिकालाई अभिभावकले बिदाको सदुपयोग गर्दै लागी आफूसँगै अघि पछि पैदलै हिंड्न लगाएर वरपरको वातावरण, जनजीवन, धर्म संस्कृतीसँग परिचित बनाउनु उपयुक्त हुन्छ। सकिन्छ भने शहरी क्षेत्रमा जन्मिए हुर्किएका बालबालिकालाई नजिकको गाउँले परिवेशमा दुई चार दिनका लागी भएपनि घुलमिलको अवसर प्रदान गर्नुपर्छ। यसले उनीहरुमा शहरी जीवनभन्दा भिन्न गाउँले जीवन र गाउँले जीवनको अर्थोपार्जन र जीवनशैलीबारे सामान्य भएपनि व्यवहारिकरुपमा ज्ञान लिने अवसर मिल्नेछ। किसानले कसरी खेती गर्छ, धानबाली भित्र्याउँछ, भण्डारण गर्छ र साहू महाजनलाई बिक्री गर्छन् भन्ने बारेमा जानकारी दिलाउँदा उनीहरुलाई उत्पादन र बिक्री चक्रबारे व्यवहारिक जीवनको अवस्थाबारे परिचित हुने अवसर मिल्छ। यो अवसर पनि प्रत्यक्ष अप्रत्यक्षरुपमा वित्तीय साक्षरतासँग जोडिएको हुन्छ।