काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले पदभार ग्रहण लगत्तै सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । गिरीले सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य बीमाको कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै यस विषयमा आफुले गम्भिरताका साथ हेर्ने बताएका छन् ।
स्वास्थ्य बीमामा सहभागी भइसकेका नागरिकको नविकरण नहुने, संख्या घट्दै जाने अनेकौ किसिमका समस्याहरु देखिएको उनले बताए । यसको प्रमुख कारण के हो, यसका अप्ठ्यारो र समस्या कहाँनेर परेको हो त्यतातर्फ गम्भिरताका साथ हेरिने र यसलाई अझै फराकिलो बनाएर लैजाने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । सबै नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने उनको अठोट छ । उनले पदभार ग्रहण पश्चात अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै नवनियुक्त स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी छिन् ।