काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५ करोड ३० लाख रुपैयाँले नोक्सानमा देखिएको छ । कम्पनीको आक्रामक बजार विस्तार सँगै खर्च र नोक्सान बापतको व्यवस्था गर्नु पर्दा नोक्सानमा देखिएको हो । गएको आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै ४ करोड ७६ लाख रुपैयाँ मुनाफामा देखिएको हिमालयनको यस वर्षमा भने खर्च बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै कम्पनीले एक अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले व्यवसाय शुभारम्भ गरेकै पहिलो त्रैमाशमा ८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस वर्षमा कुल बीमा शुल्क आर्जन भने एक अर्ब १९ करोड छ ।
व्यवसाय विस्तार सँगै दाबी भुक्तानी गर्न नसक्दा कम्पनीले ठुलो रकम प्रोभिजनिङ गर्नु परेको छ । खुद बीमा शुल्कको अधिकाम्स हिस्सा नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका अनुसार असमाप्त जोखिम बापतको व्यवस्था शिर्षक अन्तर्गत छुट्यादा नोक्सान देखिएको हो । प्राधिकरणले असमाप्त जोखिम बापत एक अर्ब २४ करोड रुपैयाँ बराबरको प्रोभिजनिङ गरेको छ ।
त्यस्तै भुक्तानी हुन बाँकी दाबी बापत पनि ३३ करोड ९२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । कम्पनीको वित्तीय विवरणमा यस बापत २९ करोड ४९ लाख रुपैयाँ प्रोभिजनिङ गरिएको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीले २ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ छ । जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ जम्मा भएको छ ।