काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितबाट पनि रकम लिने भएको छ । बीमितबाट १० प्रतिशत शुल्क लिनका लागि कार्यविधि बनाइरहेको बोर्डले जनाएको छ । बीमितले जथाभावी उपचार खर्च गर्ने र बोर्डबाट दाबी भुक्तानी लिने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत शुल्क लिने तयारी गरेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला असपताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा बाहेकका जाँचका ागि सिफारिस गरिएका अस्पतालमा उपचार गर्दा बीमित आफैले १० प्रतिशत उपचार खर्च व्यहोर्नुपर्नेछ । तर लक्षित वर्गका बिरामी जस्तै अति गरिबी, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खालका क्षयरोगी भएका परिवारले भने यो रकम तिर्न नपर्ने बोर्डले जनाएको छ । साथै ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले पनि तिर्न पर्दैन ।