नेपाली बीमा कम्पनीहरुले भोग्दै आएको बीमांकीको समस्या समाधान गर्न बीमा समितिले बीमांकी रोष्टर निर्माण गर्ने भएको छ । समितिले निर्माण गरेको रोष्टरमा सबै बीमांकीहरुलाई सुचीकृत हुन समेत आहवान गरेको छ ।
जीवन बीमा कम्पनीले बीमांकीद्धारा बार्षिक रुपमा वित्तीय विवरण तयार पार्दछन् । त्यसैगरी बीमांकद्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमाकीको भर पर्दै आएका छन् । यद्यपी नयाँ बीमा कम्पनीहरुलाई अनुभवी बीमांकी पाउँने भने कठिन हुदै आएको बीमा समितिका निर्देशक कमल रेग्मीले बताए । उनका अनुसार नयाँ कम्पनीहरुसँग पुराना बीमांकी काम गर्न नचाहने र पुराना बीमांकहरु धेरै शुल्क लिने हुँदा बीमा कम्पनीहरु अप्ठेरोमा परेका हुन् ।
बीमा कम्पनीहरुले बीमालेख बनाउँदा वा बार्षिक वित्तीय विवरण बनाउँदा बीमांकी नियुक्त गर्नुपर्छ । यसरी कम्पनीले बीमांकी नियुक्त गरेपछि बीमा समितिसँग अनुमती लिनुपर्छ । बीमा समितिले पनि आफुले नियुक्त गरेको बीमांकीसँगको सल्लाह पछि मात्रै कम्पनीलाई बीमांकी नियुक्त गर्ने अनुमती प्रदान गर्छ । यो सबै प्रक्रिया झन्झटिलो भएपछि समितिले बीमांकी रोष्टर निर्माण गरेको हो ।
उक्त रोष्टरमा जुन सुकै मुलकमा बीमांकी सुचीकृत हुन पाउँनेछन् । यसको लागी बीमांकी अध्ययन गरी बीमांकी सोसाईटीबाट लाईसेन्स प्राप्त गरेको हुनुपर्नेछ । अन्तराष्ट्रिय बीमांकीले प्रत्यक्ष रुपमा समितिसँग आबद्ध हुन पाउँनेछन् । समितिले छनौट गरेका बीमांकीसँग बीमा कम्पनीहरुले काम गर्न सक्नेछन् ।
बीमा समितिले भारतीय बीमाकी सुभ्रमन्यू कोलीमारलाई बीमांकी नियुक्त गरेको छ । उनी एक बर्ष देखि समितिको बीमांकीको रुपमा काम गर्दै आएका छन् । यस अघि भारतीय एमके गोर्वद्धन समितिको बीमांकी थिए । उनले सन् २००० देखि २०१७ सम्म समितिको बीमांकीको रुपमा काम गरे ।
बीमा समितिले भारतीय बीमाकींलाई मासिक १ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यसैगरी नेपाली जीवन बीमा कम्पनीहरुले बीमालेख निर्माण गरेबापत भारतीय बीमांकीलाई १ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्दै आएका छन् भने वित्तीय विवरण तयार गरे बापत ८ लाख रुपैयाँसम्म भुक्तानी गर्दै आएका छन् ।
नेपालका सबै कम्पनीहरुले भारतीय बीमांकीसँग काम गर्दै आएका छन् भने मेटलाईफ इन्स्योरेन्सले ताईवानको बीमांकी सँग काम गर्दै आएको छ ।