काठमाडौं। राष्ट्रिय बीमा संस्थानको अहिलेको अवस्थालाई पहिलाको अवस्था सँग दाजेर हेर्दा त्यति उत्साहजनक पाउदैनौ। यसमा हामी सबैले कुनै न कुनै रुपमा जिम्मेवारी लिनु पर्छ। कसैको भागमा धेरै पर्ला कसैको भागमा थोरै पर्ला तर हामी सबै जिम्मेवार छौ। एउटा लेखाको भौचर पाउदैन भने कसलाई भन्ने ? व्यवस्थापनलाई जिम्मेवार बनाउने कि कर्मचारीलाई जिम्मेवार बनाउने हो?
यस विषयमा जे जस्तो सुकै कुरा भए पनि यसको लाज छोप्ने कामको सुरु गर्दै छौ। केहि समय अगाडि बीमा संस्थानका अध्यक्ष ज्यू र प्रशासक ज्यू आउनु भएको थियो। उहाँहरुलाई हामीले समस्या मात्रै नथुपार्नुस भनेका छौ। समस्याको विकल्प लिएर आउनुहोस भनेका छौ। सञ्चालक समितिबाट निर्णय गरेर प्रतिवद्धता सहित आउनुहोस् हामी गाठो फुकाउछौ। धेरै छिटो हामी समाधान गर्छौ।
कोरोना बीमा
जल्दो बल्दो रुपमा कोरोना बीमाको कुरा उठिरहेको छ। सरकारलाई पनि समस्यामा पार्यो। बीमा कम्पनीहरु पनि समस्यामा परे। अहिले बीमाको बजारमा बीमा कम्पनीहरु प्रति जनताको विस्वासमा समस्या ल्यायो। यसको समाधानका लागि कामै नभएको होइन। अहिलेसम्म साढे तीन अर्ब रुपैयाँको भुक्तानी भैसकेको छ। म आइसकेपछि पनि समितिले एक अर्ब र नेपाल पुनर्बीमाले एक अर्ब पठाएर भुक्तानीलाई निरन्तरता देउ भनेर निर्देशन गैसकेको छ।
कुनै पनि भुक्तानीका लागि योग्य भएर आइसकेको र छानविनबाट अयोग्य छैन भनेर ठहरिसके पछि त्यसलाई एक मिनेट पनि राख्न हुन्न। हिजोका दिनमा जे गल्ति भयो भयो। त्यसलाई कोट्याउनु भन्दा पनि समाधान तर्फ जानु पर्छ। हामी सबै जना यसमा लाग्नु पर्छ।
हामी नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विस्वास गर्दैनौ। समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी नियमित गर्न सकिन्छ। यसलाई कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौ।
मेरो संस्थान सँग आग्रह छ, अव संस्थानले सरकारका निजामति कर्मचारीबाट आएको बीमाबाट मेरो पोलिसी यति बढि भयो भनेर भन्ने वेला गयो। बजार प्रतिस्पर्धाको छ। हामी आफु पनि प्रतिस्पर्धी बन्नु पर्यो। नयाँ नयाँ बीमा योजना ल्याउनु पर्यो। कसैको कपि गर्ने होइन। आफ्नो कपि गर्ने अवस्थामा पुर्याउनु पर्यो।
हामीले अगाडि उभिएर बीमा संस्थान नेपालको अग्रणी बीमा कम्पनी हो भनिरहेका छौ। बीमा के हो भनेर थाहा नपाएको बेलामा यसले व्यवसाय सुरु गरेको थियो। सरकारले पनि यसलाई संरक्षण गर्ने काम घटाउदै जानु पर्छ र स्वस्थ प्रतिस्पर्धीको रुपमा यसलाई स्थापित गर्न खोज्यो भने यसले फेरि पनि अग्रगति लिन्छ। यसका लागि बीमा समितिले कानुनी रुपमा जे मद्दत गर्नु पर्छ त्यो गर्छौ। अहिले यसको अवस्था खराव छ। केहि सहयोग गरौला। यसको अवस्था सामान्य भए पछि यो प्रतिस्पर्धामा आउनु पर्यो।
यसले बजारमा आफुलाई स्थापित गर्न सक्नु पर्यो अनि मात्रै बीमा समितिको सहयोग रहन्छ होइन भने हामीले सरकारी संस्थान र अन्य कम्पनीको रुपमा उपचार गर्न सक्दैनौ। कुनै समय अवधिसम्मः जवसम्म यसको विगतलाई हामीले सामान्य बनाउदैनौ तवसम्म हाम्रो सपोर्ट जारी रहन्छ। म अहिले पनि आह्वान गर्छु तपाईहरु विकल्प सहित आउनु म समाधान गर्न तयार छु। यो सरकारी संस्थान भएकोले हामी सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछौ। तर अर्को पटक आउदा प्रतिवद्धता पुरा गरेर आउनु पर्छ।
नेपाल राष्ट्र बैंक सँग नियामकिय क्षमता बढाउने काममा सहयोग गर्न अपिल
नेपाल राष्ट्र बैंक नियामक निकाय भएकाले बीमा समिति त्यो नियामकको हैसियतमा स्थापित हुन नसकिरहेको अवस्थामा, यसलाई नियामक स्थितिमा ल्याउनु पर्छ। यसमा एउटै मान्छे अध्यक्ष सधै बसिराख्दैन। तर संस्था बसिराख्छ त्यसैले अरुले पनि आएर चलाउनु पर्ने हुन्छ। यसलाई कसरी नियामक बनाउने भन्ने पाटोमा बीमा समिति नेपाल राष्ट्र बैंक सँग सहयोगको अनुरोध गर्दछ।
बीमाको पोलिसीलेखमा बीमा कम्पनीले दिनु पर्ने कर्जाको विरुद्धमा बैंकहरुले कर्जा दिने प्रकृयाँ सुरु भएको छ। त्यसले बीमाको बजारलाई असर गरिरहेको छ। हामीले नेपाल राष्ट्र बैंकलाई एउटा पत्र पठाएका छौ। हामी आशा गर्छौ हामीले पठाएको पत्रअनुसार काम भएमा बजारको एक किसिमका यस्ता बिकृति रोकिन्छ। कानुनले नमिल्ने काम कसैले पनि गर्नु भएन। सबैका लागि कानुन समान छ।
बीमा बजारमा स्वच्छ प्रतिस्पर्धा हामीले पढ्दै आएको किताबमा मात्रै सिमित हुँदै गयो। अस्वस्थ प्रतिस्पर्धामा हामी सबै जना जानि नजानी सहभागी हुँदै गयौ। कहि न काँही हामी सबैजना दोशी छौ।
बीमा समितले म के गर्दैछु भन्ने कुरा थाहा पाउनु पर्छ। मैले के गर्न खोजिरहेको छु र मेरो एउटा निर्णयले बीमाको बजारलाई के प्रभाव पार्छ भन्ने कुरामा हामी कहि न काँही चुकिरहेका छौ। अव म के स्मरण गराउन चाहान्छु भने ‘अव चुकिन्न’। बीमाको ऐनले हामिलाई जे बाटो दिएको छ, ऐनले के के गर्नु हुँदैन भनेको छ त्यो सबै व्यवस्था सबै बीमा कम्पनीलाई एकनासले लागु हुन्छ।
भर्खरै आएको कम्पनी र २० वर्षदेखि सञ्चालन भैरहेको कम्पनी विचमा केहि त फरक राख्नु पर्छ। हामीले सबैलाई एउटै डालोमा हालिदिएपछि स्थापित कम्पनीले बृद्धि गर्दै जान्छन् तर भर्खरै बामे सर्दै गरेका कम्पनीहरु धरासायी हुन्छन्। कम्पनी धरासायी हुनु भनेको उसले लिएको बजार धरासायी हुन्छ। बीमाको बजारमा अविस्वास पैदा हुन्छ। त्यसैले एक खालको स्थायित्व नहुन्जेलसम्म कुनै न कुनै रुपमा अलि फरक किसिमले ‘ट्रिट’ गर्नुपर्ने अवस्था हुन्छ। यसको अर्थ कानुन नै मिचेर नियमावली नै मिचेर हामीले जारी गरेका निर्देशिका नै मिचेर सरकारको नीतिकै विपरितमा गएर होइन। हामीले सेवा टेवा दिनु पर्ने ठाँउ हुन्छ। कम्पनीले स्थापना भएको पाँच वर्षसम्म काम गर्न सक्यो भने टिक्न सक्छ भन्ने आधारमा हामीले टेवा दिने हो।
समिति चलाउने हाम्रो जुन इन्जिन छ ‘कर्मचारीतन्त्र’ उहाँहरु सबैलाई हामीले के भनिरहेको छौ भने गुनासाको संवोधन हुनु पर्यो। गुनासो कसले गर्यो, वास्तविक गुनासोको कुरा के हो। ति कुरा संवोधन गरेपछि समितिको स्थायित्वको कुरा आउछ। हाम्रोमा १० महिनामा पठाइएको चिठ्ठि ११ महिनामा मेरोमा आउछ भने एक डेड महिनासम्म यो कागज के गरेर बसिरहेको थियो?
काम गराइको तरिका त्यो होइन। तोकिएको मापदण्ड अनुसारका कागजपत्र आएको छ भने दुई तीन दिनभित्रमा मेरोमा आउनु पर्यो। आएन भने तपाईको यो यो कुरा पुगेन भनेर ७ दिनको समय दिनु पर्यो। कामलाई सकाउदै जानु पर्यो। काम अड्काउनेमा कसैको गलत मनसाय नहोला तर हेर्दाखेरि गलत मनसाय देखिन्छ। त्यसकारणले स्वच्छताको बातावरण हामीले बनाउन सक्यौ भने क्रमश हामीलाई स्थापित गर्दै जान्छौ। जति धेरै सम्बन्ध र सम्पर्कमा बस्दै जान्छौ, हाम्रा अप्ठ्यारा भन्दै जान्छौ। कहि न कहि मध्यम विन्दुमा हामी पुग्छौ। र समाधान दिन सक्छौ।
हामीले पनि प्रण गर्नु पर्यो। कम्पनीमा ३६६ दिन काम गर्ने तपाईहरु हो। हामी त एक दिन एक घण्टाका लागि आउछौ। अनि तपाइहरुले हामीबाट के अपेक्षा राख्नु हुन्छ। काम त तपाईहरुले गर्नु पर्यो नि। बजारमा जुन रफ्तारमा बीमाको काम भैरहेको छ त्यसको शिपको विकास तपाईले गर्नु पर्यो। त्यसमा बीमा समितले कहाँ सहयोग गर्नु पर्छ। जब बजारमा तपाईको काम देखिदै जान्छ निश्चित रुपमा तपाईहरुले त्यसको लाभ पाउन सक्नु हुन्छ। तपाईहरुले बोनसको रुपमा, नाफाको रुपमा, पुरस्कारको रुपमा पाउनु होला। अलि लामो समयलाई हेर्नु पर्यो।
सरकारले लेखापरिक्षण गर्न नसकेकोले तिमिले बोनस खान पाउदैनौ भनेको छ अनि कसरी पाउनु हुन्छ। त्यसमा के को दावव। यसमा त सबैको सहकार्य हुनु पर्छ। बीमा समिति आफ्नो स्थापनाको उद्देश्य उसले गर्नु पर्ने काममा अडिग छ। कुनै पनि कसिमको बजार अवरुद्ध गर्ने काम सह्य हुँदैन। कानुको विरुद्धमा गएर कोहि पनि बस्न पाउदैन। समितिको अध्यक्ष पनि र कम्पनी पनि। सबैले कानुनको पालना गर्नु पर्छ। हामीलाई पनि यि काम गर्न कानुनले बाध्य बनाएको छ।
बीमा कम्पनीको एक प्रतिशत पैसा ल्याएर मात्रै बीमा समिति चल्ने होइन। त्यसबाट हामीले कहाँ कहाँ खर्च गरिदिनु पर्यो। बीमाको पहुँच २५ प्रतिशतबाट ७० प्रतिशत पुर्याउन हामीले कहाँ काहाँ खर्च गरिदिनु पर्यो, हामी योगदान के हुन सक्छ। यस बाटामा हामीले गभिरतापुर्वक सोच्नु पर्छ।
तपाईहरुको संस्थानको उत्तर उत्तर प्रगति होस। तपाईहरु अझ धेरै दक्ष हुनुहोस। अवकास लिएर गैसक्नु भएकाहरुबाट अनुभव ग्रहण गर्ने कुनै किसिमको फोरम निर्माण गर्नुहोस।
‘बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राष्ट्रिय बीमा संस्थानको ५४ औ वार्षिकोत्सवको अवसरमा दिइएको मन्तव्यमा आधारित।’