काठमाडौं । वैश्विक बीमाङ्कीय पहल (ग्लोबल एक्चुअरियल इनिसिएटिभ, गेन) ले नेपालको नव प्रवेशी बीमाङ्कीको पेशागत दक्षता अभिवृद्धिका लागि झण्डै साढे पाँच महिना विज्ञहरूको प्रत्यक्ष सुपरिवेक्षण उपलब्ध गराउने भएको छ।
गेनले सोमबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै, सल्लाहकार समूहमा आबद्ध हुन चाहने पेशेवर बीमाङ्कीसँग आवेदन माग गरेको छ। गेनका अनुसार, अहिले प्राप्त हुने आवेदनका आधारमा चयन गरिने सल्लाहकार समूहलाई जुनको मध्यदेखि नोभेम्बर २०२६ सम्म चल्ने तेस्रो नेपाल मेन्टरशिप कोहोर्टको लागि जिम्मेवारी तोकिनेछ।
यसअघिको सल्लाहकार समूहको प्रयोग सफल भएको जनाउँदै गेनले तेश्रो पटकको लागि कार्यक्रम शुरू गर्न लागेको हो। गेनले सूचनामा लेखेको छ, नेपालको बीमांकीय पेशा द्रुत गतिमा बढिरहेको छ, र त्यो गतिलाई समर्थन गर्न सल्लाहकारले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
नेपालको बीमा बजार विकसित हुँदै जाँदा, बीमकहरू, नियमन, रिपोर्टिङ र जोखिम व्यवस्थापनमा बीमांकीय विशेषज्ञताको माग बढ्दै गएको छ। साथै, धेरै प्रारम्भिक करियर पेशेवरहरू अझै पनि व्यावहारिक मार्गदर्शन र विश्वव्यापी बीमांकीय नेटवर्कहरूमा सीमित पहुँचको साथ यात्रा काम गरिरहेका छन्। यस्तो अवस्थाका नवप्रवेशी बीमाङ्की र बीमाङ्की विश्लेषकहरूका लागि सल्लाहकारहरूले प्रत्यक्ष सिकाईमार्फत् उल्लेख्य प्रभाव पार्न सक्छन्।
गेनले लिङ्कडइनमा प्रकाशित सूचनामा लेखेको छ, हामी अनुभवी बीमांकीय पेशेवरहरू खोजिरहेका छौं, जो नेपालमा उदीयमान बीमांकीय पेशेवरहरूसँग आफ्नो अनुभव, दृष्टिकोण र प्रोत्साहन बाँड्न तत्पर छन्।
गेनका अनुसार, यस्तो समूहमा आबद्ध हुने पेशेवरहरूको सहजताका लागि प्रतिबद्धता व्यवस्थापन योग्य हुने गरी डिजाइन गरिएको छ। उनीहरूले महिनामा १-२ घण्टा छुट्याउने र केही कार्यक्रमहरूमा सहभागिता जनाउनुपर्नेछ।
गेनको मेन्टरशिप कार्यक्रम नेपालको एक्चुरियल सोसाइटी, नेपाल बीमा प्राधिकरण, संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडीपी) नेपाल, मिलिम्यान, र हिमालयन एभरेस्ट इन्स्योरेन्स लगायतका साझेदारहरूसँग मिलेर नेपालमा एक्चुरियल क्षमतालाई सुदृढ पार्ने फराकिलो प्रयासको एक हिस्सा हो।












