काठमाडौं । पछिल्लो समय बचत खाता खोल्नेहरुको संख्या घटेको पाइएको छ। बैंकहरुले आफ्ना कर्मचारीलाई बचत खाता बढाउनका लागि दिएको टार्गेटभन्दा निकै न्यून मात्रै खाता खुल्ने गरेको पाइएको हो। विगतको तुलनामा बैंकको व्यवस्थापनले खाता खोल्ने टार्गेट नै कम गर्ने गरेका छन्। तर, पनि घटाइएको टार्गेटअनुसार पनि बचत खाता खुल्न छाडेको प्रायः बैंकका कर्मचारीहरुको अनुभव छ।
‘विगतमा महिनामा धेरै नै बचत खाता खुल्थ्यो तर अहिले मुस्किलले ४० वटा खुलिरहेका छन्’, एक बैंकका कर्मचारीले भने। ती कर्मचारीमात्र होइन प्रायः बैंकका कर्मचारी अहिले बचत खाताको संख्या बढाउनका लागि धौधौ भइरहेको बताउँछन्। पछिल्लो समय बैंकहरुले अपेक्षा गरेबमोजिम बचत खाता नबढ्ने गरेको पाइएको छ। अर्थतन्त्रको सुस्तता, धेरै बैंकमा खाता हुनेजस्ता कारणले पछिल्लो समय बैंक खाता खोल्ने क्रम घटेको पाइएको हो।
सामान्यतयाः बचतका लागि बैंक खाता खोलिन्छ। विस्तारै व्यवसाय वा रोजगारीमा संलग्न हुँदै जाँदा खाताबाहकले कर्जासमेत लिने अवस्था आउन सक्छ। बचत र व्यवसाय विस्तार हुँदै जाँदा यसले कर्जा प्रवाहमा समेत वृद्धि गराउने अपेक्षा बैंकहरुको हुन्छ। तर, विगतमा बैंक खाता धेरै खुलेकाले अहिले क्रमशः घट्दै जान थालेको सरोकारवालाहरु बताउँछन्।
राष्ट्र बैंकको २०८० फागुनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको बचत खाता ४ करोड ६६ लाख ७ हजार ६७३ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकका बचत खाता ४ करोड २३ लाख ६० हजार १६५ रहेका थिए। यस्तै विकास बैंकहरुमा ६९ लाख ४१ हजार ८८६ वटा बचत खाता रहेको थियो। अघिल्लो आर्थिक वर्षको फागुनसम्म विकास बैंकहरुको ६० लाख ९७ हजार ३५० बचत खाता सञ्चालनमा थिए।
चालु आर्थिक वर्षको फागुनसम्ममा वित्त कम्पनीहरुको ८ लाख ५१ हजार १६१ वटा बचत खाता रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ लाख ४७ हजार ९९९ वटा बचत खाता रहेकोमा अहिले केही बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले केही बढे पनि वृद्धिदर भने घट्न सक्ने बैंकरहरु बताउँछन्। बैंकहरुको खाता संख्या धेरै भइसकेकोले अहिले विस्तारै खाता खोल्नेको संख्या घट्दै गएको जानकारहरु बताउँछन्। ‘अहिले जनसंख्याभन्दा बढी खाता भइसकेको अवस्था छ। ४–५ वटा खाता भइसकेपछि प्रायःले खोल्दैनन्। त्यसै कारण अहिले घट्न थालेको छ’, एक बैंकरले भने।
विगतमा खाता खोल्नेको संख्या बढी आए पनि अहिले नयाँ खाता खोल्नका लागि मानिसहरु कम जान थालेका छन्। पछिल्लो समय युवाहरु विदेशिँदा पनि बैंक खाता खोल्नेको संख्या कम भएको जानकारहरुको भनाइ छ। युवा जनशक्ति तथा विद्यार्थी विदेशिँदा बैंक खाता खोल्ने क्रम घटेको बैंकहरुको बुझाइ छ।
यसबाहेक विगतमा शेयर बजारप्रति नागरिक जागरुक हुँदै जाँदा बैंक खाता बढी खुल्ने गरेको थियो। अहिले प्रायःले शेयर खाता खोलिसकेकाले पनि बैंक खाता कम खुलेको हुन सक्ने जानकारहरु बताउँछन्। डिम्याट तथा मेरो शेयरमार्फत शेयर कारोबार गर्नका लागि बैंक खाता अनिवार्य भएकाले पनि प्रायःले खाता खोल्ने गरेका थिए। अहिले ती खाता सक्रिय नै हुँदा अन्त खाता खोल्नु आवश्यक नभएको जानकारहरु बताउँछन्।
अहिले बैंकहरुले जसरी होस् खाता संख्या बढाउने गरी लागिपरेको कतिपय बैंकका कर्मचारीहरु बताउँछन्। उनीहरुका अनुसार आफू नजिकका साथीभाइ र आफन्तबाट जसरी भए पनि बैंक खाता खोलाउने अभियानमा अहिले बैंकका कर्मचारीहरु नै लाग्नुपरेको छ। तर, पनि टार्गेट भेट्न भने हम्मेहम्मे भइरहेको ती कर्मचारीहरु सुनाउँछन्।
बैंकहरुले विशेषगरी विद्यार्थीहरुलाई बैंक खाता खोल्नका लागि आकर्षित गरिरहे पनि विद्यार्थीहरु विदेशिने क्रम बढेकाले खाता कम खुलिरहेका छन्। यसबाहेक ब्याजदर बढी हुने तथा राम्रो छवि देखिएका बैंकहरुतर्फ बढी खाता खोलिने भएकाले कतिपय बैंकलाई भने खाता बढाउन हम्मेहम्मे पर्ने गरेको बैंकका कर्मचारीहरु बताउँछन्।