IME Life

वैदेशिक रोजगारी बीमामा प्राधिकरणको खेल फड्को, अवैधरूपमा लघु बीमकलाई पनि जिम्मा दिंदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा कम्पनीलाई समेत वैदेशिक रोजगारी बीमालेख बिक्रीका लागि स्वीकृति दिने भएको छ। प्राधिकरणले सोमबार वैदेशिक रोजगारी म्यादी बीमालेख निर्देशन २०८० को मस्यौदा जारी गर्दै लघु जीवन बीमा कम्पनीलाई पनि वैदेशिक रोजगारी बीमालेख बिक्रीका लागि स्वीकृति दिने जनाऊ दिएको हो ।

प्राधिकरणले तीन दिनको छोटो सूचना जारी गर्दै बीमकलाई सुझावका लागि पठाएको बीमालेखमा निर्देशिकाको मस्यौदामा लघु जीवन बीमकका लागि स्वीकृत बीमाङ्क रकमको सीमाभन्दा चार गुणा बढीसम्म जोखिम बहन गर्ने गरी वैदेशिक रोजगारी म्यादी बीमालेख जारी गर्न स्वीकृति दिने तयारी गरेको हो । प्रस्तावित निर्देशिकाको निर्देशन नम्बर २(ज) मा बीमक भन्नाले बीमा ऐन २०७९ अन्तर्गत इजाजत प्राप्त जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी सम्झनु पर्छ भन्ने परिभाषित गरेर प्राधिकरणले खेल फड्को शुरु गरेको हो ।

Prabhu
Crest

सीमान्तकृत वर्गको वित्तीय सुरक्षाको मूल उद्देश्यका साथ स्थापित लघु बीमा कम्पनीहरुले मूल उद्देश्य पुरा गर्न बाध्य बनाउनुको साटो नियामक प्राधिकरणले एक पछि अर्को गर्दै अनिवार्य बीमाका कार्यक्रम मार्फत् लघु बीमकको संरक्षण शुरु गरेको छ। निजी क्षेत्रको पुनर्बीमा कम्पनीलाई संरक्षण गरेको भन्दै चर्को आलोचना हुँदै आएकोमा प्राधिकरणले लघु जीवन बीमकको स्थापनाको मूल उद्देश्यबाट नै विमूख भएर पुनः अर्को खेल शुरु गरेको हो । प्राधिकरणले जारी गरेको तथ्यांकलाई नै आधार मान्ने हो भने इजाजत प्राप्त तीन लघु जीवन बीमकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ करोड ९ लाख २२ हजार रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गरेका छन् । यो रकम जीवन बीमा व्यवसायको मंसिर मसान्तसम्मको व्यवसायको १ प्रतिशतभन्दा पनि निक्कै न्यून हो ।

लघु जीवन बीमा कम्पनीलाई समेत जसरी भएपनि वैदेशिक रोजगारी म्यादी बीमालेख बिक्रीका लागि खुल्ला गर्न नेतृत्व तहबाट निर्देशन पछि प्राधिकरणको सम्बन्धित शाखाले निर्देशिका तयार पारेको हो । लघु बीमा निर्देशन २०७९ ले नै लघु जीवन बीमा कम्पनीको अधिकत्तम बीमाङ्क सीमा ५ लाख रुपैयाँ निर्धारण गरि दिएकोमा प्राधिकरणले वैदेशिक रोजगारी बीमा निर्देशिका २०८० जारी गर्दै यो सीमालाई २० लाख रुपैयाँ पुर्‍याउने बाटो खुला गर्दैछ। वैदेशिक रोजगारी म्यादी बीमालेखमा घातक रोगको उपचारका लागि ५ लाख रुपैयाँ उपचार खर्च र अर्को एक लाख रुपैयाँ रोगको निदानका लागि उपलब्ध गराउने सुविधा भएकाले यो ६ लाख रुपैयाँ सहित वैदेशिक रोजगारी म्यादी बीमालेखमा जीवन बीमकले २० लाख रुपैयाँ बराबरको जोखिम बहन गर्नुपर्छ।

लघु बीमा निर्देशिका २०७९ को निर्देशन नम्बर २०(३)  मा लघु बीमाको सीमा अन्तर्गत प्रष्ट उल्लेख छः  ”जीवन बीमा कम्पनीले पाँच (५) लाख रूपैयाँ भन्दा कम बीमाङ्क भएको जीवनको लघु बीमा गर्न सक्छ ।”

लघु जीवन बीमकले स्वीकृत सीमाभन्दा अधिक बीमाङ्कको जोखिम बहन हुने गरी मूल बीमाङ्कसँग जोडेर पुरक करार बिक्री गरिरहेको भन्दै आलोचना भएपछि प्राधिकरणले गत असोज २२ गते पत्र संख्या १०५ चलानी नम्बर १८०७ मार्फत् लघु बीमकलाई ९ बुँदे निर्देशन जारी गर्दै कुल बीमांक रकम लघु बीमा निर्देशन २०७९ मा तोकिएको सीमाभित्र रहने गरी कायम राख्न प्राधिकरणले लघु बीमकलाई निर्देशन दिएको थियो । यो पत्र प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालको सचिवालयले पनि पाएको छ।

वैदेशिक रोजगारी म्यादी बीमालेखमा के के छन् सुविधाः

वैदेशिक रोजगारी म्यादी बीमालेखको मूल बीमाङ्क रकम १० लाख रुपैयाँ तोकिएको छ। यसको अतिरिक्त बीमितको मृत्यु भएको अवस्थामा किरिया खर्चवापत थप १ लाख रुपैयाँ दिइने प्रावधान छ। वैदेशिक रोजगारीमा रहेकै समयमा निधन भएको भए आय क्षतिपूर्तीवापत थप २ लाख रुपैयाँ मृतकको परिवारजनले क्षतिपूर्ती पाउनेछन् । वैदेशिक रोजगारी बीमालेखमा यति मात्र नभएर विदेशमै रोजगारका क्रममा मृत्यु भएमा शव ल्याउनका लागि थप १ लाख रुपैयाँ मृतकको परिवारजनले क्षतिपूर्तीवापत पाउने प्रावधान छ।

यसबाहेक रोजगारका क्रममा कुनै अङभङ भएमा, स्थायी अशक्त अपाङ भएको अवस्थामा पनि बीमालेख अन्तर्गत बीमित श्रमिकले क्षतिपूर्तीवापतको रकम प्राप्त गर्छन् ।

के लघु बीमाको स्थापना वैदेशिक रोजगार बीमाका लागि भएको हो?

परम्परागत बीमा कम्पनीहरुले प्रवाह गरिरहेको सेवा र प्रणालीले सीमान्तकृत वर्गलाई बीमाको सुरक्षा घेराभित्र समेट्न र गरिबी निवारणमा योगदान पुर्याउन नसकेको निष्कर्षसहित प्राधिकरणले बीमाको माध्यमबाट सीमान्तकृत वर्गको उत्थानका लागि लघु बीमा कम्पनीको अवधारणा ल्याएको थियो । लघु बीमा कम्पनीको इजाजत पत्र वितरणको घोषणा भएसँगै प्राधिकरणले राजनीतिक नेतृत्वको संरक्षणमा लाइसेन्स राज सञ्चालनका लागि लघु बीमा कम्पनीका लागि इजाजत वितरण गरेको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । लघु बीमा कम्पनीहरु सञ्चालनमा आएको १ वर्ष पनि पुरा भएको छैन ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र १२ गते जारी गरेको लघु बीमा निर्देशन २०७९ को प्रस्तावनामा लघुबीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमाको मार्फत् न्यून आय वर्गको जीवन तथा सम्पत्तीको सुरक्षा गर्नका लागि बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन २०७९ बनाएको छ भन्ने उल्लेख छ।

२०७९ साउन ३१ गते जारी लघु बीमक निर्देशिका २०७९ मा लघु बीमकको मुख्य उद्देश्यहरु यस्ता छन्ः

  • दुर्गम ग्रामीण तथा शहरी क्षेत्रको सीमान्तकृत तथा न्यून आय भएका समदुायलाई लक्षित गरी लघबुीमा सेवाको प्रवाह गर्ने
  • लघुबीमा सेवाका सेवाग्राहीको रूपमा न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहूलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्थालाई सदृुढ पार्ने,
  • गरीबी निवारण सम्बन्धी विभिन्न कार्यक्रम र परियोजनाहरुलाई लघु बीमासँग आवद्ध गरी समन्वयात्मकरुपमा कार्यक्रम संचालन गर्ने,
  • लघु उद्यमशीलताको विकास गर्नका लागि स्थापित निकायहरुसँग समन्वय गरी लक्षित वर्गको सम्पत्ती तथा जीवनमा पर्ने जोखिम सुरक्षण गर्ने गरी बीमालेख जारी गर्ने,
  • स्थानीय स्तरमा विद्मान सामुदायीक संस्था बचत तथा ऋण सहकारी लघु वित्त कारोबारमा संलग्न संस्थाहरुसँग आबद्ध जनतालाई समेट्ने गरी लघु बीमालेख बिक्री गर्ने
  • स्थानीय तहमा लघुबीमाको पहुँच बढाउनुको साथै त्यस्तो निकायहरुमा बीमाको माध्यमबाट जीवन र सम्पत्तिको सुरक्षण गर्ने प्रचलनको विकास गर्ने,
  • दिगो एवं सरल रुपमा लघु बीमा सेवा उपलब्ध गराउने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS