IME Life

नेपालमा पुनर्बीमा व्यवसायको प्रवर्द्धनका लागि चुनौतीसँगै पर्याप्त अवसरहरु छन्, निमित्त सीईओ भण्डारीसँगको अन्तर्वार्ता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स‌ंस्थापनादेखि कार्यरत दामोदर भण्डारी नेपालमा रहेका बीमा र पुनर्बीमा क्षेत्रमा सीमित अनुभवीमध्येका एक हुन् । उनले २०५५ सालदेखि लगातार २०७२ कात्तिक १४ सम्म बीमा नियामक साबिक बीमा समिति( हाल नेपाल बीमा प्राधिकरण)मा रहेर नियामकीय अनुभव लिने अवसर पाए। त्यसअघि नै उनले सगरमाथा इन्स्योरेन्समा १ वर्षसम्म रहेर बीमा क्षेत्रमा आफ्नो करियर यात्रा शुरु गरि सकेका थिए ।

उनले बीमा समितिमा रहँदा विराटनगर क्षेत्रिय कार्यालय प्रमुख जिम्मेवारी समेत पाएका थिए । नियामकीय स‌ंस्थामा कार्यरत रहँदा उनले प्रोडक्ट डिजाइन र  प्राइसिङको काम पनि गरे । आफ्नो कार्यकालको लामो समय उनले बीमा कम्पनीहरुको अनसाइट निरिक्षणमा पनि बिताए । बीमा दर निर्माणमा मोटर बीमा र सामुद्रिक बीमामा बीमाशुल्क दर निर्धारणको काम गरे । नियामकीय संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय र पेशागत संघसंस्थासँगको समन्वय र अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन र तालिम कार्यक्रममा सहभागीताको अवसर पनि पाए ।

Crest

त्यही अवधिमा उनले १ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा  विज्ञको रुपमा पनि काम गरेका थिए । निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्समा रहँदा नै उनले निर्जीवन बीमा बजारको बारेमा बुझ्न पाए । यसबाहेक बीमा समितिको विराटनगर क्षेत्रिय कार्यालयमा तीन वर्षे कार्यकालमा पनि उनले नेपालको बीमा बजारको व्यवहारिक अभ्यासलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए ।

जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका भण्डारी २०७२ कात्तिक १५ गते नेपाल पुनर्बीमा कम्पनीमा नायब महाप्रबन्धक पदबाट प्रवेश गरेका थिए । उनी हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली रहेका छन् । निमित्त प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग नेपालमा पुनर्बीमाबारे केन्द्रित भइ इन्स्योरेन्स खबरका केशब प्रसाद भण्डारीले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमकको उपस्थितिसँगै तपाईहरु व्यवसायीकरुपमा दबाबमा पर्नु भएको हो ?

हामी प्रतिस्पर्धी भन्दा पनि नेपालको पुनर्बीमा बजारको हिसाबले एक अर्काका परिपुरक हौं । हामीले जोखिम बाँड्ने हो, यसले बीमाशुल्क बाँडफाँड, नाफा बाँँडफाँड र घाटा पनि बाँडफाँड हुन्छ। जे भएपनि हामीले नेपालबाट नेपाली बजारबाट पुनर्बीमा मार्फत् बहिर्गमन हुने वैदेशिक मुद्रालाई सन्तुलित गर्नुपर्ने मूल उद्देश्य हो । त्यही हिसाबले हामीले सकेसम्म एक अर्कोलाई धेरै रिइन्स्योरेन्स सपोर्ट गर्ने र अन्तर्राष्ट्रिय बजारबाट बिजनेश ल्याउने पनि हो । हामी हिमालयन रिइन्स्योरेन्ससँग पनि रेट्रोसेशनमा सहभागी भएका छौं र सांकेतिकरुपमा के सन्देश दिएका छौं भने हामी ब्रदर हौं । एक अर्कामा ब्रदरहुडकै हिसाबले रिइन्स्योरेन्स बिजनेश शेयरिङ गर्दै जाने हो भन्ने छ।

नेपाल पुनर्बीमाको व्यापारमा वैदेशिक व्यापारको योगदान कस्तो छ ?

नेपाल पुनर्बीमा कम्पनीको कूल बीमा कारोबारमा ८ प्रतिशत हिस्सा विदेशी व्यापारले ओगटेको छ। बाँकी स्वदेशी बीमकबाट नै प्राप्त भई रहेको अवस्था छ। अन्तर्राष्ट्रिय बजारबाट व्यापार ल्याउने हिसाबले रेटिङले धेरै फरक पर्छ। नेपाल पुनर्बीमा अन्तर्राष्ट्रिय रेटिङको प्रकृयामा छ। फ्ल्याग क्यारियर भएकाले पनि हामीलाई वैदेशिक व्यापारका लागि केही सहज भने अवश्य छ। हामीले  भारतमा फरेन रिइन्स्योरेन्सको रुपमा दर्ता भएर कारोबार गरिरहेका छौ‌ं।

दाबी भुक्तानीका सन्दर्भमा नेपाल पुनर्बीमाको कार्य सम्पादन कस्तो छ ?

कोरोना महामारीको समयमा नेपाल पुनर्बीमाले १ अर्ब २० करोड  रुपैयाँ कुल दाबी व्यहोरेको छ। यसैगरी बाढी पहिरोका कारण जलविद्युत परियोजनाहरुमा क्षति पुग्दाको क्षतिपूर्ती पनि पुनर्बीमा कम्पनीले दिएको छ। हामीले धेरै दाबी तिरेका छौ‌ं। हामीसँग पुराना ठूला दाबीहरू लगभग बाँकी छैनन् । सबैभन्दा ठूलो कुरा के हो भने रिइन्स्योरेन्स भनेको दुःखको साथी हो भन्ने हो । त्यसै लक्ष्य अन्तर्गत हामीले काम गरिरहेका छौं।

नेपालको पुनर्बीमा बजारको बिस्तारका स‌ंभावना के छ ?

आगामी दिनमा पनि नेपालको सन्दर्भमा हाम्रो भविष्य पनि र बिजनेशको ठूलो साइज पनि पूर्वाधारमा नै छ। त्यो पनि विशेषगरी जलविद्युत गृहहरु निर्माणमा लगानी हुने नै छ। यसले अवश्य पनि बीमा पुनर्बीमा आकर्षित हुन्छ नै, यसको पुनर्बीमाको लागि अन्तर्राष्ट्रिय पुनर्बीमाको आकर्षण छैन । ठूलो लस भएकाले आकर्षण छैन। यसमा सबैको उन्नयन हुने गरी र मार्केटको रिटेन्शन बढाउने गरी पुल निर्माण गरेर अघि बढौं । अर्को हवाई बीमाको बारेमा पनि त्यस्तै छ। यसैगरी पुल कन्सेप्टमा गयौ‌ं भने कन्ट्री रिटेन्शन पनि बढ्छ। हवाई पुनर्बीमा लागायत महाविपत्तिका कारणले ठुला ठुला जोखिमको पुनर्बीमामा  व्यापारबारे हाल विदेशी पुनर्बीमकको कम आकर्षण रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको व्यापारका हिसाबले भावी दिनमा कसरी अगाडी बढ्ने छ?

हाम्रो सञ्चालक समितिको अध्यक्षले पुनर्बीमा व्यापार बिस्तारमा देखाएको चासो सहितको निर्देशनले सकारात्मक उर्जा दिएको छ । नेपाल रिको पुनर्बीमा समर्थन एकदमै राम्रो रहेको छ र विश्व प्रतिष्ठित पुनर्बीमकहरुसँग हार्दिकता, कभरेज र  सम्बन्ध सबै हिसाबले राम्रो छ। हामी रणनीतिगत रूपमा अघि बढ्ने गरी नै केही काम गर्दैछौं, हाम्रो प्रयास जारी छ। पुनर्बीमा व्यापारमा अपरेशनल प्रोफिट भन्दा पनि इन्भेष्टमेण्ट रिटर्न बढी हुन्छ, यो सबैलाई आधार बनाएर एग्रेशिभली नै मार्केटमा जाने गरी काम गर्छौं। एग्रेशिभ भन्नुको अर्थ व्यवसायीकरुपमा नै अघि बढ्ने हो । हामी बीमा कम्पनी, माइक्रो इन्स्योरेन्स समेत, बीमा नियामक र बीमाको आवश्यक्ता, सचेतना र बीमाको सेवा पुग्ने गरी नयाँ प्रोडक्टको लागि पनि योगदान दिनेछौं। मार्केटको सेवाका लागि एक्चुअरियल सेवाका लागि पनि हामीले प्रयास गरिरहेका छौं। हामीले स‌ंस्थागत सुदृढीकरणका लागि नयाँ भवन निर्माणको काम पनि यसै आर्थिक वर्षमा शुरु गर्ने लक्ष्य लिएका छौं । सफ्टवेयरको विषयमा स्थानीयरुपमा बनेको सफ्टवेयर छ। हामी विदेशी सफ्टवेयर ल्याउने तयारीमा छौ‌ं ।

राम्रो प्रतिफलको अपेक्षा गरेर बसिरहेका शेयरधनीका लागि तपाईको प्रतिकृया के छ?

पुनर्बीमक कम्पनी भएकाले हामी पहिला सुरक्षा र त्यसपछि मात्र प्रतिफल हेर्छौं। कम्पनीको कुल लगानी अहिले २० अर्ब रुपैयाँ रहेको छ। यो विस्तारै बढ्दै नै जानेछ। प्रोफिटका हिसाबले अझ बढी प्रतिफल दिन नसकेपनि हामीले वित्तीय हिसाबले नेटवर्थ बढाउँदै कम्पनीलाई बलियो बनाएर लगेका नै छौं ।

यसलाई अझ बढी राम्रो मेरो अनुभव, सम्बन्ध, सहयोग पेशागतरुपमा अन्तर्राष्ट्रिय स्तरमा जसरी पुनर्बीमा व्यवसायको काम सम्पन्न हुन्छ त्यसै हिसाबमा काम गर्न हामी सक्षम छौं भन्ने हामीलाई विश्वास छ। मैले पनि नेपाल पुनर्बीमा कम्पनी र नेपाललाई प्रतिनिधित्व गरेर नै बोल्ने  हो । यसले मलाई निजी रुपमा पनि फाइदा गरेकै छ।

सारमा भावी दिन नेपाल पुनर्बीमा कम्पनीको लागि धेरै राम्रो छ। समाजले जति धेरै आर्थिक समृद्धि विकास गर्दै जाँदा बीमा व्यवसायले पनि वृद्धि गर्दै जान्छ र त्यसैको तुलनामा बाइप्रोडक्टका रुपमा पुनर्बीमा व्यवसाय पनि अभिवृद्धि गर्दै जान्छ।

पुनर्बीमा व्यवसायका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन कसरी भइरहेको छ ?

वास्तवमा नेपालको बीमा बजारका लागि पुनर्बीमा व्यवसाय नयाँ नै हो । बीमा कम्पनीले पुनर्बीमा गर्दै आएको भएपनि पुनर्बीमाको लागि व्यसायीकरुपमा काम गर्ने सन्दर्भमा हाम्रो लागि यो क्षेत्र नयाँ हो । पुनर्बीमामा नै व्यवसायीक हिसाबले गर्दै जाँदा हिजोका दिनमा हामीले अनुभवीहरुबाट मार्गदर्शन पाएर अघि बढेका थियौं, अहिले हामीसँग पनि आकस्मिक बीमा कोष व्यवस्थापन समेत गरी २० वर्ष र विशुद्ध पुनर्बीमकको रुपमा १० वर्षको अनुभव भई सकेको छ। लोकसेवा पास गरेर आएको जनशक्तिले पनि दुई वर्षको अनुभव हासिल गरिसकेका छन्। हामीलाई आवश्यक स्तरको न्यूनत्तम आवश्यकता  पुरा छ। यतिले पर्याप्त हुँदैन भन्ने हामीलाई हेक्का छ। पुनर्बीमा व्यवसायमा दिनप्रतिदिन जोखिमको डाइमेन्सन बदलि‌ंदै गएको छ, ग्लोबल वार्मिङ रिस्क र अन्य विभिन्न कारणले गर्दा  प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरु द्रूतगतीमा  बढ्दै गएकाले यसले पुनर्बीमा व्यापारमा नकारात्मक असर गरेको छ। त्यो प्रभावलाई बुझेर तदअनुसारको कदम चाल्ने काम बाँकी छ। त्यसका लागि हाम्रो जनशक्तिलाई अन्तर्राष्ट्रिय तालिम र अध्ययनहरुमा अझ बढी सहभागिताको अवसर प्रदान गरेर दक्षता अभिवृद्धि गर्नुपर्नेछ ।

आजका दिनमा पुनर्बीमकको हैसियतमा नियमित सेवा प्रदान गर्नका लागि हाम्रो जनशक्ति सक्षम छ। कम्प्लायन्सको काम गर्न सकेका छौं तर रिसर्च र एनालिशिसको काम आवश्यक मात्रामा गर्न बाँकी छ। इन्टरनल एनलाइसिसको पाटोका लागि हामी महाविपत्ती मोडलिङमा लगानी गर्न खोज्दैछौ । रिसर्चमा अपरेशनमा अनुसन्धान तथा विकास गर्न प्रयास गर्दैछौं । अर्को पक्ष के हो भने हामीले एक्चुअरियल सर्भिस बढाउनुपर्नेछ। यो गर्न नसक्दासम्म पुनर्बीमा बजार बिस्तार गर्न गाह्रो हुन्छ।

आरएसएमडिटीको व्यापारलाई लिएर पनि केही समय विवाद देखा परेको थियो ?

यो एउटा विषय विवाद भन्दा पनि नेपाल पुनर्बीमा कम्पनीले कानुनत गर्दै आएको र गर्नुपर्ने विषय हो। नेपाल सरकार, अर्थ मन्त्रालय  तथा नेपाल बीमा  प्राधिकरणले नै अग्रसरता लिएर तपाईहरु नै गर्दै जानुहोस् भनि आवश्यक सहयोग पाएका छौं। अब बजारको आवश्यकता र क्षमताको आधारमा पारस्परिक हितलाई विश्लेषण गरी सेवालाई थप परिस्कृत गर्दै लग्दै जानुपर्ने आवश्यकता पनि छ।

वित्तीय विवरणहरु समयमै तयार हुन नसकेको अवस्था किन भएको हो ?

वित्तीय विवरणका सन्दर्भमा गत आर्थिक वर्षको चौथो त्रैमास र यो वर्षको प्रथम् त्रैमासको मात्र बाँकी छ। त्यो पनि हामी चाँडै तयार गरी सक्ने छौं। नियामकको तर्फबाट पनि यसमा चासो राख्दै बीमकहरुलाई सक्दो चाँडो लेनदेन हिसाब फर्छ्यौट गर्नका लागि निर्देशन जारी गरेर सहजीकरणको प्रयास भई रहेको छ।

पुनर्बीमा बजारको बिस्तारका लागि गर्नुपर्ने पहलहरु के के छन् ?

नेपाल पुनर्बीमा र बीमा बजारसँगको सम्बन्ध विस्तारमा केही पुल र सामूहिक पहलको जरुरी छ। अहिले नेपालमा  बजार कस्तो छ भने बीमितले अवश्य पनि सस्तो मात्र हेरि रहेको हुन्छ। तर हार्डर मार्केट, अन्तर्राष्ट्रिय पुनर्बीमा बजार असाध्यै महँगो छ, महँगो भएकाले यसको साइड इफेक्टका रुपमा बीमक र पुनर्बीमक सबैलाई मर्का परेको छ। बीमितलाई पनि मर्का परेको देखिन्छ। तर बीमकको दृष्टीकोणले हेर्दा अहिले ओभरअल लसको अवस्था छ। हामीले कुन चाहिँ पोर्टफोलियोमा लस आएको छ विश्लेषण गरेर त्यसको शर्त र सुविधालाई सुधार पनि गर्नुपर्छ । तर घाटा भयो भन्दै सबै खाले जोखिमलाई बराबरी गर्दा जुन व्यवसाय खण्डमा घाटा छैन त्यसलाई पनि महँगो बीमाशुल्क तोकिंदा मर्का पर्छ ।

मोटर बीमामा पनि व्यवसायीक प्रयोजन र निजी प्रयोजनका सवारीको बीमाशुल्क दर फकर फरक छ। किनकी यी दुबैको नोक्सानी अनुपात पनि फरक छ। यी तथ्यहरु अध्ययनबाटै देखिने हुन्। बीमा र पुनर्बीमा व्यापारको प्रत्येक पोर्टफोलियो र प्रोडक्टको बारेमा अध्ययन अनुसन्धान र त्यसको आधारमा विकास गर्यौ भने त्यसले व्यवहारिकरुपमा देखिएका समस्यालाई पनि सम्बोधन गर्नेछ। बीमितप्रति न्याय पनि हुन्छ। बीमकलाई पनि न्याय हुन्छ। र पुनर्बीमकलाई पनि स्वत :न्याय हुन्छ। यो अब हामी यो पाटोमा पनि काम गर्दै जानेछौं ।

विदेशी पुनर्बीमा व्यापारको हिस्सालाई अझै बढाउन कतिको स‌ंभव छ?

हामीले यसलाई बढाउन सजिलै सक्छौं, तर हामीले के अनुभव गर्यौं भने हतारिनुभन्दा पनि यसलाई बिस्तारै गर्दै गयौं भने दीगो हुनेछ। अहिले अफ्रिकन मार्केट, मिडिल इष्ट, एशियन मार्केट, आशियान मुलुकमा हाम्रो उपस्थिति छ। हामी अमेरिका, यूरोप, जापान जस्ता लङ टेल रिस्क हुने देशमा जाँदैनाै‌ं । त्यहाँ ओयल एण्ड एनर्जी लगायतको जोखिम बढी हुन्छ, तत्काल हामी त्यो क्षेत्रमा जाँदैनौं ।

हामीले अन्तर्राष्ट्रिय बिजनेशको नेचर पनि बुझ्नुपर्छ।अन्तर्राष्ट्रिय बजारमा उपस्थितिसँगै नेपाल रि ले यो यो ठाउँमा काम गर्छ भन्ने जुन सन्देश बजारमा दिन सकेका छौं, त्यसले आफैंमा पनि महत्वपूर्ण अर्थ राख्छ। अन्तर्राष्ट्रिय बजारमा दक्षिण एशियाली मुलुकमा जिआइसी पछाडी नेपाल रि छ । विदेशी व्यापार बिस्तारलाई बिस्तारै लाने हो । यसलाई रणनीतिकरुपमा ८-१०-१५ प्रतिशत गर्दै लैजाने हो । मेरो विचारमा ६० प्रतिशत गार्हस्थ र बाँकी विदेशी व्यापार गर्न सक्यौं भने सस्टेनेबल हुनसक्छ।

वैदेशिक व्यापार ल्याउनका लागि नेपाल सरकारको तर्फबाट सहयोग भई रहेको छ ?

नेपालको अन्तर्राष्ट्रिय बजारमा पहुँच प्रभाव र नाम पनि लान सक्ने पुनर्बीमा व्यवसाय नै हो । यसका लागि नेपाल सरकार,अर्थमन्त्रालय, नेपाल बीमा  प्राधिकरण र स्टेक होल्डरहरुबाट हामीलाई  सक्दो आवश्यक सहयोग प्राप्त छ, मार्गदर्शन पनि पाइनै रहेका छौ‌ं ।

क्षेत्रियरुपमा पुनर्बीमकहरुबीच सहकार्य गर्न सकिने स‌ंभावना कतिको छ ?

हामीले क्षेत्रिय स्तरमा पुनर्बीमा कम्पनीहरुबीच सहकार्य र समन्वय गर्नु नै पर्छ । रिइन्स्योरेन्स कम्पनीहरु खासगरी भारतको पुनर्बीमा कम्पनी जिआइसीसँगको बैठकहरुमा दक्षिण एशियाका पुनर्बीमा कम्पनीहरुलाई जोडेर क्षेत्रिय क्षमता बढाऔ‌ं र क्षेत्रियरुपमा पुनर्बीमा बजारलाई सपोर्ट पनि गरौं भनि प्रस्ताव गरिरहेका छौं। ढिलो चाँडो यसले केही न केही नतिजा ल्याउला भन्ने आशा छ।

विदेशमा नेपाल पुनर्बीमाको शाखा बिस्तारका सन्दर्भमा केही तयारी भई रहेको छ ?

नेपाल पुनर्बीमा कम्पनीको शाखा सन्दर्भमा यस्तो छ की, पुनर्बीमा व्यापारका लागि शाखा नै अनिवार्य विषय होइन। मुलत पुनर्बीमा व्यापारहरु ब्राेकर मार्फत् नै हुन्छ। भौतिक उपस्थितिभन्दा पनि व्यवसायीक उपस्थिति हाम्रो उद्देश्य हो । हामीले विदेशमा शाखा नै नखोली यहीँबाट लिन सकिने व्यापारहरु लिई सकेपछि मात्र शाखा खोल्ने तिर जाँदा उचित हुन्छ। अन्यथा सञ्चालन खर्च धेरै हुनजान्छ। त्यहाँको पुनर्बीमा रेगुलेशन पुरा गर्नुपर्ने विषयहरु धेरै नै हुनजान्छ। विदेशमा शाखा सञ्चालनका लागि त्यहाँ धेरै पूँजी लिएर जानुपर्ने हुन्छ। हाम्रो सन्दर्भमा कुरा गर्नुपर्दा अहिलेका लागि शाखा खोल्नुभन्दा पनि विदेशी व्यापार ल्याउनु प्राथमिकता हो।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS