IME Life
GBIME

नेपालमा बैंकास्योरेन्स : अनुभव र अवको बाटो, दिवस तिमल्सेनाको लेख

SPIL
NIC ASIA new
NLIC

नेपालको बीमा क्षेत्रमा बैंकासुरेन्स कुनै नौलो नाम रहेन । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो बैंकिङ कारोबारमा बीमा कम्पनीहरुले प्रदान गर्ने बीमा सेवाबाट खेलिएको विषेश भुमिकाको सम्बन्धमा पनि लगभग यस बीमा बजारमा हामी सर्वविदितै छौँ होला । नेपालको निर्जिवन बीमा क्षेत्रको कुरा गर्ने हो भने लगभग ९५ प्रतिशत भन्दा बढि बीमालेख बैंकिङ क्षेत्र मार्फत नै प्राप्त हुने कुरालाई नकार्न सकिन्न । जीवन बीमा क्षेत्रको हकमा पनि बैंक तथा वित्तीय संस्था मार्फत प्राप्त हुने जीवन बीमा व्यवसाय उल्लेख्य मात्रामा रहेको पाइन्छ । के बैंक वा वित्तीय संस्था मार्फत प्राप्त हुने बीमालेखहरुको एकद्वार प्रणाली वा संस्थागत अभिकर्ताको रुपमा एजेन्सी लिई कार्य गर्नु मात्रै बैंकास्योरेन्स हो त ?

त्यसो भए बैंकास्योरेन्स के हो ?

Crest

शाब्दिक रुपमा फ्रेन्च शब्दहरु Banque / Assurance को संयोजन भई बैंकासुरेन्स शब्द बनेको हो । मुलतः बैंकास्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरु बिच सहकार्यमा बीमितहरुलाई बीमा सेवा प्रदान गर्ने प्रकृया भन्ने नै बुझिन्छ । सामान्यतया, बीमा कम्पनीहरुले बीमितसम्मको पहुँच प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाको सञ्जाल प्रयोग गरी बढि भन्दा बढि बीमितलाई सेवा प्रदान गर्ने र सो कार्य गर्न दिए वापत बैंक तथा वित्तीय संस्थाले औपचारिक रुपमा कमिसन वा इन्सेन्टिभ प्राप्त गर्ने प्रकृया नै बैंकासुरेन्स हो ।

बीमित तथा बीमा कम्पनीको बिचमा रहि मध्यस्थकर्ताको भुमिकामा बैंक तथा वित्तीय संस्थाले आफ्नो बैंकिङ ग्राहकहरुलाई बीमाको सेवाको लागि पहुँच दिने कार्य गर्दछ । जस अन्तर्गत जीवन बीमा, स्वास्थ्य बीमा, ऋणीहरुको धितो बीमा, ऋणको प्रत्याभुति बीमा, जस्ता बीमालेखहरु बाट बैंक वा वित्तीय संस्थाका ग्राहकलाई बीमाको सम्भावित ग्राहक बन्नका लागि प्रोत्साहन गरिएको हुन्छ । उपरोक्त बीमालेखहरु बैंकका ग्राहकले बैकिङ च्यानल मार्फत नै खरिद गरेमा बैंकले गैर बैकिंङ आम्दानीको रुपमा अतिरिक्त आय प्राप्त गर्न सक्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरु भौगोलिक रुपमा पनि धेरै भन्दा धेरै ग्राहकहरुको पहुँचमा पुग्न आफ्ना शाखा सञ्जालहरु व्यापक रुपमा विस्तार गरेका हुन्छन् । औपचारिक रुपमा आर्थिक कारोबार गर्न पनि बैंक नभइ नहुने भएकाले पनि धेरै भन्दा धेरै व्यक्ति तथा संस्थाहरु बैंकको सम्पर्कमा रहेका हुन्छन् । ती यावत व्यक्ति तथा संस्थाहरुको नाम, थर, ठेगाना, संम्पर्क सेतु, वार्षिक कारोवार वा आय रकम लगाएतका जानकारी प्राप्त गरी बैंकासुरेन्समा आवद्ध सम्बन्धीत बीमा कम्पनीले आफ्ना बीमासेवाहरुको जानकारी दिने, बीमा साक्षरता अभिवृद्धि गर्ने र इच्छुक व्यक्ति वा संस्थालाई बीमालेख प्रदान गर्ने गर्दछन् ।

बैंकास्योरेन्सको विकासक्रम

बैंकासुरेन्सको अवधारणा पछ्याउँदै जाँदा करिब १९औँ शताब्दी तिर फ्रान्समा बैंक तथा बीमा कम्पनी एक आपसमा सहकार्य गरी बैंकका ग्राहकलाई बीमालेखहरुको बारेमा जानकारी दिई बीमालेख विक्री वितरण गरिएको पाइन्छ । बैंकासुरेन्सको अवधारणा त्यस पश्चात बेल्जियम, स्पेन, इटाली, पोर्चुगल हुँदै युरोपियन राष्ट्रहरुमा फैलिएको पाइन्छ । एसियन राष्ट्रहरुमा भने १९९० पछि वर्षहरुमा मात्र यसको प्रयोग भएको पाइएको छ । भारतमा पनि बीमाक्षेत्रमा नीजि लगानीको लागि १९९०को दशकमा खुला अर्थनीति आए पश्चात नै बैंकासुरेन्स फस्टाएको अवस्था छ । यस अवधारणाको व्यापक प्रयोग भएता पनि बैंकासुरेन्स भन्ने शब्द चाँहि धेरै पछि फ्रान्सबाट प्रचलनमा आएको हो । हाल विश्वभर नै बैंकासुरेन्सको अवधारणा र प्रचलन व्याप्त छ ।

बैंकासुरेन्सका फाइदाहरु के के छन् त ?

१. बैंकास्योरेन्सले बीमा कम्पनीको पहुँच पुग्न नसकेको क्षेत्रमा समेत बीमा सचेतना अभिवृद्धि गर्न सघाउ पुर्याउँछ ।

२. बीमा सेवा लिन चाहेका तर भौगोलिक कारणले टाढा रहेका कारण कागजी प्रकृया, बीमाशुल्क तथा दावी भुक्तानी प्रकृया, ग्राहक पहिचान सम्बन्धी कठोर कार्यविधिहरुलाई बैंकास्योरेन्सले सरलीकृत रुपमा सेवा प्रदान गर्दछ ।

३. बीमा कम्पनीले बैंकको सञ्जाल र वर्षौं देखिको साख प्रयोग गर्न पाउने भएकोले सम्भावित ग्राहकहरुलाई समेत भरोसा प्राप्त हुन्छ ।

४. बैंकको सिफारिस प्रयोग भएको कारण बीमितले दावी पेश गरेको अवस्थामा बीमा कम्पनीले छिटो छरितो सेवा प्रदान गर्ने कुराको प्रत्याभुति हुन्छ ।

५. बीमितको खातामा तत्काल रकम नरहेको अवस्थामा धितोको बीमा वा बीमितको अनुरोधमा अन्य बीमा सेवा गरिद गर्न बैंकले उधारो/क्रेडिट/ओभरटर्न गरी बीमाशुल्क भुक्तानी गरिदिन सक्नेछ ।

६. बीमाको नियम बमोजिम जमिनमा आधारित केहि जोखिमहरुको स्थलगत निरिक्षण गरेर मात्र बीमा गराउनुपर्ने प्रावधान भएको अवस्थामा बैंकले ऋण प्रदान गर्दाको बखत गर्ने धितो मुल्यांकन प्रतिवेदनलाई समेत मान्न सकिन्छ ।

७. बैंकिङ तथा बीमा सेवाको एकद्वार प्रणाली हुने भएको झन्झट रहित सेवा प्राप्त हुन सक्ने ।

८. बैंकास्योरेन्सले गर्दा बीमाका प्रकृयाहरु प्रभावकारी र मितव्ययी हुने हुँदा बीमा कम्पनीहरुलाई पनि आर्थिक रुपमा फाइदा हुन्छ ।

बैंकास्योरेन्सका बेफाइदाहरु के के छन् त ?

१. कुनै विशेष प्रकारका बीमालेखहरु बैंकासुरेन्स मार्फत मात्रै गर्दा बीमा जोखिमको पूर्ण आंकलन हुन नसक्ने । जस्तै ठुलो राशीको जीवन बीमा, चल सम्पत्तिहरु, नैतिक जोखिम (मोरल हजार्ड), आदी

२. बैंकास्योरेन्स सेवा प्रदान गर्ने बैंकका कर्मचारीहरुमा बीमा सम्बन्धी आवश्यक सम्पुर्ण ज्ञान नहुँदा अपूरो जानकारी वा गलत जानकारी -Misselling_ प्रवाह भई दावीका वखत समस्या हुन सक्ने ।

३. बैंकले कहिले काहिँ आफ्ना कर्मचारीहरुलाई निश्चित परिमाणमा बीमालेख विक्री गर्नैपर्ने व्यवस्था गरिदिँदा, वा बीमा सेवाको प्राथमिकिकरणमा अन्तिममा राखिदिँदा कोर बैंकिङ र बीमामा विचलन (Conflict of Interest) आउन सक्ने ।

४. बैंक र बीमा क्षेत्रका नियामकहरु फरक फरक हुने भएकोले ग्राहकका विवरण, ग्राहक पहिचान संयन्त्र, उपभोक्ता संरक्षण सम्बन्धी कानूनहरु लगाएतका नियामकीय व्यवस्थाले सेवा प्रावहका क्रममा कठिनाई हुन सक्ने ।

५. बैंकलाई बैंकिङ प्रायोजनका लागि दिइएको सहमतिलाई बीमालाई दिइएको सहमति मानेर बैंकास्योरेन्सले कार्यहरु गर्दा ग्राहकहरुलाई दुविधा, झन्झट, अनावश्यक फोन, इमेल, एसएमएसहरु, बैंकिङ एपमा आउने बीमा सम्बन्धी अतिरिक्त विज्ञापनहरुले समेत असर पार्न सक्ने ।

नेपालमा बैंकास्योरेन्स र सो सम्बन्धी अन्य नीतिगत व्यवस्था कस्तो छ त ?

नेपालको बैंकास्योरेन्स सम्बन्धी छुट्टै विशेष व्यवस्था नगरिएता पनि बीमा ऐन, नियमावली र बीमा सम्बन्धी नियामकले समय समयमा जारी गरेका निर्देशिकाहरुले केहि हद सम्म नियमन र सन्चालन भएका छन् । नेपालको हकमा मुलुकीे देवानी संहिता ऐन २०७४ मार्फत करार कानूनका लागि भाग ५ परिच्छेद २, ३, ४, ५ र एजेन्सी करारका लागि परिच्छेद १० को व्यवस्था गरिएको छ ।

एजेन्सी करारको दफा ५९१ बमोजिम, “कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासँग सम्बन्धित विषयमा बाहेक आफ्नो तर्फबाट कुनै काम गर्न प्रतिनिधि (एजेन्ट) भई व्यवसाय सञ्चालन गर्न, तेस्रो व्यक्तिसँग कुनै कारोवार गर्न, त्यस्तो व्यक्ति समक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बिच कुनै किसिमको कानूनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त गरेकोमा एजेन्सी सम्बन्धी करार भएको मानिनेछ।” मुलुकी देवानी संहिता अनुसार व्यक्ति भन्नाले प्राकृतिक र कानूनी दुबै व्यक्तिलाई जनाउँदछ ।

अर्काे तर्फ बीमा ऐन २०७९ को  दफा ९३ को ६ बमोजिम, “कुनै एक बीमकको बीमा अभिकर्ताले सोहि अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न पाउने छैन,” भन्ने व्यवस्था छ । यस दफाको अक्षरशः पालना गर्दा व्यक्तिगत बीमा अभिकर्ता वा संस्थागत भनि नतोकिए पछि दुवै खालको बीमा अभिकर्तालाई दफा लागु हुन जाने देखिन्छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि Principle and Agent को हकमा एक जना एजेन्टले एक मुख्य व्यक्तिलाइ प्रतिनिधित्व गर्ने नै हो । बरु मुख्य व्यक्ति (Principle)को धेरै जना एजेन्ट रहन सक्छन् । तर संस्थागत बीमा एजेन्ट (अभिकर्ता)को हकमा धेरै जना मुख्य व्यक्तिहरुको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था अधिकांश राष्ट्रहरुमा छन् ।

बैंकास्योरेन्सको नाममा भएका केहि त्रुटिहरुः

तत्कालिन अवस्थामा बैंकहरुले आफ्ना शाखा प्रबन्धक तथा कर्मचारीहरुलाई निर्जिवन बीमा र जीवन बीमाको टार्गेट दिएरै व्यापार गर्न लगाए पछि नेपाल राष्ट्र बैंकले सो गलत अभ्यास रोक्न हस्तक्षेप गर्नु परेको थियो । बैंकका कर्मचारीहरुले बीमा कम्पनीहरुको निक्षेप बढि भन्दा बढि संकलन गर्नकै लागि बैंकका ग्राहकहरुलाई अतिरिक्त बीमालेख खरिद गर्न बाध्य गर्ने परिपाटि समेत बढेको थियो ।

साथै एकै व्यक्ति धरै जीवन बीमा कम्पनीहरुको एजेन्ट बनी अतिरिक्त लाभका लागि बीमा कम्पनीहरु सँग व्यवसायको लागि बार्गेनिङ गर्ने अवस्थाको सिर्जना भएपछि बीमा प्राधिकरणले पनि हस्तक्षेप गरी नीतिगत रुपमै एक भन्दा बढि बीमकको एजेन्ट बन्न नपाउने व्यवस्था बीमा ऐनमा गरिदिएको हो ।

नेपालको बैंकास्योरेन्समा छुटेका पक्षहरुः

नेपालमा बैंक तथा वित्तीय संस्थाले संस्थागत बीमा अभिकर्ताको अनुमति पत्र प्राप्त गरी विशेषत ऋणीहरुको बीमालेखको निरन्तरताको लागि बीमा कम्पनीहरुसंगको सहकार्यलाई मात्र बैंकासुरेन्स कार्य भनि सञ्चालन गर्दै आइरहेका पाइन्छ । साधारणतया बैंकले बीमा कम्पनीलाई बीमा एजेन्सीको आधारमा बीमालेख विक्रीवितरण गर्ने प्रचलन छ । बैंकासुरेन्सका अन्य सबै सेवा तर्फ बैंक तथा बीमा कम्पनीहरु अनभिज्ञ हो कि जस्तो पनि देखिन्छ । अर्काेतर्फ यसको छुटेको पाटो तिर बैंक तथा बीमा कम्पनीहरुको  ध्यान आकृष्ट हुनु पनि जरुरी छ । जस्तैः

क. बैंकिङ च्यानल प्रयोगको सुनिस्चितता

ख. ऋणी भन्दा बाहेकका हरुको पनि जीवन तथा निर्जिवन बीमालेख जारी हुने व्यवस्था

ग. दावी परेको बखतमा सरसल्लाह देखि दावी कागजातको सहज प्राप्ती

घ. बैंकासुरेन्स सहकार्य गर्ने कम्पनी बिच गोपनियता सम्बन्धी करार गरी केवाईसी लगाएतका सुचना आदानप्रदानको व्यवस्था

ङ. बैंकासुरेन्स बिभागमा कार्यरत बैंकका कर्मचारीहरुमा बीमा सम्बन्धी तालिम र क्षमता अभिवृद्धि कार्यक्रम

च. बीमित ऋणीहरुको ऋण समाप्ति पछि पनि बैंकबाट बीमालेख अनवरत नविकरण हुने व्यवस्था

छ. पहिल्यै दावी परिसकेका जोखिमको बीमा हुनबाट रोक्नका लागि उचित संयन्त्रको निर्माण

अबको बाटो कता तय गर्ने त ?

भारतकै उदाहरण लिउँ, भारतकै बीमा नियामक आइआरडिएआइले २००३  मा र बैंक वित्तीय संस्था नियामक रिजर्व बैंक अफ इन्डियाले सन् २०१६  मा बैंकास्योरेन्स सम्बन्धी विभिन्न नीतिहरु पारित गर्दै संस्थागत अभिकर्ताको रुपमा बैंकले एक भन्दा बढि बीमा कम्पनीको एजेन्ट भई कारोवार गर्न पाउने व्यवस्था गरिदिएको छ । बैंकका ग्राहकहरुलाई पनि बैंकले सिफारिस गरेका बीमा कम्पनी मध्ये कुनै एकलाई छान्न पाउने उपभोक्ता अधिकार सुनिस्चित गरिदिएको छ ।

बैक, वित्तीय संस्था र बीमा कम्पनीहरु संसारभर नै स्वभाविक रुपमा धेरै नियमन भित्र पर्ने निकायहरु हुन् । त्यहा राम्रो संस्थागत सुशासन र सामुहिक निर्णय प्रणाली हुने भएकोले अभिकर्ताको रुपमा कार्य गर्दा नियामककै परिधिभित्र रहि व्यवसाय गर्ने गर्दछन् । नेपाल बीमा प्राधिकरणको तर्फबाट पनि बैंकासुरेन्सको विकास गर्नका लागि पनि एक एजेन्ट एक बीमा कम्पनीको अवधारणाबाट अब भने अगाडी बढ्ने बेला भएको समयको माग छ । बरु नियमनका दायराहरु कसिलो बनाई गलत कार्यबाट रोक्ने तर्फ हामी अगाडी बढ्नु पर्ने बेला भएको छ नकि कानूनको श्रोतमै रोक लगाउने कार्य ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS