काठमाडौं । संघीय संसद अन्तर्गत अर्थ समितिमा छलफलको क्रममा रहेको बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई चाँडै नै टुंगो लगाउने तयारी भएको छ ।
२०७५ सालमै दर्ता गरिएको विधेयकमाथि मंगलबार अर्थ समितिमा छलफल भएको हो । विधेयकमा हालको बीमा समिति खारेजी गरी बीमा प्राधिकरण गठन गर्ने प्रस्ताव गरिएको छ ।
बीमा समिति खारेजी गरिएपनि समितिको बहालवाला अध्यक्ष तथा सदस्यहरु नयाँ ऐन लागू भएपछि स्वतः प्राधिकरणको अध्यक्ष र सदस्य रहने गरी विधेयकको मस्यौदा तयार पारिएको छ । उनीहरुको शुरुको कार्यकाल अनुसारै बाँकी कार्यकाल प्राधिकरणमा रहन पाउनेछन् ।
त्यस्तै बीमा समितिमा रहेका कर्मचारी पनि स्वतः प्राधिकरणको कर्मचारीमा परिणत हुने व्यवस्था गरिएको छ।
छलफलका क्रममा रहेको बिमा विधेयक २ दिनभित्र टुङ्गाएर संसदमा पेश गर्ने तयारी गरिएको अर्थ समितिका एक सदस्यले जानकारी दिएका छन् । प्रस्तावित विधेयकमाथि छलफलको लागी बिहीबार पुनः अर्थ समितिले बैठक आह्वान गरेको छ ।