दुई वटा सर्भेयर रिपोर्ट बनाउनेलाई समितिले नियन्त्रण गर्नु पर्छ, संघका अध्यक्ष ढकालसँगको अन्तर्वार्ता

काठमाडौं । दाबी भुक्तानीमा सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह गर्ने सर्भेयरहरु आफ्नो आचारसंहिमतामा अडिग हुन नसक्दा दाबी भुक्तानीमा समस्या देखिदै आएको छ । समिति सर्भेयर हुँदा बजारमा उनिहरुको मनोमानी बढेको भन्दै समितिले यसै वर्ष ११ सय भन्दा धेरैलाई सर्भेयरको लाइसेन्स पनि दियो । बजारमा नयाँ सर्भेयर आए पनि उनिहरुले राम्रो सँग काम पाउन सकिरहेका छैनन् । अर्को तर्फ कतिपय सर्भेयरले आफ्नो पारिश्रमिक पनि पाउन नसकेको कुराहरु बाहिरिएका छन् । यसै सन्दर्भमा रहेर इस्योरेन्स खवरका अरुण सापकोटाले बीमा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालसँग गरेको कुराकानीको संम्पादित अंश ।

दाबी भुक्तानीमा सर्भेयरको सबैभन्दा ठुलो भुमिका रहन्छ । बीमा कम्पनीहरुले सर्धै सर्भेयरलाई दोष देखाउदै दाबी भुक्तानी ढिला भएको बताउछन् । वास्तवमा दोषी को हो ?

सर्भेयरलाई दोष लगाउन सजिलो छ, किन कि हामी बोल्दैनौ । वास्तवमा दाबी भुक्तानी प्रक्रिया सजिलो छैन । त्यसैले म कसैलाई दोषी देखाउन चाहन्न । यहाँ दोष परिस्थितिको हो ।

म सबैभन्दा पहिला बीमाको दाबी भुक्तानीको प्रकृयाँ बताउन चाहन्छु । बीमितले आफ्नो सम्पत्तीको बीमा गर्नका लागि कुनै अभिकर्ता वा आफै कम्पनीमा उपस्थित भएर प्रक्रिया अगाडी बढाउछ । बीमितले आफ्नो प्रक्रिया अगाडी बढाइसके पछि बीमा कम्पनीले नियम अनुसार सम्पत्तीको मूल्याङ्कन गरेर बीमा गर्दछ । यसमा सबैभन्दा महत्वपुर्ण भुमिका अभिकर्ता तथा सम्पत्ती मूल्याङ्कन कर्ताको हुन्छ । उनिहरुले प्रत्यक्ष रुपमा सम्पत्तीलाई देखे पछि मात्रै बीमाका लागि सुझाव दिन्छन् । यसरी कम्पनीले नियम अनुसार बीमा गर्दछ ।

दुर्भाग्यवस विभिन्न कारणले बीमितको सम्पत्तीमा क्षति पुग्छ र उसले नियम अनुसार बीमा कम्पनीमा दाबी भुक्तानीका लागि आवेदन दिनुपर्छ । बीमितले दर्ताका अतिरिक्त विभिन्न माध्यम मार्फत आवस्यक कागजपत्र बुझाउनु पर्छ । दाबी भुक्तानीका लागि दर्ता गर्ने वित्तीकै बीमा कम्पनीले सर्भेयर खटाउनु पर्ने हुन्छ । नियम अनुसार सर्भेयरले १५ दिन भित्रमा प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।

सर्भेयरले घटनास्थलको अवलोकनका अतिरिक्त आवश्यक कागजपत्र बुझाउनका लागि अनुरोध गर्छ । तर सबै घटना परिस्थिति एकनासको हुँदैन । मान्छे मरेको होला, दुर्घटनामा परेर अस्पतालको आइसियु तथा बेडमा सुतिरहेको होला । अब हामीले कागजपत्र प्राप्त गर्न सक्दैनौ । कागजपत्र बीना हामीले दाबी भुक्तानीको लागि सिफारिस गर्न सक्दैनौ । यदि कागजपत्र पर्दैन थियो भने हामीले घटनालाई आफैले देखेका छौ, क्षति के कति भएको छ हामीलाई जानकारी हुने भएकाले सिफारिस गर्न केहि गाह्रो पर्ने थिएन । यसमा बीमा समितिले केहि सहजिकरण गरिदिनु पर्ने देखिन्छ ।

यसरी कागजपत्र जुटाउदै प्रतिवेदन तयार पार्दा दुई/तीन महिना हुँदै एक वर्षसम्म पनि लाग्न सक्छ । हामीले सर्भेयर प्रतिवेदन बीमा कम्पनीमा पेश गरे पछि बीमा कम्पनी, सर्भेयर र बीमित विचमा कुरा मिल्दैन । बीमितले सर्भेयरलाई कम मूल्याङ्कन गरिदिएको भन्दै आरोप लगाउछन् अर्को तिर बीमा कम्पनी बढि मूल्याङ्कन निकालेको भन्दै रिसाउछन् ।

यदि बीमा अभिकर्ता वा बीमा पोलिसी खरिदका क्रममा बीमा कम्पनीले बीमितलाई बीमाको विषयमा राम्रो सँग बुझाइदिएको भए बीमितले हामीलाई आरोप लगाउनु हुँदैन थियो र हामीलाई बुझाउन पनि सजिलो हुने थियो ।

बीमा नाफाका लागि गरिदैन । यो उचित क्षतिपुर्तीका लागि हो । यदि बीमितले आफ्नो सम्पत्तीको मूल्याङ्कन बजार मूल्य भन्दा धेरै राखेर गर्नुभएको रहेछ भने सर्भेयरले त्यसलाई मान्दैनन् । त्यस पछि हामीले नै कम मूल्याङ्कन गरिदिएको लगायतका नकारात्मक कुराहरु सुन्नु पर्छ ।

अव दोस्रो चरणमा सम्पत्तीको क्षति कुन कारणले भएको हो भन्ने कुराको मूल्याङ्कन गर्छौ । यदि सिर्जित घटना हो रैछ भने हामी दाबी भुक्तानीका लागि सुझाव दिदनौं । यहि कारणले सर्भेयर चाहिएको हो । घटनाबाट सिर्जना भएको कुराहरुको अनुसन्धान गरेर मात्रै मूल्याङ्कन गरिने भएकाले यसमा सर्भेयरलाई केहि समय लाग्छ ।

क्षतिको विषयमा भएका सबै कुरा बीमितलाई बुझाइसके पछि हामी कम्पनीमा प्रतिवेदन पठाइदिन्छौ र त्यहाँ केहि समस्या देखिदैन । यदि बीमित, सर्भेयर र बीमा कम्पनी दाबी भुक्तानीका लागि राजी भए भने ‘एमेकेबल सेटलमेन्ट’ गर्छौ ।


कतिपय सर्भेयरले बीमा कम्पनीहरुलाई रिजाउनकै लागि कम मूल्याङ्कन गर्ने गरेको गुनासो सुन्न पाइन्छ । जसले गर्दा बीमितले सर्भेयरको रिपोर्ट मान्दैनन् र अर्कै सर्भेयरलाई सर्भे गराउछन् । अव यस्तो अवस्थामा दाबी भुक्तानी प्रक्रियालाई कसरी अगाडी बढाउन सकिन्छ ?
सर्भेयरले काम गर्दै गर्दा नियामक निकायले कुनै एउटा छुट्टै वैज्ञानिक प्रणाली मार्फत हेर्न मिल्ने व्यवस्था गर्नु पर्छ । त्यस पछि यस्ता कुराहरु आफै नियन्त्रण हुँदै जान्छ । साथै यसमा सर्भेयरको आचारसंहिताको पनि कुरा आउछ । सर्भेयरले आफ्नो आचारसंहितालाई सम्झेर काम गर्नु पर्छ ।

कतिपय बीमा कम्पनीहरुले सर्भेयरलाई सेटलमेन्ट अगाडी भोलिका दिनमा परेको बेहोर्छु भन्दै तमसुक गराउने गरेका छन् । सर्भेयर एसोसिएसनले कसैलाई पनि तमसुकमा सहि नगर्नुहोस् भनेका छौ ।

कतिपय बीमा कम्पनीले सानो सानो दाबी भुक्तानीमा सर्भेयरलाई नै संलग्न नगराई फर्च्छ्यौट गराइरहेका छन् । यस्तो गर्दा बीमा कम्पनीले आफैले यसो हेरेर एक लाख रुपैयाँसम्मको दाबीमा ७०/८० हजार दिन्छ । अव तीन चार लाखको दाबीको सर्भे गर्दा नियम अनुसार काट्नु पर्ने काटेर जति तिर्नु पर्ने हो त्यति तिर्न भन्छ । सानो सानो दाबीमा थोरै कट्टा हुन्छ र बीमितले सोचे जत्तीकै पाइरहेको अवस्थामा ठुलो दाबीमा सबै कटाएर आउदा थोरै रकम आउछ । यसले गर्दा बीमा कम्पनीको सर्भे ठिक र वास्तविक सर्भेयरको प्रतिवेदन गलत भन्ने कुरा आउछ । यस्तो अभ्यासलाई रोक्ने दायित्व बीमा कम्पनीको हो ।


त्यसो भए यस्तो अस्वस्थ अभ्यासलाई कसरी न्युनिकरण गर्न सकिन्छ ?

यसमा सर्भेयर आफैले आफैलाई आत्मआलोचना गर्नु पर्छ । सर्भेयरको लाइसेन्स लिदा इन्जिनियरिङ गरेको, चार्टर्ड एकाउण्टेन्ट गरेको, बीमा क्षेत्रमा १० वर्षभन्दा लामो समय काम गरेको हुनु पर्छ भनिएको हुन्छ । यो भनेको कुनै पनि सर्भेयर जिरो लेभलको छैन । सबैजना पढेलेखेको बुझेको व्यक्तित्व हुनुहुन्छ । एउटा पढेलेखेको व्यक्ति, त्यसमा पनि बीमा समितिको प्रचलित ऐन कानुन अनुसार लाइसेन्स प्राप्त गरेको जिम्मेवार व्यक्तिले आफुले गर्न हुने-नहुने कामको बारे सोच बिचार गर्नु पर्छ ।

एउटा सर्भेयरले काम गरेन भने अर्को सर्भेयरकोमा जाने हो । उसले पनि गरेन भने हामी भन्दा बाहिर काम जाने त पक्कै होइन होला । हामीले काम विगारेर कम्पनीलाई रिजाउने भन्दा पनि राम्रो काम गरेर रिझाउनु पर्छ । त्यसैले म सबैलाई के अनुरोध गर्दछु भने काम पाइन्छ भन्दैमा आफ्नो चरित्र नविगार्नुहोस् ।


यसै वर्ष बीमा समितिले दाबी भुक्तानीको वर्षको रुपमा मनाउदैछ । दाबी भुक्तानीमा सबैभन्दा महत्वपुर्ण भुमिका कम्पनी पछि सर्भेयरकै हो । बीमा समितिको यस अभियानलाई पुरा गर्नका लागि अवका दिनमा सर्भेयरको कस्तो भुमिका आवस्यक पर्ला ?

ग्राहकलाई चित्त बुझाउने दुई वटा पाटाहरु छन् । एउटा पाटो बीमितले मागेको पैसा दिनुहोस् विवाद नै हुँदैन । यसमा न त बीमा सर्भेयर चाहिन्छ न त अरु कोहि व्यक्ति नै चाहिन्छ । त्यो बीमा व्यवसाय नै होइन ।

अर्को पाटोमा बीमितले प्राप्त गरेको रकम के कति कारणले प्राप्त गरेको हो भन्ने कुरा होस् । बीमितले अधिकारले प्राप्त गरेको रकम के कति कारण र प्रकृयाबाट प्राप्त गरेको हो भनेर बुझाउन सकियो भने विवाद नै हुँदैन । यस पछि समाजमा सर्भेयरको इज्जत पनि बढ्छ ।

त्यसैले सर्भेयरले बीमितलाई दाबी गरेको रकम के कति कारणले घटेको हो । नियम अनुसार कसरी मूल्याङ्कन गरेको भनेर प्रष्ट सँग बुझाइदिने हो भने विवाद नै हुँदैन र दाबी भुक्तानीमा सहजता हुन्छ ।

तर कतिपय बीमितहरु सर्भेयरले भनेको मान्नु हुन्न । कहिलेकाही यस्तोअवस्था पनि आउछन्, सुरक्षाका लागि हारगुहार पनि माग्नु परेको छ ।

समयक्रम सँगै नोक्सानीको प्रवृत्ती र प्रकृतिमा पनि परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा लाइसेन्स लिएकै आधारमा मात्रै सर्भे गर्ने कि सर्भेयरहरुलाई पनि समय सापेक्ष रुपमा तालिम तथा पुनःर्ताजगीको आवस्यकता पर्ला ?

‘सर्भेयर म्याच्युअर्ड विथ आउट एक्सपिरियन्स’ सर्भेयरले अनुभव हासिल नगरी परिपक्व हुन सक्दैन । बजारमा हिजो भर्खर लाइसेन्स पाएका साथिहरु आउदै छन् । अहिले लाइसेन्स लिनु भएका सर्भेयरहरु आ-आफ्नो बृत्तीविकासका लागि विभिन्न ठाउँमा जान सक्नु हुन्छ ।

यहाँ कोहि आफ्नो नियमित कामका अतिरिक्त सर्भेयरको काम गरिरहनु भएको छ । कोहि सर्भेयर पकेट मनिको जोहो गर्नका लागि काम गरिरहनु भएको छ । कतिपयले पार्टटाइमको रुपमा काम गरिरहनु भएको छ । कतिपय साथिहरु जागिर छाडेर यहि कामलाई पुरा समय दिएर काम गरिरहनु भएको छ ।

यसले के फरक पर्छ त भन्दा हामी बौद्धिक क्षेत्रका मानिसहरु हौ । पकेट मनिको लागि काम गर्ने साथिले भन्दा पार्टटाइम काम गर्ने साथिले धेरै समय दिनु हुन्छ । जति पार्टटाइमा समय दिइरहनु भएको छ त्यो भन्दा धेरै पुर्णकालिन समय दिनु भएका साथिले काम गर्नु हुन्छ । आज सर्भेयरको लाइसेन्स लिएकाले ५ वर्ष पछि स्वत अपग्रेडको लाइसेन्स लिनुहुन्छ । कामै नगरेका साथिहरुलाई अपग्रेड गर्नु हुँदैन ।

सर्भेयरको काम जति धेरै गर्यो त्यति जटिल छ । हामी यस क्षेत्रका विद्यार्थी हौ । हामीले विद्यार्थी सम्झेर सिक्ने काम गर्नु पर्छ । बीमा समितिले पहिला पहिला पुनर्ताजगी तालिम भनेर दिन्थ्यौ । अहिले त्यो छैन । हामीलाई धेरै भन्दा धेरै तालिमको आवस्यकता छ ।

त्यसो भए सर्भेयरको क्षमता अभिबृद्धिको लागि कसको के भुमिका आवस्यक छ ?

यसमा सबैभन्दा महत्वपुर्ण पहिलो भुमिका हाम्रो हो । सच्चिए पनि सच्याए पनि हामी नै हो । अव हामीलाई सपोर्ट गर्नु पर्यो । कसले भन्दा बीमा समितिले, अभिकर्ता संघले, बीमा कम्पनीले सहयोग गर्नु पर्छ । केही बर्ष पहिला हामीलाई समय समयमा तालिम प्रदान हुन्थ्यो, तर हाल त्यो भैरहेको छैन । बीमा समितिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको तालिम दिनु पर्छ ।

बीमा समितिले एकै पटक १२ सय हाराहारीलाई लाइसेन्स दिएको छ । यसले बीमा क्षेत्रमा सकारात्मक नकारात्मक के कस्तो प्रभाव पार्ला ?

यो राष्ट्रिय चुनौती हो । पछिल्लो समय नयाँ लाइसेन्स लिनु भएका कतिपय साथिहरु पछिसम्म टिक्न सक्ने सम्भावना भएका हुनुहुन्छ । बीमा कम्पनीहरुले सर्भेयर छान्ने क्रमलाई हामी के पनि बोल्दैनौ । जो साथीहरुले राम्रो काम गर्न सक्नुहुन्न उहाँहरुलाई बीमा कम्पनीले नै लिन मानिरहेको छैन । तर हिड्ने मान्छे नै लड्छ भने जस्तै कामको शिलशिलामा केहि समस्या आयो भने हामी सक्दो प्रयास गर्छौ ।

बीमा समितिले १२ सय भन्दा धेरैलाई नयाँ लाइसेन्स दिइसकेको छ । तपाईले माने पनि नमाने पनि उहाँहरु तपाईको एसोसिएसनमा सदश्य बन्न योग्य भइसक्नु भयो । अव उहाँहरुको संरक्षणका लागि तपाईहरुको भुमिका कस्तो रहला ?

बीमा समितिले लाइसेन्स दिनु भन्दा अगाडी एउटा कार्यक्रममा बीमा कम्पनीहरुले हाम्रोमा दैनिक ८ सय भन्दा धेरै दाबी पर्ने भएकाले अहिले भइरहेका सर्भेयरले भ्याउनु हुन्न भन्नु भएको थियो । हामीले भ्याउदैनौ भनेरै साना साना दाबीलाई बीमा कम्पनीहरु आफैले दाबी फर्च्छौट गर्ने भनिएको थियो ।

बीमा समितिले पनि सर्भेयरको संख्या धेरै कम भयो जसले गर्दा राम्रो काम हुन सकेन भनेर निष्कर्ष निकालेको थियो । त्यस पछि बीमा समितिले तालिमका लागि आह्वान गर्दा एकै पटक ११/१२ सयको आवेदन पर्यौ ।

तत्कालिन अवस्थामा बीमा समितिले नयाँ सर्भेयरले लाइसेन्स लिनु अगाडी बीमा कम्पनीमा इन्ट्रनसिप गर्नु पर्ने व्यवस्था गर्यो । तर कतिपयको विरोध पछि समितिले यसलाई कार्यान्वयन गर्न सकेन । कतिपय सर्भेयरले इन्ट्रनसिप गर्नु पनि भयो ।

हामी एसोसिएसनमा भएका धेरै साथिहरुले नयाँ साथिहरुलाई तालिम दियौ । काम सिकायौ । अहिले सर्भेयर एसोसिएसन अन्तर्गतका साथिहरुको फर्ममा ४५ जनाले काम गरिरहनु भएको छ । अव हाम्रो सोच के छ भने यहि बैशाखमा एसोसिएसनमा आवद्ध हुनका लागि आह्वान गर्छौ । संघठनमा भएका साथिहरुलाई संरक्षण गर्ने कर्तब्य हाम्रो हुन्छ ।

बीमा कम्पनीहरुले तपाईहरुलाई करोडौ रुपैयाँको शुल्क भुक्तानी गर्न बाँकी रहेको भन्दै बीमा समिति समक्ष सहयोगका लागि अपिल गर्नु भयो । किन यस्तो अवस्था आयो ?

सर्भेयरले बीमा कम्पनीको तर्फबाट भन्दा पनि स्वतन्त्र पुर्वक मूल्याङ्कन गर्ने हो । हाम्रो काम बीमा कम्पनी वा बीमितको पक्षबाट प्रतिवेदन बनाउने भन्दा पनि दुबैको विचमा बसेर स्वतन्त्र पुर्वक प्रतिवेदन बनाउने हो । अहिले सबैभन्दा धेरै पिडित हुनु परेको छ । कम्पनीले पैसा नै नदिए पनि काम पाइरहेको छु भन्ने हिसावले साथिहरु चुप लागेर बस्नु भएको थियो । तर सधै चुप लागेर बस्दा पैसा नपाउने अवस्था आए पछि हामीहरु बोल्न बाध्य भएका हौ ।

शुल्क पाउनका लागि अव के के गर्दै हुनुहुन्छ ?

हाम्रा कतिपय साथिहरुको बीमा कम्पनीमा ५०/५५ लाख रुपैयाँसम्म लिन बाँकी छ । बीमा समितिले कम्पनीहरुलाई बाँकी नराख्नु तत्काल भुक्तानी गर्नु भनिसक्नु भएको छ । बीमक संघमा आवद्ध १९ वटा कम्पनीले सर्भेयरको रकम भुक्तानी गर्न राजी भएका छन् । तर राष्ट्रिय बीमा कम्पनीले अहिलेसम्म मान्नु भएको छैन । हामीले एउटा पत्र पठाएका छौ । उहाहरुलाई ३५ दिन भित्रको अल्टिमेटम दिएका छौ । हाम्रो एसोसिएसनका उपाध्यक्ष ज्यू यसमा लागिरहनु भएको छ ।

तपाईले भन्नु भएको जस्तो एउटा सर्भेयरको प्रतिवेदन चित्त नबुझे अर्को सर्भेयर खटाउने अवस्थामा काम गरिसके पछि शुल्क पाउने मेकानिजम बनाउन सकिदैन ?

सकिन्छ । यसमा बीमा समिति र बीमक संघले पनि केहि पहल गर्नु पर्छ ।

नेपालमा फुल टाइम सर्भेयरको रुपमा काम गर्न कतिको सहज र सम्भव छ ?

नेपालमा सम्भव छ । यसका लागि केहि गाह्रो छैन । मानिसले जहिले पनि पैसा सँग-सँगै प्रतिष्ठा चाहिरहेको हुन्छ । यदि यो पेशा गर्दा मेरो प्रतिष्ठा बढ्छ भन्ने लाग्यो भने उसले यहि क्षेत्रलाई पुर्णकालिन बनाउन सक्छ ।

तर हाम्रो हिजोका केही गलत अभ्यासले हामीलाई कसैले पनि नराम्रो सोच्न पनि सक्छन् । सर्भेयरले सर्भेयर रिपोर्टमा नियमानुसार पैसा काटिदिन्छन् तर उनिहरुले बीमितलाई तिम्रो पैसा यो कारणले काटियो भनेर जानकारी दिदैनन् । त्यस पछि कसरी यसले राम्रो मान्न सक्छ ।

यदि कोहि सर्भेयरले आफुलाई पुर्णकालिन बनाउन चाहन्छ भने बीमा समितिले पनि मूल्याङ्कन गर्ने व्यवस्था गर्नु पर्छ । जुन सर्भेयरले फुल टाइम काम गरिरहेको छ त्यसको ट्र्याकिङ गर्नेदेखि लिएर उसको मूल्याङ्कन सहित काम दिनुपर्छ ।

पार्ट टाइम गरिरहेको सर्भेयरलाई ५ वटा भन्दा बढि फाइल पेण्डिङ भएका भएमा काम दिन नहुने व्यवस्था ठिक हो तर जसले फुल टाइम काम गरिरहेको छ उनिहरुका लागि यस्तो सिमा बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार