IME Life

निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी सुधारका सहज उपायहरु, सर्भेयरलाई जवाफदेही बनाउनु पर्छ

SPIL
NIC ASIA

सुर्य प्रसाद जोशी / शेर बहादुर बुढा

काठमाडौं । निर्जीवन बीमा एक वर्ष अवधिको जोखीम बहन मात्र भएकोले निर्जीवन बीमा गराउन चाहने व्यक्तिले निर्जीवन बीमा क्षेत्रको दावी भुक्तानी प्रक्रियाको सहजता, असहजता बारेमा गहन चासो राखी विष्लेषण गर्नु गर्दछ । सो विश्लेषणको आधारमा नै आफ्नो सम्पत्ति, व्यवसाय वा प्रोजेक्टको बीमा गर्ने वा नगर्ने र कुन कम्पनीमा बीमा गर्ने निधो गर्दछ । जस्तै क्षतिपूर्ति पाइन्छ भन्ने विस्वास हुनेले गाडीको व्यापक (फुल) बीमा गर्छ भने विस्वास नहुनेले गाडी नवीकरणका लागि आवश्यक हुने तेस्रो पक्षको मात्रै बीमा गर्छ | निर्जीवन बीमा दावी प्रक्रियालाई छिटो र पारदर्शी बनाउनका लागि केहि सहज उपायहरु यस प्रकार छन|

Prabhu
Crest

बीमा दावी प्रक्रियामा बीमितको समेत जिम्मेवारीको हदम्याद तोकिनु पर्ने : बीमा गरिएको  दुर्घटनाग्रस्त सवारी साधन वा अन्य सम्पतिको फिल्ड सर्भे नभएसम्म मर्मत/पुनर्स्थापना कार्य नहुने भएकोले प्राय सबै फिल्ड सर्भेहरु समय मै सम्पन्न हुने गरेका छन् | फिल्ड सर्भेका क्रममा बीमितलाई क्षति मुल्यांकनका लागि पेश गर्नुपर्ने कागजातहरुको लिष्ट दिईन्छ | उक्त लिष्ट मार्फत गाडीको ब्लु बुक र मर्मत विल लगायत आवश्यक कागजातहरु माग गरिन्छ । उक्त कागजातहरु समयमा पेश नहुने मुख्य समस्या हो |

बीमा ऐन, नियमावली र बीमा समितिका निर्देशनहरुले दावी फर्स्योट छिटो गर्न समयावधि नै तोकेर बीमा कम्पनी र सर्भेयरका लागि विभीन्न प्रावधानहरु राखेका छन् । तर उक्त प्रावधानहरु बीमितले कागजात पेश गर्नु पर्ने हदम्याद बारे मौन छन् | अर्थात कुनै बीमीत दावी निवेदन पेश गरेर सम्पर्क विहीन भएका कारण दावी फर्छ्यौट हुन नसकेमा समेत सोको जिम्मेवारी बीमा कम्पनी वा सर्भेयरमा नै रहेको हुन्छ | बीमा कम्पनी र सर्भेयरको पहुँच भन्दा निक्कै पर रहेका समस्याहरुका कारण रोकिएर बसेका दावी फाइलहरु बन्द गर्न पाउने हालसम्म कुनै पनि प्रावधान छैन । यसर्थ, लामो समयदेखी अल्झेर बसेका यस प्रकारका क्रोनिक फाईलहरु बीमा समितिबाट सहमति लिई बन्द गर्न पाउने व्यवस्था हुनु पर्छ ।

सर्भेयरले सर्भे रिर्पोट पेश गर्नुपर्ने १५ दिने हदम्यादमा बैकल्पिक व्यावस्था समेत हुनु पर्ने: बीमा नियमावली २०४९ ले बिकल्परहित रुपमा सर्भेयरले सर्भे रिपोर्ट पेश गर्नु पर्ने हदम्याद १५ दिन तोकेको छ । जायज कारणहरु बिधमान रहेका कारण १५ दिनमा सर्भे सम्पन्न हुन नसक्ने दावीहरुका लागि के बैकल्पिक कार्य प्रक्रिया अपनाउने भन्ने बारे नियमावली मौन छ । जब कि व्यवहारमा कतिपय दावीहरुको सर्भे रिपोर्ट १५ दिनमा तयार गर्न सम्भव छैन । मोटर सर्भेको अन्तिम सर्भे रिपोर्टमा क्षतिग्रष्ट गाडी मर्मतको सक्कल मर्मत विल र क्षतिग्रस्त गाडी मर्मत सम्पन्न भएको फोटो समावेस गर्नुपर्ने हुन्छ । गाडीको च्यासीस फेर्नु पर्ने अवस्थामा च्यासीस आयात र फिट गर्न तिन महिना भन्दा वढी समयावधि लाग्छ । यस प्रकारका दावीहरुमा १५ दिने सर्भे हदम्याद लागु हुन सक्दैन ।

उल्लेखित अवस्थाले गर्दा १५ दिनमा सर्भे रिपोर्ट तयार हुन सक्ने प्रकारका दावीहरु सर्भेयरको ढिलासुस्तीले रोकीएको हो वा मर्मत सम्पन्न गर्ने जायज समयावधि नै १५ दिन भन्दा वढी लागेका  कारण नै सर्भे रोकीएको हो छुट्टीने गरेको छैन । यसकारण १५ दिन भन्दा वढी समय लाग्ने दावीहरुका हकमा सर्भेयरले उपयुक्त तरिकाले यथोचीत म्याद थप गराउन पाउने व्यवस्था आबश्यक छ । अन्यथा ढोका डेन्ट मात्र गर्नुपर्ने गाडीको दावी र च्यासीस फेर्नुपर्ने गाडीको दावी  दुवै एकै प्रकारको स्टाटस रिपोर्टका भरमा सर्भेयर संग रोकिएर बसी रहन सक्ने हुन सक्छ |

५ वटाको एक बुंदे निर्देशनको सट्टा सर्भेयरलाइ सोझै जवाफदेही बनाउनु पर्ने : कुनै पनि क्षेत्रमा सक्रिय प्रोफेसनल र कम्पनीका कार्यबोझ लिन सक्ने क्षमता कम बढी हुन्छ | साथै उनीहरुले आर्जन गरेको छवी अनुसार नै कम बढी कार्यबोझ प्राप्त गर्दछन | निर्जीवन बीमा क्षेत्रमा एउटा टाइपिस्ट समेत नराखेका व्यक्तिगत सर्भेयर देखि १५-२० जना टिम मेम्बर रहेका पुराना सर्भेयर र संस्थागत सर्भेयरहरु छन | आफ्नो साख निर्माण गरेका यस प्रकारका सर्भेयरहरु लाइ धेरै बीमा कम्पनीहरुले बढी संख्यामा कार्यादेश गर्नु स्वाभाविक छ |कतिपय सर्भेयरहरु माथि कतिपय बीमा कम्पनीको विस्वास सुन्यमा झरेको अवस्था छ | अर्थात बीमा कम्पनीहरुका लागि केहि सर्भेयरहरु नेगेटिभ लिष्टमा छन |

उल्लेखित वास्स्तविकतालाइ उपेक्षा गरि बीमा समितिबाट प्रत्येक लिस्टेड सर्भेयरसंग ५ (मात्र पाँच) रिपोर्ट बाँकी रहेसम्म थप कार्यादेश नगर्ने एक बुँदे निर्देश गरेको छ | विमितहरुले समयमा कागजात नदिने र च्यासिस फेर्नु पर्ने जस्ता दाविहरुमा स्वाभाविक समय लाग्ने तथ्यहरुका मध्यनजर यो ५ वटाको नियमले कैयन स्थापित सर्भेयरहरुको क्षमता उपयोगविहिन रहेकोछ | अर्को तर्फ एक्लै काम गरि रहेको सर्भेयर सँग २० वटा कम्पनीहरुका ५ वटाका दरले कामको थुप्रो लागेर बसेको पाइन्छ |

यस ५ वटाको हचुवा नियमको सट्टा सर्भेयरले समितिको वेव पोर्टलमा १५ दिन नाघेका दाविहरुको कारण खुनाउन पर्ने व्यावस्था गर्ने लगायतका उपायहरु गरि सर्भेयरलाइ जवाफदेही बनाउन सकिन्छ |

दावी भुक्तानी कार्य प्रक्रियाहरु पुर्व सुचित र व्यवस्थित हुनु पर्ने: नेपालका २० वटा निर्जीवन बीमा कम्पनीहरुका करिव ८०० वटा शाखाहरु मार्फत बार्षिक करिव २० लाख पोलीसी जारी गरी करिव ३० अर्ब प्रिमियम संकलन गर्दै करिव ८ अर्ब दावी भुक्तानी गर्ने गरिन्छ | यहि ८ अर्ब भुक्तानी कार्यप्रक्रियालाइ छितो छरितो र पारदर्शी गरि “क्षति भए क्षतिपूर्ति पाइने रहेछ” भन्ने भावना जनमानसमा जागेमा मात्र निर्जीवन बीमा क्षेत्रको दिगो वृद्धि हुनेछ | यसका लागि दावी भुक्तानी कार्यप्रक्रियाहरु पुर्व सुचीत, पारदर्सी,  व्यवस्थीत र चुस्त हुनु पर्ने हुन्छ । यसको अभावमा दावीको क्षति मूल्याङ्कन कार्य प्रक्रियालाई क्षतिपुर्ति प्रदान नगर्ने वा वास्तवीक भन्दा कम क्षतिपुर्ति दिने सर्भेयर र बीमा कम्पनीको प्रयासको रुपमा दावीकर्ताहरुले लिने गरेका छन |

क्षतिको वास्तवीक क्षतिपुर्ति उपलब्ध गराउनका लागि नै दावी प्रकिृयाहरु सम्पन्न गर्न आवश्यक हुन्छ भन्ने बारेमा निर्जीवन पोलिसी होल्डर बीमितलाइ पुर्व जानकारी दिने कार्य बीमा कम्पनीहरुको सहयोगमा बीमा समितिले गर्नु पर्छ – जस्तै यो जानकारी बीमा समितिको वेवसाइ र बिभिन्न रेडियो/टिभी/यु ट्युब आदिमा राख्ने आदि ।

प्रोफेसनल सर्भेयरले घोषित सहयोगी प्रयोग गर्न पाउनु पर्ने : यथोचित संख्या र यथोचित गुणस्तर को जनशक्ति बिना कुनै पनि क्षेत्रले आशातित परिणाम दिन सक्दैन | छिटो सर्भे सम्पन्न हुन नसक्ने विभिन्न कारणहरुलाइ सामना गर्न बीमा सर्भेयर प्रोफेसनलका लागि सहयोगी जनशक्तिको व्यावस्था हुनु पर्ने देखिन्छ जसरि मेडिकल डाक्टरका लाइ एच ए, हाउस अफिसर, नर्स सहयोगी हुन्छन, सी ए का लागि लेखापाल, बिधार्थी सी ए सहयोगी हुन्छन र इन्जिनियरका लागि ओभरसियर र ड्राफ्ट म्यान सहयोगी हुन्छन | बीमा सर्भेयर प्रोफेसनलका लागि यस प्रकारका सहयोगीको व्यावस्था छैन | यस्तैमा “बीमा सर्भे कार्यमा लाईसेन्सवाला सर्भेयर बाहेक कसैलाई काममा लगाउन नपाउने” बीमा समितिको निर्देशनका कारण अन्य सामान्य सहयोगी समेत सर्भेयरले प्रयोग गर्न नपाउने अवस्था सिर्जना गरिएकोछ | यसरि मोटरसाईकलको हेडलाईट फुटेको दावीमा क्षति आकलन गर्ने अति सामान्य काममा समेत सिनीयर सर्भेयरले या त स्वयम आफै गर्नु पर्ने या त आफु सरहको लाइसेन्सधारिलाइ खटाउन पर्ने विषम अवस्था छ ।

अन्य क्षेत्रमा प्रोफेसनलले सहयोगी उपयोग गरि रहेका देखिन्छन | उपचारत विरामीका लागि नर्सले ब्लड प्रेसर लगायत शरीरका प्यारामिटरहरु लिने कार्य र जाँच गर्ने जुनीयर डाक्टरले हिष्ट्री लिने कार्य आदी कामहरुको जायजा लिई उपचारको अन्तीम निर्णय मुख्य डाक्टरले गर्दछ । लेखापाल र सि.ए विद्यार्थीहरुले तयार पारेको लेखा प्रतिवेदनलाइ चेक गरी सि.ए ले दस्तखत गरी अन्तिम जिम्मा लिन्छ । लेखा परिक्ष्रण क्षेत्रमा दस्तखत गर्ने सी ए ले आफुले अडिट गर्ने सबै कम्पनीहरुमा स-शरीर पुग्नु पर्ने नियम छैन | यस्तै ओभरसीयर र ड्राफ्ट म्यान आदिले तयार पारेको ड्रईङ्ग वा रिर्पोटमा इन्जिनियरले चेक जाच गरि दस्तखत गरि जिम्मा लिन्छ । इन्जिनियरिङ क्षेत्रमा साइट अवलोकनमा ओभरसियर सुपरभाइजर राख्नै नपाइने र सबै साइटमा सिनियर इन्जिनियर स-शरीर पुग्नु पर्ने नियम छैन | तर बीमा सर्भेयरले फिल्डमा सहयोगी खटाउन नपाउने र उसले सबै घटनास्थलमा आफै स्वयम स-शरीर पुग्नु पर्ने नियम लागु गरीएकोछ। यसरी कामको अन्तीम जिम्मेवारी आफैमा रहने गरी डाक्टर, सि.ए. र इन्जिनियरले आफ्नो आवश्यकता अनुसार सहयोगी प्रयोग गर्ने गरेको अन्य क्षेत्रको प्रचलन बीमा सर्भे क्षेत्रमा स्वीकार गरिएको छैन | सो आवश्यक भएकोले  बीमा सर्भेयर सहयोगी जनशक्तिको व्यवस्था हुनु आवश्यक छ ।

६ दिने बीमा सर्भेयर तालिमले प्रोफेसनल सर्भेयर उत्पादन नगर्ने तथ्य : ऐनहरु,  नियमावलीहरु, पोलिसीहरु र समितिका कैयन निर्देशनहरु आदिका आधारमा गरिनु पर्ने बीमा सर्भे कार्य ज्ञानमा आधारित प्रोफेसन हो | हाल नेपालमा इन्जिनियर, सी ए र बीमा प्रोफेसनल हरुलाई ६ दिने तालीम मात्रका आधारमा एकै पटक सर्भे लाईसेन्स प्रदान गरिन्छ । उक्त ६ दिने तालिमका सहभागीले न्यूनतम ज्ञान हासील गर्न सकेको वा नसकेको एकिन गर्न तालिमको अन्तमा परिक्षा समेत लिइदैन | यसरी सेमिनार प्रकारको उक्त तालिमले कुनै दक्ष सर्भेयर उत्पादन नगर्ने तथ्य स्पस्ट नै छ । बीमा सर्भे कार्य अनुभव सुन्य रहेको युवाले ६ दिने तालिमबाट सोझै लाइसेन्स पाई बीमा कम्पनीमा काम माग्न जाने गरेको पाइन्छ | यस प्रकारको कार्य प्रक्रिया कायम रहे सम्म बीमा सर्भे क्षेत्रमा विमितले प्रोफेसनल सर्भे सेवा पाउने आशा गर्न सकिन्न | यसरी नेपालमा सर्भेयरहरुले काम गर्दै सिक्दै गर्ने प्रचलन भएकाले विमितले सिकारु सर्भेयरबाट दुख पाउने र बीमा क्षेत्र प्रति नकारात्मक धारणा बनाउने गरेको पाइन्छ – जस्तै फिल्डमा नै पाउने नपाउने बारे विमितलाइ स्पस्ट नगर्ने र कागजातहरु एकैपटक माग नगर्ने आदि |

६ दिने परिचयात्मक तालिम को सट्टा कोर्षमा आधारित सर्भेयरको परिक्षा हुनु पर्ने : प्रोफेसनल सर्भेयर उत्पादन गर्नका लागि बृस्तित तालिम कार्यक्रम लागु गर्न समय र साधनस्रोत लाग्ने भएता पनि पहिलो चरणमा बीमा सर्भे कार्य सम्बन्धि न्युनतम जानकारी प्राप्त व्याक्तिलाइ मात्र सर्भे लाइसेन्स जारि गर्नका लागि बीमा सर्भेयर परीक्षाको व्यावस्था तत्कालै गर्न सकिन्छ | यसकारण ६ दिने तालिमबाट सोझै लाइसेन्स जारि गर्ने हालको कार्य प्रक्रिया हटाइ कोर्षमा आधारीत दुई चरणको परिक्षाका माध्यमबाट ट्रेनी सर्भेयर लाइसेन्स र सर्भेयर लाईसेन्स जारी गर्नु पर्ने देखिन्छ । परिक्षाको व्यवस्थाले मात्र लाईसेन्स पाउने सर्भेयरले सर्भे कार्य सम्बन्धि न्यूनतम जानकारी हासील गरेको एकिन हुनेछ |

नेपालमा ट्रेनी बीमा सर्भेयर र बीमा सर्भेयर: बीमा सर्भे क्षेत्र ज्ञानमा आधारित व्यावसायिक क्षेत्र हो | यसर्थ यस क्षेत्रको न्युनतम सैधान्तिक जानकारी नभएको कोरा स्नातकले सर्भेयरको काम गर्न सक्दैन र सोझै सर्भेयरको पूर्ण जिम्मेवारी दिन पनि हुदैन | बीमा ऐन, नियमावली, बीमा समिती र विभीन्न पोलीसीहरु आदिका प्रारम्भीक ज्ञान भएको स्नातकले सर्भेयरको सहयोगीको रुपमा मात्र कार्य गर्न सक्छ | यसकारण नियामावली अनुसार सर्भेयर हुन योग्यता पुगेकालाई  बीमा ऐन, नियमावली, बीमा समिती र विभीन्न पोलीसीहरु आदि विभिन्न बिषयहरुमा प्रारम्भीक ज्ञान परिक्षण गर्न सर्भेयरको प्रारम्भीक परिक्षा लिनु पर्ने हुन्छ | प्रोफेसनल बीमा सर्भेयरलाई जनशक्ती कमी नहोवोस र युवाहरुले बीमा सर्भे क्षेत्रमा आफुलाई परिक्षण गर्ने अवसर पावोस भन्ने उद्देश्यका साथ न्यूनतम उत्तिर्णाकं प्राप्त गर्ने सबैलाई प्रारम्भीक सर्भेयर लाईसेन्स प्रदान गरी सर्भे रिर्पोर्टमा अन्तीम दस्तखत गर्ने बाहेक बीमा सर्भेका सबै काम गर्न अनुमति दिन सकिन्छ । यसबाट स्थापित सर्भेयरहरुलाइ सहयोगी जनशक्ति कमि हुने छैन |

प्रारम्भीक सर्भे लाईसेन्स प्राप्त गरेको व्याक्तिले प्रोफेसनल सर्भेयरसंग एक बर्ष काम गर्दा सर्भे काम सिक्नका साथै बीमा सर्भे क्षेत्र आफुलाइ उपयुक्त भए नभएको समेत एकिन गर्ने मौका पाउछ | यसकारण प्रारम्भीक सर्भे लाईसेन्स प्राप्त गरेको एक बर्ष पुगेकाहरु बिचमा गहन र बृस्तित प्रतिष्पर्धात्मक परिक्षा गराए पश्चात मात्र सर्भेयर लाइसेन्स प्रदान गरेमा वास्तव मै कार्य क्षेत्रमा सक्रिय हुनेहरुले मात्र सर्भे लाइसेन्स पाउने सम्भावना रहन्छ | गहन र बृस्तित परिक्षा लिनका लागि गहन पाठ्यक्रम, सर्भे रिपोर्ट तयार गर्न सक्ने सिप र दावी विवाद सुझ्याउन सक्ने कला आदि परिक्षण गर्नु पर्ने हुन्छ |

सर्भेयरको बर्ग वृद्धि परिक्षा: हाल लाइसेन्स लिएको ५ बर्ष १० बर्ष र १५ बर्ष पुगेको एक मात्र आधारमा सर्भेयरलाइ घ बाट ग, ग बाट ख, ख बाट क बर्ग वृद्धि गर्ने गरिन्छ | बीमा क्षेत्रको गुणात्मक वृद्धिका लागि यो उपयुक्त र जायज कार्य प्रक्रिया होइन | यसकारण गठन भएको “बीमा सर्भेयर परिक्षा समिति” ले प्रत्यक बर्ष सर्भेयरको बर्ग वृद्धि परिक्षा संचालन गर्नु पर्ने आबश्यकता छ | घ वर्गमा ५ बर्ष निरन्तर सक्रियले ग वर्ग को सर्भेयर बर्ग वृद्धि परिक्षामा सहभागी हुन पाउने र त्यस्तै ग वर्गमा ५ बर्ष निरन्तर सक्रियले ख वर्गको सर्भेयर बर्ग वृद्धि परिक्षामा सहभागी हुन पाउने र ख वर्गमा ५ बर्ष निरन्तर सक्रियले क वर्गको सर्भेयर बर्ग वृद्धि परिक्षामा सहभागी हुन पाउने व्यावस्था गर्न सकिन्छ | यस प्रकारका व्यावास्थाहरुले मात्र बीमा सर्भे क्षेत्रको व्यावसायिकतामा वृद्धि हुन जानेछ |

उल्लेखित परिक्षाहरुका लागि  बीमा समितिले इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र बीमा सर्भेयर संघ नेपाल दुबैको सहयोग र संलग्नतामा “बीमा सर्भेयर परिक्षा समिति” गठन गर्न सक्छ | बीमा समितिले आफ्नो लागि आवस्यक विभिन्न तहका जनशक्तिका लागि नियमित परिक्षा संचालन गरि रहेकाले सर्भेयरका लागि परिक्षा समिति गठन गर्नु समितिका लागि अप्ठ्यारो/नयाँ बिषय होइन |

निचोडः निर्जीवन बीमाको पहुँच वृद्धि गर्ने एक मुख्य आधार चुस्त र पारदर्सी दावी फछ्र्यौट कार्य प्रक्रिया हो । दावी फछ्र्यौट कार्य प्रक्रियामा सर्भेयरको महत्वपुर्ण भुमीका हुन्छ । हालको ६ दिने परिचयात्मक तालीमका आधारमा सर्भे लाईसेन्स प्रदान गर्ने ब्यवस्थालाई परिमार्जीत गरी परिक्षामा आधारीत चरणबद्ध रुपमा सर्भे लाईसेन्स प्रदान गर्ने र बर्ग वृद्धि गर्ने लगायतका विभिन्न सुधारात्मक व्यवस्था हुन जरुरी छ ।

(बीमा सर्भेयर संघ, नेपालमा आवद्ध जोशी अधक्ष्य र बुढा सदस्य हुन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS