काठमाडौं । बीमा समिति नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय हो । नेपालमा बीमा कारोबार शुरु भएको ७० वर्षभन्दा बढी भइसक्दा पनि करिब ७८ प्रतिशत नेपालीहरु बीमाको प्रभाव बाहिर छन् । चार वर्ष अघि ९३ प्रतिशतभन्दा बढि मानिस बीमाको पहुँच बाहिर रहेकोमा पछिल्लो चार वर्षमा बीमा क्षेत्रमा नयाँ कम्पनीहरुको आगमन तथा बीमा जनचेतनामा उच्च बृद्धिका कारण बीमाको पहुँच चमत्कारिक रुपमा बृद्धि भएको छ । चार वर्ष अघि बीमाको पहुँचमा ७ प्रतिशतमा सीमित रहेको बेला बीमा समितिमा चिरञ्जीवी चाँपागाई अध्यक्षमा नियुक्त भएर आएपछि तीन चार गुणाले बृद्धि भई बीमाको पहुँच २७ प्रतिशत जनताको बीचमा पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको दावी छ ।
बीमाको पहुँचलाई विस्तार गर्ने मुख्य एजेण्डा बोकेर बीमा समिति प्रवेश गरेका अध्यक्ष चाँपागाईले अन्तत आफनो कार्यकालमा उक्त उपल्ब्धि हासिल गरेर बिदाई हुँदैछन् । भोलिबाट एक साता लामो विदामा बसेर आगामी पुस २३ गतेबाट बिदा लिन लागेको चापागाईसँग उनले यस अवधिमा गरेका कामको विवरणहरुको केन्द्रमा रहेर इन्स्योरेन्स खवरकर्मी रिना खत्रीले गरेको कुराकानीः
राष्ट्र बैंकको हुँदाखाँदाको जागिरबाट बीमा समितिमा आउनुभयो । चार बर्षे कार्यकाल सकेर विदा हुँदै गर्दा यसबीचमा हाँसिल भएका उल्लेखनीय उपलब्धिहरु चाँही के–के हुन् ?
बीमा क्षेत्रमा नतिजामुखी काम केही गरौं भनेर म बीमा समितिमा आएको थिए । मैले कति काम गर्न सकेँ भन्ने बिषयमा मैले भन्दा पनि बीमा विज्ञ, पत्रकार र यस क्षेत्रमा रहेका बिशेष व्यक्तित्वहरुले समीक्षा गर्ने कुरा हो । यस अवधिमा मैलै गरेका कामको बिषयमा समिक्षा गर्ने जिम्मेवारी उँहाहरुलाई नै दिन्छु । बीमा क्षेत्रमा म आउनुपूर्व बीमा क्षेत्रको अनुसन्धान र अध्ययनको काम कमै हुने रहेछ । यस अवधिमा बीमा क्षेत्र भित्र हामीले चार वटा बिषयमा अध्ययन गरिसकेका छौ ।
मैले मेरो कार्यकालमा पुनर्बीमा, बीमा क्षेत्रको विस्तार, कोभिड–१९ को असर र बीमा बजारमा कति कम्पनीहरुको आवश्यकताको बारेमा अध्ययन गराएको छु । समग्र रुपमा भन्नुपर्दा मैले मेरो कार्यकालमा नतिजामुखी धेरै कामहरु भएका छन् । आफ्नै गतिमा सुस्ताउँदै गरेको बीमा क्षेत्रलाई दौडने अवस्थामा पुर्याए जस्तो लाग्छ ।
यस अवधिका तथ्यांकहरु हेर्दा बीमाको दायराको वृद्धि होस् अथवा कूल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान होस, रोजगारी, कानुनी संरचना, बीमा क्षेत्रमा तालिम केन्द्र, लगायत संस्थागत सुशासन कायम गर्नका लागि समितिले जारी गरेका निर्देशनहरु, यी सबै हेर्दाखेरी म चाँहि आफ्नो कार्यबाट सन्तुष्ट छु । बाँकी मूल्याङ्कन र समीक्षा गर्ने जिम्मेवारी तपाईहरुलाई नै दिन्छु ।
नेपालको बीमा क्षेत्रको समीक्षा गर्दा तपाई बीमा समितिमा नियुक्त भएर आँउदा र अहिलेको अवस्थामा के फरक ?
म बीमा समितिमा प्रवेश गर्दा बीमाको दायरा थोरै मात्र थियो । बीमाको बारेमा कमैलाई मात्र ज्ञान थियो । नागरिकमा बीमा चेतना कमी थियो । जीवन बीमा क्षेत्रको हकमा कुरा गर्दा अभिकर्ताप्रति बीमितहरुको विश्वश्वनीयताको कमी थियो ।
जीवन बीमा क्षेत्रमा आवद्ध बीमा अभिकर्तासँग भेट नै नभएपनि हुन्थ्यो भन्ने अवस्था थियो । निर्जिवन बीमा क्षेत्रको बारेमा कुरा गर्दा अनिवार्य बीमा (तेस्रो पक्षको बीमा) किन गर्ने भन्ने बीमितहरुमा प्रश्न थियो । नियमनकारी निकाय बीमा समितिको अध्यक्ष हुँ भनेर चिनाँउदा समेत गर्व गर्न पाउने स्थिति थिएन् । राष्ट्रिय बीमा संस्थान र बीमा समिति बीच फरक छुटाउन नसक्ने अवस्था थियो ।
बीमा क्षेत्रमा कम नै मात्रामा आर्थिक पत्रकारहरुले कलम चलाउने गर्दथ्यो । तर आजको दिनमा उक्त दिनको अन्त्य गराएको महसुस गर्दछु । यो पनि एउटा परिवर्तन हो । जनतालाई बीमा सचेतना कार्यक्रम चलाउन, पत्रकार, बीमा कम्पनी र बीमा समिति सबै एकजुट भएर लागेको छौं । एकताबद्ध गर्न सफल हुनु पनि एउटा सफलता हो जस्तो लाग्छ । नागरिकमा बीमाप्रतिको विश्वसनियता बढेको छ । त्यो विश्वसनियता बढेकै कारण ७ प्रतिशतबाट बीमाको पहुँच २७ प्रतिशतसम्म पुगेको अवस्था छ ।
अहिले गाउँ–गाउँमा बीमाको बारेमा चर्चा भइरहेको छ । घुम्त्ती बीमा कार्यक्रम लागू भएको छ । कृषि बीमालाई देशैभरि व्यापकता प्रदान गरिएको छ । यी सबै कुराहरु बीमा क्षेत्रमा भएका परिवर्तनहरु हुन् । के कस्ता कामहरु भए भनेर हेर्ने मापकहरु पनि तिनै हुन् । हामीले घुम्ती बीमा अनिवार्य गरेका छौ । प्रत्येक कम्पनीहरुले घुम्ती बीमाको निर्देशनलाई अनिवार्य रुपमा पालना गरेका छन् । यसले पनि एउटा नतिजा दिएको अनुभूति हुन्छ ।
बीमा क्षेत्रमा अर्को महत्वपूर्ण काम भनेको लगानी निर्देशिका थियो । उक्त कार्यलाई पनि मैले सहज रुपमा अघि बढाएको छु । लगानी निर्देशिकाको कारण बीमा कम्पनीहरुले अन्य क्षेत्रमा समेत लगानीको दायरा बढाउन सफल भएका छन् । हिजोको दिनमा बैंकको मुद्धती निक्षेपको भरमा चलेका बीमा कम्पनीहरुले लगानीको दायरा पनि बढाउदै जाँदा आज दर्जनौं क्षेत्रमा लगानी भइरहेको छ ।
नयाँँ कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको विषयलाई लिएर बजारमा आलोचना भएको थियो ? यस अवधिमा फर्केर हेर्दा लाइसेन्स दिएको बिषयलाई कसरी हेर्नुभएको छ ?
सुरुमा यस बिषयमा बढी नै आलोचना भएको थियो । नयाँ लाइसेन्स दिने क्रममा मैले विभिन्न आरोप समेत खोप्नुपरेको थियो । निकै लामो समयेदखि कम्पनी रजिष्ट्रार कार्यालयमा पेन्डिङमा रहेका कम्पनीहरुलाई अध्ययन गरेर उक्त समयमा लाइसेन्स दिएका थियौ ।
नयाँ कम्पनीको प्रवशेसँगै बीमा क्षेत्रमा प्रतिस्पर्धाको कारण व्यवसायमा समेत वृद्धि हुँदै गएको देखिएको छ । नयाँ कम्पनीहरुको वित्तीय विवरणमा पनि निकै सुधार हुँदै गएको प्रत्यक्ष रुपमा हामी देखिराखेका छौ । यसले एउटा नतिजा दिएको कुरा त सत्य हो जस्तो लाग्छ । कल्पना गरौं त नयाँ कम्पनी थप नगरेको भए, बीमाको अवस्था उही ७ प्रतिशतमा रहन पनि सक्दथ्यो ।
बीमा क्षेत्रमा जिडिपी बढाउने काममा पनि नयाँ कम्पनीहरुको उल्लेख्नीय भूमिका रहेको छ । त्यस्तै यसले बीमा चेतनामा समेत थप मद्दत पुगेको छ । राष्ट्रिय पुँजि निर्माणले यसले भूमिका खेलेको कुरालाई आत्मसात गर्नैपर्छ जस्तो लाग्छ ।
बीमा समितिको अध्यक्ष हुन ठूलो धनराशी खर्च गनुपर्ने परिपाटी छ भन्छन् ? तपाईले के गर्नुभएको थियो ? के यो वास्तविकता हो ?
मैलै यो समस्या भोग्नु परेको छैन । भोगेको भए पक्कै जानकारी हुन्थ्यो । यो क्षेत्रमा काम गर्न बैंकिङ् र बीमा क्षेत्रसँग नजिक भएको व्यत्तित्व नै आवश्यक पर्दछ । मैले राष्ट्र बैंकमा लामो समय बिताएको थिए त्यसैले यो अवसर पाएको थिए । यदि ठूलो धनराशी खर्च गरेर आउने भएको भए वित्तीय क्षेत्र बाहिरका व्यक्ति पनि प्रवेश गथ्र्यो होला । त्यसकारण यस्तो कुरामा कुनै सत्यता छैन । नियमन गर्ने निकायमा आउने व्यक्ति भएकोले अनेकन आक्षेप, आफू अनुकूलको व्याख्या हुन्छ, त्यस्तो गरिनु गलत छ ।
तपाईलाई पनि बीचमा हटाउने ठूलो खेल भएको थियो नि ?
म संघर्षमा बढी विश्वास गर्ने मान्छे हुँ । जीवनमा बेलाबेलामा यस्ता आरोह अवरोहहरु आईरहन्छ । त्यसलाई कसरी पार गर्न सकिन्छ भनेर सोच्नुपर्छ । उक्त समयमा मलाई दक्षता र योग्यताको बिषयलाई लिएर प्र्रश्न गरियो । यस बिषयलाई म विरुद्ध अदालतमा मुद्धा हाल्ने काम भएको थियो । नयाँ बन्दै गरेको बीमा ऐनमा मलाई स्पेश नहुने गरी मस्यौदा बन्यो । उक्त समयमा राजिनामा दिउँ कि भन्ने सोच पनि नआएको भने हैन । तर यसो गर्दा लडाईको मैदानबाट भागेको जस्तो हुन्छ भन्ने लाग्यो । लडाई लड्न आएको सिपाही मैदान बाहिर जानुहुदैन भन्ने सोच बनाएर लडे ।
नेपाल सरकारले चार बर्षको कार्यकालको जिम्मा दिएपछि मैले यो मैदानमा लड्नु नै पर्छ भनेर लडेको थियो र यो कामबाट मैले सफलता हात पनि पारे । करिब २ महिना मलाई मानसिक दबाब दिने काम भयो । त्यसलाई पार गर्दै चार बर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरी अब छिट्टै बिदा हुँदैछु ।
नेपालमा अब थप जीवन र निर्जिवन बीमा कम्पनी खोल्नु आवश्यक छ वा छैन ?
यस बिषयमा मैले नबोल्दा नै ठिक हुन्छ होला । मैले आवश्यक छ वा छैन भन्द पनि बजारको अवस्था बुझेर बिश्लेषण गर्दा ठिक हुन्छ होला । लाइसेन्स हाम्रो अहिलेको नियम अनुसार सिफारिस गरेर बीमा समितिले अर्थ मन्त्रालयमा पठाउने हो । सोही कारण बीमा कम्पनीलाई लाइसेन्स दिने विषय भनेको बीमा समितिको भन्दा पनि नेपाल सरकारको विषय हो ।
चार बर्षको कार्यकालाई फर्केर हेर्दा तपाईलाई आफनो कार्यकालमा गरेको सबैभन्दा उपल्बधीमूलक काम के लाग्यो ?
बीमा क्षेत्रको सुशासन कायम गर्नको लागि जोखिममा आधारित पूँजी र जोखिममा आधारित निरिक्षण प्रणाली लागू गरियो । बीमाको पँहुच २७ प्रतिशतमा पुराएको छु । जनताको पहुँच र नियमनको दृष्टिकोणबाट यी दुवै महत्वपूर्ण कुराहरु हुन् । यसका साथै एनएफआरएस लागू गरियो । यो दुबै काम भनेकोे बीमा बजारमा सुशासन कायम गर्नको लागि भएको छ ।
बीमाको विकास र बिस्तारका लागि स्थानीय तहसँग बीमा समिति, विद्यार्थीहरुसँग बीमा समिति तथा सरोकारबाला निकायसँग बीमा समिति भन्ने कार्यक्रम गर्यौं, त्यो पनि सम्झनलायक बीमाको जनचेतना फैलाउने गतिविधिमा पर्छन् । अनवार्य घुम्ती बीमा, लगानी निर्देशिका, अनुसन्धान र रिसर्चका कामहरु सायद उपल्बधिमूलक नै हुन् ।
तपाईले आफ्नो कार्यकालमा पूरा गर्न बाँकी रहेका कामहरु के छन् त ?
निरिक्षण प्रणालीको कार्यविधि बनाएर कर्मचारीहरुलाई तालिम समेत दिइसकेका छौँ । तर खाली हामीले बीमाका कर्मचारीहरुलाई तालिम दिन बाँकी थियो । कोभिडको कारणले हामीले कार्यक्रम गर्न पाएनौ ।
बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने काम बाँकी नै रह्यो । चाहे त्यो रि इन्जिनियरिङ नै गर्न परोस वा चाहे त्यो जनशक्तिको हिसाबले होस्, भौतिक संरचनाका हिसाबले होस्, अथवा सूचना प्रविधिका हिसाबले होस् त्यो काम गर्न बाँकी छ ।
कोरोना बीमामा हामी कहाँ चुक्यौ, बीमितले अझै भुक्तानी किन पाउन सकेका छैनन् ?
कोरोना बीमामा हामीहरु चुकेका छैनौ । कोरोना बीमा नितान्त बीमाको सिद्धान्त भित्रको बीमा होइन । यो त सामाजिक सुरक्षा अन्र्तगतको बीमा हो । बीमा कम्पनीहरु सबैले योगदान गरेर सामूहिक रुपमा राहत दिऊ भनेर अघि सारिएको बीमा योजना हो । यसमा धेरै दावी परेको छ । कम्पनीहरुमाथि धेरै दावीको भार पर्छ कि भन्ने पनि छ । हामीले कोरोना बीमा मापदण्ड २०७७ बाट सबैको दायित्वको सीमा निर्धारण गरेका छौं । सीमाभन्दा बढि दायित्व नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाएका छौं ।
यस सामाजिक सुरक्षामा बीमा समिति आफै पनि जोडिएको छ । तपाईहरुले कोरोना बीमा मापदण्ड हेर्दा थाहा पाउन सक्नुहुनेछ । साढे तीन अर्ब फण्ड मध्येमा एक अर्ब त बीमा समितिले आफ्नो फण्डबाट नै राखेका छौ । कोरोना महामारीमा सामूहिक रुपमा राहत दिन सामूहिक रुपमा ल्याइएको राहतको प्याकेजको रुपमा बुझ्दा राम्रो हुन्छ । बीमा गरेपछि पैसा नपाउने भन्ने प्रश्नै उठ्दैन । बीमा दावी भुक्तानीको निश्चित प्रक्रिया हुन्छ । त्यसैले सोही प्रक्रियाहरु पूरा गर्न केही समय लागेको थियो । अहिले सबै सिष्टममा आईसकेको छ । दावी भुक्तानीले तीव्रता पाइसकेको छ ।
अहिले नपाएका कुराहरुमा मात्र भन्दा पनि पाएका कुराहरु पनि हामीले हेर्न आश्यक छ भन्ने मलाई लाग्छ । कोरोना बीमा सम्बन्धि तथ्यहरु बीमा समितिले नै सार्वजनिक गर्दै आएको छ । यसमा बीमितहरुले वास्तविकता बुुझ्न पाउनु भएको छ । विधि पुर्याएको अवस्थामा कोरोना बीमाको दाबी भुक्तानी रोकिदैन ।
कोरोना बीमा होस् निर्जीवन बीमा होस् त्यसमा सबै सही छ भन्ने अवस्था छैन । दोहोरो बीमा दाबी भुक्तानी गर्ने कुरा भएन । बीमा दाबी भुक्तानी भईसकेकाहरुसँग सोध्नुस् कोरोना बीमाको आवश्यकताका बारेमा । केही ढिला भएको हो हामी मान्छौ । त्यसमा हामी क्षमाप्राथी छौ । हामीले कारोना बीमाको दाबी भुक्तानी नदिने भनेका छैनौ । भेरिफाई गरेर बीमा दाबी भुक्तानीको काम भईरहेको छ ।
दाबी भुक्तानीमा राष्ट्रिय बीमा कम्पनीमा केही समस्या देखिएको छ । सबै सरकारी कर्मचारीहरुको बीमा भएको हुँदा दाबी पनि धेरै नै भएको हुँदा केहि समस्या देखिएको छ अन्य कम्पनीहरुमा भने हामीले समस्या सुल्झाउदै लगिरहेका छौ ।
तपाईले आफनो कार्यकालमा राष्ट्रिय बीमाको पेन्डिङ् फाइल सकाएर जाने प्रण गर्नु भएको थियो । ति कामहरु सकिसकेको हो र ?
मैले आफनो कार्यकालमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बार्षित्सवमा २०१० सम्मको एक्चुरी भ्यालुएसन गराउछु भनेर भनेको थिए । अर्थमन्त्री युवराज खतिवडा उपस्थित संस्थानको प्राङ्गणमा गरेको प्रण पूरा गरेको छु । राष्ट्रिय बीमा संस्थानको हकमा भन्नु पर्दा, मैले आफ्नो कार्यकालमा २०१० सम्मको एक्चुरी भ्यालुएसन गराएर पठाईसेको छु ।
सरकारी स्वामित्वमा रहेका दुई कम्पनीको काम ढिलासुस्ती भयो भनिन्छ नी । किन होला ?
राष्ट्रिय बीमा संस्थानको २०१० सम्मको एक्चुरी भ्यालुएसनको काम सम्पन्न भईसकेको छ । राष्ट्रिय बीमा कम्पनीको हामीले १५ दिन अगाडी मात्र आर्थिक बर्ष २०६८/६९ को लेखापरिक्षण १२० प्रतिशत बोनस प्रस्ताव गरेका थियो । अब हामीले आर्थिक बर्ष २०७५र७६ को ब्यालेन्ससिट नहुन्जेलसम्म कुनै प्रकारको लाभांश घोषणा गर्न बन्देज गरेका छौ । किनभने बीचमा नाफा भएर बीचमा लाभांश बाड्न पाईदैनन् ।
त्यस्तै, आर्थिक बर्ष २०६९/७० को ब्यालेन्सिट तीन दिनभित्र बुझाउन निर्देशन दिएका छौं । पुनः हामीले आर्थिक बर्ष २०६९/७० को ब्यालेनसिट बुझाउने मिति थप गरेका छौ ।
अन्त्यमा, नेपालको बीमा ब्यवसायलाई अन्तर्राष्ट्रियस्तरको बनाउँन गर्नुपर्ने कामहरु के हुन्, जुन नयाँ अध्यक्षले गरुन् भन्ने लाग्छ ।
बीमा समितिमा आउने नयाँ अध्यक्षले सुचना प्रविधिप्रति जानकार व्यक्ति हुनुपर्छ भन्ने मलाई लाग्छ । कर्मचारीहरुका समस्या बुझ्न सक्ने तथा बजारमा सहजै भिज्न सक्ने अध्यक्ष बीमा समितिमा आवश्यक हुन्छ भन्ने मेरो बुझाई हो । बीमा क्षेत्रमा पनि केही विज्ञ साथीहरु होलान् ।
बीमा समिति भनेको त वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्रमा बैक लगायत अन्य वित्तीय संस्थाहरुसँग नै सम्बन्ध हुन्छ । अहिले त नयाँ प्रविधिहरु भित्रिएका छन् । अहिले एउटा जीवन वा निर्जीवन क्षेत्रको ज्ञानले मात्रै पनि अध्यक्ष बन्न हुँदैन । कतिपय अवस्थामा सिद्धान्तहरु घोक्न सजिलो हुन्छ । तर नेपालमा हामीले घोकेका सिद्धान्तहरु सहजै लागू गर्न सकिने अवस्था छैन, सकिदैन । त्यसैले बिज्ञता भएको र भिजेको व्यक्ति नै हुनुपर्दछ ।