शेयर ब्रोकर व्यवसायमा गरिनु पर्ने विकास

719

अन्तर्राष्ट्रिय पूँजी बजार हेर्दा सामान्यतः कमिसन ब्रोकर र फुल सर्भिस ब्रोकर गरी दुई थरीका ब्रोकर कम्पनीहरुको अवधारणा रहेको पाइन्छ । ग्राहकलाई चाहिने सेवा सुविधा अनुरूप ग्राहकले ब्रोकर कम्पनीहरू छनोट गर्छन् । ब्रोकर-ब्रोकरबीच  स्वस्थ प्रतिस्पर्धा रहन्छ र ग्राहकलाई आफ्नो कम्पनीबाट शेयर कारोबार गर्नका लागि विभिन्न प्रकारका स्किमहरू सार्वजनिक गरिन्छन् । ब्रोकर कमिसन कम देखाएर लगानीकर्ता आकर्षित गर्ने प्रचलन पनि ठुलो छ ।

नेपालमा भने शेयर दलाल व्यवसाय अझै पनि प्रतिस्पर्धी बन्न सकेको छैन । आजको युगमा प्रतिस्पर्धा बिना कुनै पनि क्षेत्रले विकास गर्न नसक्ने देखिन्छ । निजी क्षेत्रका बैङ्कहरूको आगमन नभएको भए साहेद यो तहको बैङ्किङ प्रणालीको विकास हुने थिएन । “स्वस्थ प्रतिस्पर्धाले नै विकास गर्छ” भन्ने अवधारणा बिच नेपाली शेयर ब्रोकर व्यवसाय नै अघि बढ्नु पर्छ ।

के गर्नु पर्ला ?

ब्रोकरलाई वर्गीकरण गर्नु पर्ने :
सामान्यतः अन्तर्राष्ट्रिय  दोस्रो बजारमा फुल सर्भिस ब्रोकर र कमिसन ब्रोकर गरी दुई थरीका ब्रोकर व्यवसाय सञ्चालनमा आउँदै गरेकोमा नेपालमा भने सूचीकृत ५० स्टक ब्रोकरहरु एकै प्रकृतिका छन् । नेपालको ब्रोकर व्यवसायलाई “रोबर्ट”  भन्दा फरक पर्दैन । “रोबर्ट” यस मानेमा कि नेपाली शेयर ब्रोकरहरुले विशुद्ध आफ्ना ग्राहकको आदेशमा शेयर किन बेच मात्र गरिरहेका छन् ।
लगानीकर्ताको सबै भन्दा नजिकको साथी भनेको ब्रोकर हो । अहिलेको कानुनले नेपाली शेयर बजारका ब्रोकरहरु र लगानीकर्ताको सम्बन्ध विशुद्ध शेयर कारोबारमा मात्र सीमित गरेको छ ।  नेपालका सम्पूर्ण ब्रोकरहरुलाई कमिसन ब्रोकरका रूपमा मात्र काम गर्न दिईएको  छ  जसले गर्दा नेपालमा ब्रोकर व्यवसाय आज सम्म पनि शताब्दी पुरानो देखिन थालिसकेको छ । डिम्याटलाई छोड्ने हो भने नेप्से  स्थापना हुँदा ब्रोकरले गर्ने काम  र अहिलेमा कुनै फरक छैन।  सम्बन्धित निकायले नेपालका हाल रहेका ब्रोकरहरलाई निश्चित मापदण्ड तोकी ब्रोकरलाई वर्गीकरण गर्न एकदमै जरुरी छ ।
ब्रोकर कार्यालयको पुँजी, कम्पनीलाई आवश्यक पर्ने जनशक्ति व्यवस्था गर्न सक्ने ब्रोकरलाई फुल सर्भिस ब्रोकरको रूपमा वर्गीकरण गर्नु पर्ने देखिन्छ ।
फुल सर्भिस ब्रोकरको अवधारणामा ब्रोकरलाई मार्जिन कारोबार, पोर्ट्फोलियो व्यवस्थापन , शेयर परामर्श सेवा, शेयर तालिम , अन्डर राइटिङ जस्ता सेवाहरू थप्न जरुरी छ ।

बजारमा सबै फुल सर्भिस ब्रोकर मात्र भएर हुँदैन । फुल सर्भिस ब्रोकरहरुले लगानीकर्तालाई थप सेवा सुविधा दिए पश्चात् उनीहरूले धेरै कमिसन लिने गर्दछन् । बजारमा सस्तोमा शेयर कारोबार गर्नु पर्ने लगानीकर्तालाई भने कमिसन ब्रोकर अपनाउछ्न । कमिसन ब्रोकरहरु विशुद्ध शेयर कारोवारमा मात्र सिमित  हुन्छन। यस्ता प्रक्रिताका ब्रोकरहरुको पुँजी कम र जनशक्तिपनि कम हुन्छ।

ब्रोकर कमिसनलाई खुला प्रतिस्पर्धा र ब्रोकरलाई मार्केटिङ गर्न दिनु पर्ने
अहिले नेपालमा स्थिर ब्रोकर कमिसनको प्रणाली छ । नेपाल धितोपत्र बोर्डले एउटा ब्रोकर कमिसन निर्धारण गरेको छ र त्यही ब्रोकर कमिसनको आधारमा सम्पूर्ण ब्रोकर तथा तिनका शाखाले ब्रोकर कमिसन लिने गर्छन् । बिस्तारै कमिसनलाई निर्धारण गर्ने जिम्मा बजारलाई छोड्नु पर्ने बहस चल्दै आएको छ । एउटा निश्चित प्रतिशत वृद्धि हुन नदिएर ब्रोकरलाई कमिसन दर आफू खुसी निर्धारण गर्ने व्यवस्था मिलाउनु पर्छ ।
अहिले ब्रोकरले देखिएर मार्केटिङ गर्न पाएका छैनन् । जुन राम्रो होइन । आजको २१ औ शताब्दीमा ब्रोकरले खुलेर मार्केटिङ गर्न पाउनु पर्छ । आफ्ना सेवा सुविधा ब्रोकरले खुला रूपमा विज्ञापन गर्न पाउनु पर्छ । ब्रोकरहरुले एग्रेसिभ मार्केटिङ गरेमा धेरै भन्दा धेरै नयाँ लगानीकर्ताहरू बजार प्रवेश गर्न पाउने छन् ।

सब ब्रोकरको व्यवस्था:
आजको दिनमा इन्स्योरेन्स कम्पनीमा एजेन्टको अवधारणा नआएको भए हामीले आजको इन्स्योरेन्सको व्यापार हेर्न पाउँने थिएनौँ । ब्रोकरहरुले देशका कुना-कुनामा ब्रोकर शाखा खोल्न त्यति सम्भव नभएको र सब ब्रोकरको अवधारणाबाट ब्रोकर सेवा देश भर फैलिने सम्भावना छ । सब-ब्रोकरको अवधारणा आए पछि पक्कै पनि आजको भन्दा धेरै लगानीकर्ताको सङ्ख्या बजारमा देखिने छ । अहिले वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा विदेश बस्ने नेपालीहरुलो नेपाली पुँजी बजारमा लगानी गर्न धेरै रहर गरेको देखिन्छ । ब्रोकरहरुले विदेशमा भएका केही नेपाली लाई सब ब्रोकर बनाएको अवस्थामा त्यहाँका लगानीकर्तापनी दोस्रो बजारमा लगानी गर्ने वातावरण सिर्जना हुनेमा दुई मत छैन ।
ब्रोकरमा विदेशी कम्पनीको लगानी
हामी भन्दा धेरै पछि विकास भएका दोश्रो बजारका केही ब्रोकरलाई हेर्ने हो भने विदेशी कम्पनीको लगानी रहेको पाईएको छ । विदेशी कम्पनीको लगानीबाट प्रविद्धि भित्राउन सजिलो हुने र ब्रोकर व्यवसाय झनै “प्रोफेसनल” हुने देखिन्छ।

धितोपत्र बोर्ड, नेप्से र सम्बन्धीत निकायले ब्रोकर व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन निकै गृहकार्य गर्नु पर्ने देखिन्छ। नेप्से स्थापना हुँदा र अहिलेमा ब्रोकर व्यवसायमा के फरक छ ? त्यति बेला ब्रोकरले कराएर कारोवार गर्थे अहिले कम्प्युटर र शाखा बाट !

अहिले बैंकलाई ब्रोकर लाईसेन्स दिने की नदिने भन्ने बहस मात्र छ।  ब्रोकर व्यवसायलाई अभिवृद्धि गरेरे कसरी पुँजी बजार विकास र विस्तार गर्ने विषयमा खासै बहस भएको पाईदैन ।  बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा सपूर्ण ध्यान र बहसलाई केन्द्रित गर्नु भन्दा ब्रोकर व्यवसायको दायरा फैलाउन कसरत गरिएको भए साहेद आज बजारले धेरै विकास गरिसक्थ्यो । .

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्