नयाँ कम्पनीको आम्दानी ६० लाख ६३ हजार
काठमाडौं: गत आर्थिक बर्ष २०७४/७५ मा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १६ प्रतिशतले बढेको छ । समितिको तथ्यांक अनुसार चालु आवको अन्त्यसम्ममा १७ निर्जीवन बिमा कम्पनीहरुले २२ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुको १९ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका थिए । औसतमा कम्पनीहरुको बृद्धि भने २० प्रतिशत रहेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा एभरेष्ट इन्स्योेरेन्स कम्पनीको सबैभन्दा धेरैले व्यवसाय बृद्धि भएको छ । गत आवमा कम्पनीको बिमाशुल्क आर्जन दुई गुणा भन्दा धेरैले बढेर ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २६ करोड ३३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । आईएमई जनरल इन्स्यारेन्स कम्पनीको व्यवसाय भने ४५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६९ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । व्यवसाय बृद्धिको आधारमा सगरमाथा इन्स्योरेन्स तेस्रोमा परेको छ । गत आवमा कम्पनीले ६० करोड ५४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३० प्रतिशतले बढी हो ।
गत आवमा युनाईटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिमाशुल्क आर्जन घटेको छ । प्रुडेन्सियल, प्रभु र ओरियण्टलको व्वयसाय बृद्धि सामान्य देखिएको छ ।
त्यस्तै कम्पनीहरुले गत आवमा मात्रै आर्जन गरेको बिमाशुल्क आधारमा भने शिखर इन्स्योरेन्स अग्रपंक्तीमा रहेको छ । कम्पनीले गत आवमा ३ अर्ब ४१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २४ प्रतिशतले बढी हो । त्यस्तै सगरमाथा इन्स्योेरेन्स कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेर दोस्रोमा परेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी भने तेस्रोमा परेको छ । उक्त कम्पनीले गत आवको अन्त्यसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ ।
नयाँ निर्जीवन बिमा कम्पनीहरुले भने गत आवमा ६० लाख ६३ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नयाँ कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनीले ३३ लाख ६४ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले २४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ भने सानिमा इन्स्योरेन्सले २ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।