काठमाडौं । नेपाल बीमा प्राधिकरण वर्ष २०८२ मा बीमा क्षेत्रको सुधारका लागि विभिन्न निर्देशनसँगै निर्देशिकाहरु जारी गर्नेदेखि लिएर संशोधन र परिमार्जन गरेको छ।
यो वर्ष प्राधिकरण बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) नवीकरणमा आवश्यक निर्देशन जारी गरेको छ। जसमा म्याद सकिएको ३ महिनाभित्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा सर्भेयरको लाइसेन्स रद्द गरिने उल्लेख छ।
यही वर्ष प्राधिकरणले सरकारको निर्णयबमोजिम बीमा सेवामा हुलाक टिकटको प्रयोग गर्नुपर्ने प्रावधान हटाएको छ। बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका सम्बन्धमा पनि प्राधिकरणले आवश्यक निर्देशन जारी गरेको छ।
बीमकबाट हुने दाबी भुक्तानी र पारिश्रमिक भुक्तानीलाई पारदर्शी बनाउन प्राधिकरणले निर्देशन जारी गरेको छ। बीमालेखको सुरक्षणमा उलब्ध गराइने कर्जासम्बन्धी स्पष्ट मापदण्ड प्राधिकरणले तय गरेको छ।
यो वर्ष प्राधिकरणले जीवन बीमालेख जारीमा लगाएको अंकुशबाट पछि हटेको छ। अघिल्लो वर्ष साउनमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुका लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्नुपर्ने र २८ गतेपश्चात गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने प्रावधान ल्याएको थियो। तर, पछि २०८२ असार २४ फेरि अर्को सूचना जारी गर्दै यो प्रावधान झन्झटिलो भएको भन्दै प्राधिकरणले हटाएको थियो।
यही वर्ष प्राधिकरणले यात्रा तथा चिकित्सकीय बीमाबारे भइरहेको धोखाधडी रोक्न आवश्यक सचेतनामूलक सन्देश पनि जारी गरेको छ।
निर्देशन र निर्देशिकामा संशोधन
बीमा प्राधिकरणले वर्ष २०८२ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा पुल स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ मा दोस्रो संशोधन गरेको छ। यसैगरी बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा दोस्रो संशोधन, बीमकको मुद्दति निक्षेप लगानीको एयरमार्कसम्बन्धी मार्गदर्शन, २०८१ मा प्रथम संशोधन, बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८१ मा दोस्रो संशोधन, बीमकको विदेशी मुद्रा सटही सिफारिसम्बन्धी निर्देशन, २०८२ जारी, बीमकको लगानीसम्बन्धी निर्देशन, २०८२ जारी, सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवरणसम्बन्धी निर्दशन, २०८२ जारी, बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा पहिलो संशोधन र रिस्क बेस्ड क्यापिटल एन्ड सोल्भेन्सी डाइरेक्टिभ, २०२५ जारी गरेको छ।
यसैगरी यही वर्ष प्राधिकरणले गाइडलाइन्स फर भ्यालुएसन अफ एसेस्ट युजिङ मार्क टु मोडल अप्रोच, गाइडलाइन रिलेटेड टु एक्चुअरी अपोइन्टमेन्ट अफ इन्स्योररमा पहिलो संशोधन तथा गाइडलाइन्स अन टार्गेट फाइनान्सियल स्यानसेक्सन फर इन्स्योरर, २०२५ जारी गरेको छ।












