काठमाडौं । बेल्जियमको पूर्वी फ्ल्यान्डर्समा एउटा घरको मर्मत गर्ने क्रममा मजदुरहरुले पर्खालमा सुनको ठूलो खजाना फेला पारेका छन्। जसको मूल्य लगभग ९० लाख युरो (लगभग १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ) रहेको छ।
स्थानीय मिडियाका अनुसार मजदुरहरुले गत हप्ता ढल निकासको पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका थिए। त्यही बेला उनीहरुले घरको पर्खालमा सुनको इँटा र सिक्का फेला पारेका हुन्।
अब यो सुन कसले राखेको हुन सक्छ भन्ने प्रश्न उठेको छ। मजदुरहरुका साथै सम्पत्तिको स्वामित्वमा रहेको स्थानीय संस्थाले यसलाई प्राप्त गर्ने अवसर पाएको छ।
अनुसन्धान सुरु गरेपछि प्रहरीले मानिसहरुलाई त्यहाँ जान र थप खजाना खोज्न निषेध गरेको थियो। प्रहरीले घरको राम्ररी खोजी गरिएको र सबै सुन सुरक्षित ठाउँमा भण्डारण गरिएको जनाएको छ।
भवनको जगमा काम गर्दा मजदुरहरुले यो खजाना पत्ता लगाएका थिए। तिनीहरुमध्ये एक १८ वर्षीय विद्यार्थी पनि थिए। जो आफ्नो गर्मी बिदामा केही अतिरिक्त पैसा कमाउन मजदुरी गरिरहेका थिए। ‘सुरुमा त हामीले विश्वास गर्न सकेनौँ र धेरै छक्क पर्यौं’, कोबे नाम गरेका ती विद्यार्थीले बेल्जियमको सार्वजनिक प्रसारक भीआरटीलाई भने, ‘सुरुमा त मैले सोचेँ कि ती युरोका सिक्का हुन्। तर, त्यसपछि हामीले सुनको टुक्रा पनि देख्यौँ। त्यतिबेला हामीले महसुस गर्यौं कि यो केही गम्भीर कुरा हो।’
केही समयपछि मजदुरहरुले प्रहरीलाई जानकारी गराए। साइट म्यानेजर मारियोले भीआरटीलाई भने, ‘त्यहाँ यति धेरै सुनका सिक्का र बारहरु थिए कि प्रहरीलाई खबर नगरिएको भए चोरी हुने सम्भावना थियो।’
सुन फेला परेको साइट हाल सीएडब्ल्यू ओस्ट–व्ल्यान्डरेनको स्वामित्वमा छ। जुन एउटा संस्था हो। यो संस्थाले डेन्डरमोन्डे क्षेत्रका मानिसहरुलाई सामाजिक र कल्याणकारी सहायता प्रदान गर्दछ।
संस्थाका निर्देशक गीर्ट हिलार्टअनुसार उनको प्रारम्भिक प्रतिक्रिया ‘आश्चर्य र अचम्म’ थियो। उनले आशा व्यक्त गरे कि खजाना संस्थाको कामलाई अगाडि बढाउन र हरेक दिन उत्पन्न हुने ठूलो आवश्यकता पूरा गर्न प्रयोग गर्न सकिन्छ।
स्थानीय प्रहरीले मानिसहरुलाई खजाना खोज्न निर्माणाधीन स्थलमा नजान आग्रह गरेको छ। प्रहरीले आफ्नो फेसबुक प्रोफाइल तस्बिरलाई सुनको सिक्काको तस्बिरमा पनि परिवर्तन गरेको छ।
प्रहरीले भेटिएको सुन ‘सही ठाउँमा’ पुग्नेछ र मानिसहरुको जीवन परिवर्तन गर्ने आशा व्यक्त गरेको छ।
सुन कसले पाउनेछ ?
बेल्जियमको कानूनअन्तर्गत वास्तविक मालिकले खजाना दाबी गर्न ५ वर्षको समय दिइन्छ। यद्यपि, मुद्दाको अनुसन्धान गरिरहेका स्थानीय सरकारी वकिलले भने, ‘मालिक को हो भनेर अझै थाहा छैन।’
यदि कोही अगाडि आएन भने नागरिक कानुनअन्तर्गत अरु कसैको जग्गामा लुकाइएको खजाना फेला पार्ने र सम्पत्तिको मालिकबीच बाँडफाँट गरिनेछ।
यद्यपि, यो तब मात्र हुनेछ जबसम्म यो प्रमाणित हुँदैन कि खजाना अपराधसँग जोडिएको छ वा छैन। अब निर्माणकर्ता र परोपकारी संस्था दुवैले मालिक अगाडि आउन १ हजार ८२३ दिनसम्म पर्खिनुपर्ने हुन सक्छ। यस तोकिएको अवधिमा कोही अगाडि आएन र यो उनीहरुको हो भनेर प्रमाणित गरेन भने थप कानुनी कारबाही गरिनेछ। – बीबीसीबाट












