IME Life New

रोशन न्यौपानेको राजीनामाले सुध्रिएला त एनआईसी एसियाको वित्तीय विवरण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करिब साढे ७ वर्षपछि एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन्। कार्यकालको सुरुआती चरणदेखि नै आक्रामक कर्जा विस्तार रणनीतिमा लागेका न्यौपाने अन्तिमसम्ममा असफल जस्तै बनिसकेका थिए। सोही असफलताकै कारण उनलाई राजीनामा दिन चर्को दबाब थियो।

पटक–पटक राजीनामा दिन दबाब आएको र राजीनामा बुझाइसक्दा पनि न्यौपानेको राजीनामा स्वीकृत हुन नसकेको अवस्थामा अन्तिममा भने राजीनामा स्वीकृत भएको हो। उनले पारिवारिक कारण राजीनामा दिएको बताएका छन्।

Esewa
Crest

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखका रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपाने चार्टर्ड अकाउन्टेन्ट हुन् र बैंकका विभिन्न विभागमा अनुभव हासिल गरी नेतृत्वको जिम्मेवारी सम्हालेका थिए। यसै अनुभवका आधारमा उनलाई पहिलो कार्यकालका लागि २०७५ मंसिर १६ मा सिईओ नियुक्त गरिएको थियो।

सुरुमा न्यौपानेको नेतृत्वमा कर्मचारी उत्साहित थिए भने ग्राहकमा विश्वास जागेको थियो र बैंकले बजारमा सकारात्मक छवि बनाएको थियो। तर, पहिलो कार्यकालमा बैंकले जोखिमपूर्ण र मनलाग्दी कर्जा वितरणलाई प्राथमिकता दियो। बैंकलाई अग्रणी बनाउने दाबीमा विस्तार गरिएको कर्जा वित्तीय मापदण्ड र जोखिम मूल्यांकनमा पर्याप्त सावधानी नपुगेकोले पछि बोझमा परिणत भयो। बैंकको वित्तीय विवरणले देखाउँछ कि आर्थिकक वर्ष २०७४।७५ को दोस्रो त्रैमासमा निष्क्रिय कर्जा अनुपात ०.२९ प्रतिशतमात्र थियो। तर, केही वर्षमै यो बढेर हाल ६.२८ प्रतिशतमा पुगेको छ।

यसका साथै बैंकको नाफा पनि करिब ७७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अधिकांश बैंकले नाफा बढाउँदा एनआईसी एसियाको नाफामा यत्रो ठूलो गिरावट हुनु वित्तीय दृष्टिले गम्भीर चुनौती हो। यसले बैंकको आन्तरिक व्यवस्थापनमा कमजोरी र जोखिम नियन्त्रणमा असफलता देखाउँछ।

ग्राहक पनि पछिल्ला वर्षमा निरन्तर कमजोर वित्तीय विवरण र बैंकको असफलताप्रति चिन्तित बनेका छन्। सामाजिक सञ्जाल र वित्तीय विश्लेषकहरुमा पनि प्रश्न उठ्न थालेका छन् कि ‘हामीले बैंकमा राखेको निक्षेप सुरक्षित छ कि छैन ?’ विगतमा मनलाग्दी कर्जा वितरणले बैंकलाई संकटमा पु¥याएको अनुभवले ग्राहकको विश्वासमा धक्का पुर्याएको छ।

राजीनामापछि बैंक सञ्चालक समितिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। विशेषज्ञहरुले न्यौपानेको कार्यकाललाई ‘सुधार्नुको साटो झन् बिगार्ने’ किसिमको भएको बताएका छन्। बैंक सुधारको सम्भावना अब नयाँ नेतृत्वको सक्रियता, वित्तीय अनुशासन र नियामक प्रभावमा निर्भर छ। राष्ट्र बैंकले विगतमा मौन बसेको, राजनीतिक प्रभाव र व्यवस्थापकीय कमजोरीका कारण पनि सुधारमा ढिलाइ भएको छ। न्यौपानेले राष्ट्र बैंकका नियमन विभागका निर्देशकहरुसँग आर्थिक लेनदेन गरेर बैंकका गल्तीकमजोरी ढाकछोप गर्दै आएको आरोपसमेत लागेको थियो।

नयाँ सीईओले बैंकलाई कसरी स्थिर र विश्वसनीय बनाउनेछन् ? ग्राहकको विश्वास र बैंकको वित्तीय स्वास्थ्य पुनः स्थापित गर्न कस्तो रणनीति बनाइनेछ ? भन्ने प्रश्न अब बन्ने एनआईसी एसियाको नयाँ सीईओलाई उठ्नेछ।

एनआईसी एसियाको भविष्यको निर्णय अब नयाँ सीईओ र बैंकको आन्तरिक सुधार प्रक्रियामा निर्भर छ। यदि ठोस कदम र रणनीति लागु भए, बैंक पुनः स्थिर र विश्वसनीय बनाउने सम्भावना छ, नभए विगतका गल्तीको असर अझ लामो समयसम्म ग्राहक र बजारमा देखिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS