काठमाडौं । सीडीएससीले तयार गरेको धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ (आइजीन निर्देशिका) लागू हुनेमा शंका उत्पन्न भएको छ।
प्रस्तावित आइजीन निर्देशिकाबारे छलफल पार्न सीडीएससीले आज ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा कार्यक्रम राखेको थियो। कार्यक्रम निजी क्षेत्र, स्टक ब्रोकर, इप्पान र नेपाल राष्ट्र बैंक प्रतिनिधिहरुसँगै शेयर लगानीकर्ता र सञ्चारकर्मीको उपस्थिति थियो। तर, शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एकजनाको पनि उपस्थिति थिएन।
कार्यक्रम तोकिएको समयभन्दा आधा घन्टा ढिलागरी सुरु भएको थियो। विशेष अतिथिलाई मञ्चमा बोलाउँदा सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित केही कार्यकारी निर्देशकको नाम लिइयो। तर, कोही पनि आएका थिएनन्।
यसैगरी नेप्सेबाट कार्यक्रममा अध्यक्ष हेमन्त बस्याललाई मञ्चमा बोलाइयो। तर, उनी पनि आएका थिएनन्।
सेबोन र नेप्सेबाट कोही पनि नआउँदा त्यहाँ उपस्थित लगानीकर्तामा आइजीन निर्देशिक लागू हुनेमा शंका व्यक्त गरेका थिए। विशेष अतिथिका रुपमा उपस्थिति लगानीकर्ता प्रकाश रजौरेले सेबोन र नेप्सेका प्रतिनिधि नआउनु दुःखद रहेको बताए। ‘सेबानका अध्यक्ष लगानीकर्ताको लगानी सुरक्षामा भन्दा आफ्नै सुरक्षामा लागेको देखिन्छ’, उनले भने, ‘नेप्सेबाट पनि कोही आएका छैनन्।’
रजौरेले ७० लाख लगानीकर्तामाथि नियामकहरुले खेलवाड गरिरहेको बताए। ‘नियामकमाथि लगानीकर्ताको विश्वास गुमेको छ’, उनले भने, ‘खबरदारी आवश्यक छ।’
रजौरेले आइजीनका नाममा वित्तीय अपराध नियन्त्रण गर्नुपर्ने धारणा पनि राखे।
सीडीएससीकी प्रबन्ध निर्देशक एवं कार्यकारी प्रमुख प्रवीण पन्दकले समेत ६–७ महिनादेखि आइजीन निर्देशिका सेबोनमा अलपत्र अवस्थामा रहेको बताइन्। ‘सीडीएससीले आइजीन निर्देशिकाको मस्यौदा तयार गरी सेबोन पठाउँदा २–५ दिनमै स्वीकृत हुन्छ भन्ने लागेको थियो’, उनले भनिन्, ‘तर, अहिलेसम्म सेबोनमै थन्किएको छ।’












