IME Life New

मुद्दति निक्षेपबाट किन झिकिँदैछ पैसा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०८१ असारदेखि २०८२ माघसम्ममा कुल बचतमा मुद्दति निक्षेपको अंश करिब १५ प्रतिशतले घटिसकेको छ। २०८१ असारमा ५६.४ प्रतिशत रहेको कुल बचतमा मुद्दतिको अंश २०८२ माघसम्ममा १४.८ प्रतिशत विन्दुले घटेर ४१.६ प्रतिशतमा संकुचित भएको छ। माघसम्ममा कुल निक्षेप ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ।

पछिल्ला केही वर्षयता मुद्दति निक्षेपबाट पैसा झिकेर अन्यन्त्र परिचालन गर्ने क्रम बढेको यो तथ्यांकले देखाउँछ। बैंकहरुले मुद्दति खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंशसमेत घट्दै गएको हो। विगतमा दोहोरो अंकमा रहेको निक्षेपको ब्याजदर पछिल्ला वर्षहरुमा बैंकहरुले घटाउँदै आएका छन्। मुद्दति निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ।

Esewa
Crest

बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याजदर घट्दै जाँदा यसतर्फको आकर्षण पनि घटेको हो। २०८२ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत, विकास बैंकहरुको ३.९७ प्रतिशत र वित्त कम्पनीहरुको ५.०१ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। २०८१ असारमा यस्तो ब्याजदर ५.७७ प्रतिशत, विकास बैंकहरुको ६.६३ प्रतिशत र वित्त कम्पनीहरुको ७.९३ प्रतिशत थियो।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पछिल्लो समय ब्याजदर घट्दै गएका कारण मुद्दति निक्षेपमा बचतकर्ता आकर्षित नभएको बताउँछन्। ‘मुद्दतिमा पैसा राखेर ब्याज नै पाइँदैन भने किन राख्ने ? भन्ने मानसिकता अहिले घट्दो ब्याजदरका कारण बचतकर्तामा परेको छ’, उनले भने, ‘साधारण बचतमा राखेर नै काम चलाउन सकिने भएकाले बचतकर्ताले मुद्दति नचाहेका हुन्।’

बजारमा महँगी बढेको र खर्च चलाउन मुस्किल हुने अवस्था आउँदा पनि मुद्दति निक्षेपबाट रकम झिक्ने क्रम बढ्ने क्षेत्रीको भनाइ छ। ‘तर, त्यस्तो अवस्था अहिले छैन’, उनले भने, ‘अर्कातिर बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएकाले नागरिकको बचत गर्ने बानी भने बढ्दै गएको देखिएको छ।’

बैंकरहरुले पनि अहिले तलरता पर्याप्त रहेको सन्दर्भमा मुद्दतिमा भन्दा साधारण बचततर्फ लगानीकर्तालाई आकर्षित गर्नुपर्ने अवस्था रहेको बताउन थालेका छन्। सोहीअनुसार ब्याजदर घटाएर यस किसिमको परिस्थिति सिर्जना गर्न थालिएको उनीहरुको भनाइ छ। यसरी निरन्तर ब्याजदर घट्दै जाँदा मुद्दति निक्षेप पनि घट्दै गइरहेको हो।

अहिले मुद्दति खाताको निक्षेप झिकेर शेयर बजारतर्फ लगानी गर्ने क्रम बढिरहेको छ। त्यसबाहेक अन्य लगानीका विकल्पहरुमा पनि बचतकर्ताले ध्यान दिन थालेका छन्। पछिल्लो समय शेयर बजारमा कर्जा लगानी सहज भएसँगै लगानीकर्ताले मुद्दति निक्षेपमा रकम राख्नुभन्दा त्यसतर्फ लगानी बढाउन उपयुक्त हुने देखेका छन्।

मुद्दति निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न नसकिने विज्ञहरुको भनाइ छ। अर्थात् अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दति खाताबाट रकम झिकेर समस्या नहुने उनीहरुको भनाइ छ।

मुद्दति निक्षेप निश्चित समय अवधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बढी भए पनि तोकिएको समय समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो।

पछिल्लो समय एक वर्षभन्दा बढी समयका लागि मुद्दति निक्षेपमा रकम राख्न बचतकर्ता चाहिरहेका छैनन्। संस्थागत निक्षेपकर्ताले एक वर्षसम्मको समयका लागि मात्रै मुद्दतिमा पैसा राख्ने गरेको बैंकरहरुको बुझाइ छ।

मुद्दतिबाट साधारण बचततर्फ सर्दै बचत

मुद्दति निक्षेपमा कम ब्याजदर आउने र झिक्न पनि समय लाग्ने भएकाले बचतकर्ता साधारण बचतमै आकर्षित हुन थालेको क्षेत्री बताउँछन्। २०८१ असारमा ३०.३ प्रतिशत रहेको कुल निक्षेपमा साधारण बचतको हिस्सा २०८२ माघसम्ममा ४२.८ प्रतिशत पुगेको छ। २०८१ असारदेखि २०८२ माघसम्ममा साधारण बचतको हिस्सा कुल बचतमा १२.५ प्रतिशत विन्दुले बढेको छ।

केही वर्षअघि बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुँदा दोहोरो अंकको उच्च ब्याजदर दिएर बैंकहरुले मुद्दति निक्षेपमा बचतकर्ता आकर्षित गरेका थिए। उच्च ब्याजदर पाएसँगै व्यक्ति र संस्थाले मुद्दतिमा रकम राख्ने क्रम बढेको थियो। सोही कारण कुल बचतमा मुद्दति निक्षेपको हिस्सा ६० प्रतिशतसम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS