काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिबाट संयोजक गुणाकर भट्टले राजीनामा दिएको छ।
सरकारले भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल रहेका थिए।
नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहँदा भट्ट निष्पक्ष ढंगले काम गर्ने व्यक्तिका रुपमा परिचित थिए। तर, धितोपत्र बोर्डको अध्यक्षमा एउटा आवेदनले उनको निष्पक्ष कार्यशैलीमा धब्बा लगाउने देखिनेपछि भट्ट राजीनमा दिन बाध्य भए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारमा हाल मुलुकको बेथितिलाई थितिमा ल्याउने काम भइरहेको छ। यही बेला राजनीतिक स्वार्थका कारण राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुन नसकेका भट्टलाई रास्वपा सरकारले राष्ट्रिय योजना योजनाको उपाध्यक्षको जिम्मेवारी दिएर उनको कामको सम्मान गरेको थियो।
यद्यपि, धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि सरकारले नयाँ नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यसपछि आफ्नै काका छोरा एवं दाजु पर्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टले धितोपत्र बोर्डबाट अध्यक्षमा दरखास्त दिएपछि संयोजक गुणाकर भट्टले इमान्दारिकपूर्व संयोजक पदबाट राजीनामा दिएका हुन्। स्वार्थ बाझिने भएकोले भट्टले राजीनामा दिएको स्रोत बताउँछ।
अब धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया केही दिन लम्बिने देखिएको छ। अध्यक्ष पदका लागि ४७ जनाले निवेदन दिएका छन्। यद्यपि, सरकारले क–कसले निवेदन दिएका छन् भनेर खुलाएको छ।
अब सरकारले सिफारिस समितिमा नयाँ संयोजक नियुक्त गरेपछि यो प्रक्रिया अगाडि बढ्ने देखिन्छ।












