IME Life New

रोकिएन फर्जी हेली उद्धारधन्दा, फेरि किन दोहोरियो ७ वर्षअघिकै चर्चित काण्ड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको हिमाली पर्यटन क्षेत्रमा लामो समयदेखि जकडिएको फेक रेस्क्यु अर्थात् नक्कली उद्धारको जालो तोड्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पछिल्लो समय पुनः सक्रियता देखाएको छ। विदेशी बीमा कम्पनीहरुबाट करोडौँ डलर ठगी गरेको आरोपमा विभिन्न उद्धार एजेन्सीका सञ्चालकहरु पक्राउ परेसँगै यस धन्दाको भित्री स्वरूप बाहिर आएको छ।

के हो आपतकालीन उद्धार ?

Esewa
Crest

हिमाली क्षेत्रमा पदयात्रा वा पर्वतारोहणका क्रममा पर्यटकलाई लेक लाग्ने, चोटपटक लाग्ने वा अन्य स्वास्थ्य समस्या भएमा तत्कालै तल्लो क्षेत्र वा अस्पताल पुर्याउन हेलिकप्टरको प्रयोग गरिन्छ। यसलाई आपतकालीन उद्धार भनिन्छ। दुर्गम क्षेत्रमा सडक सुविधा नहुने भएकाले यो सेवा जीवनरक्षक मानिन्छ।

बीमाले कसरी काम गर्छ ?

विदेशी पर्यटकहरु नेपाल आउनुअघि नै यात्रा बीमा गराएका हुन्छन्। जसमा हिमाली उद्धार र महँगो अस्पताल खर्च समेटिएको हुन्छ। उद्धार आवश्यक परेमा ट्रेकिङ गाइड वा एजेन्सीले बीमा कम्पनीलाई जानकारी गराउँछन्।

बीमा कम्पनीको अनुमति वा ग्यारेन्टी अफ पेमेन्टपछि पर्वतारोहीको उद्धारका लागि तत्कालै हेलिकप्टर पठाइन्छ। उद्धारपछि अस्पतालको रिपोर्ट र हेलिकप्टरको बिलका आधारमा बीमा कम्पनीले सीधै सेवा प्रदायकलाई भुक्तानी गर्छन्।

ठगीको जालो कसरी बन्छ ?

सीआईबीको अनुसन्धानअनुसार यस ठगीमा एउटा ठूलो संगठित गिरोह सक्रिय छ। जसमा ट्रेकिङ एजेन्सी र गाइडले पर्यटकलाई सामान्य टाउको दुख्दा पनि तिमीलाई खतरा छ, हेलिकप्टर नबोलाई हुँदैन भनेर तर्साउँछन्। कतिपय अवस्थामा त पर्यटकको खानामा अखाद्य वस्तु मिसाएर बिरामी बनाउनेसम्मका अमानवीय कामसमेत हुने गरेको छ।

एउटै उडानमा ४ देखि ५ जना पर्यटक ल्याए पनि हेलिकप्टर कम्पनीले आपतकालीन उद्धार गरिएको दाबी गर्दै प्रत्येक पर्यटकको बीमा कम्पनीसँग छुट्टाछुट्टैको बिल जारी गर्छ। ३ हजार डलरको उडानलाई १० हजार डलरसम्मको बिल बनाइन्छ। सामान्य बिरामीलाई पनि आईसीयू वा विशेष उपचार आवश्यक रहेको नक्कली कागजात बनाइन्छ। हप्तौँसम्म अस्पताल भर्ना गरेको देखाई मोटो रकमको बिल तयार गरिन्छ।

केही विदेशी एजेन्टहरुले बीमा दाबी प्रक्रिया मिलाइदिने र त्यसबापत ठूलो कमिसन लिने गर्छन्।

कसरी हुन्छ पैसाको खेल ?

यो विशुद्ध बीमा ठगी हो। उदाहरणका लागि वास्तविक खर्चः ४२ हजार ५०० रुपैयाँ हुँदा नक्कली बिल बिजक तयार पारेर ४ लाख १५ हजार रुपैयाँबराबरको बीमा दाबी गरिन्छ। अनि बाँकी हुन आउने ४ लाख १२ हजार ५०० रुपैयाँ रकम एजेन्सी, गाइड, हेलिकप्टर र अस्पतालबीच बाँडफाँट हुन्छ।

सीआईबीका अनुसार पछिल्लो कारबाहीमा पक्राउ परेका तीनवटा कम्पनी माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सले मात्रै विगत २ वर्षमा करिब २ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको शंकास्पद दाबी गरेको देखिएको छ।

यो ठगी धन्दाको क्षति पैसामात्र ठगीमा सीमित छैन, नेपालको शिर नै निहुराएको छ। अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेका छन्। केहीले नेपाल आउने पर्यटकको बीमा नै गर्न छाडेका छन् भने कतिपयले बीमाशुल्क ह्वात्तै बढाएका छन्।

नेपालमा ठगी हुन्छ भन्ने सन्देश विश्वभर फैलिँदा इमानदार पर्यटन व्यवसायीहरु मारमा परेका छन्। संगठित रुपमा विदेशी मुद्राको अपचलन र राज्यको छवि धमिल्याउने कार्यले नेपालको सार्वभौम प्रतिष्ठामा आँच पुगेको सीआईबीको ठहर छ।

सीआईबीले यसलाई संगठित अपराध र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ। बीमा क्षेत्रका नियामक र सरकारले अब उद्धार प्रक्रियालाई पारदर्शी बनाउन केन्द्रीय समन्वय केन्द्रमार्फत मात्रै उद्धार गर्ने र बिलिङको कडा अनुगमन गर्ने संयन्त्र बनाउनु ढिला भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS