काठमाडौं । नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)ले करिब ४ वर्षपहिले एउटा विवादास्पद मृत्यु दाबीमा हकवालाको पक्षमा फैसला गर्यो। बीमितका तर्फबाट परम सदविश्वासको सिद्धान्त प्रतिकूल हुने कार्य नगरेको ठहर गर्दै नियामकले मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमकलाई निर्देशन दियो।
त्यतिबेला नेपाल लाइफ इन्स्योरेन्सले बीमितको मृत्युको कारण शंकास्पद रहेको भन्दै दाबी भुक्तानी अस्वीकार गरेको थियो। तर, लामो समयसम्म चलेको मुद्दामा प्राधिकरणले हकवालाको पक्षमा फैसला गर्दै नेपाल लाइफलाई १ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न लगाएको हो।
बीमित जयकुमार श्रेष्ठको निधनपछि तत्कालीन बीमा समितिले श्रेष्ठकी श्रीमती सुक लक्ष्मी श्रेष्ठलाई दुईवटा बीमालेखबापतको १ करोड रुपैयाँ भुक्तानी दिलाएको हो।
प्राधिकरणका अनुसार जय कुमारको नाममा नेपाल लाइफले २०७३ साउन २१ गते र माघ ३ गते ५०–५० लाख रुपैयाँ बीमांकको दुईवटा बीमालेख जारी गरेको थियो। बीमालेख जारी गरेको एक वर्ष हुन नपाउँदै २०७४ साउन २६ मा बीमित जय कुमारको निधन भएको थियो।
श्रीमानको मृत्युको १९ महिनापछि सुक लक्ष्मीले नेपाल लाइफमा मृत्यु दाबी भुक्तानीका लागि निवेदन दिएकी थिइन्। निवेदनसँग संलग्न प्रमाणको प्रारम्भिक अध्ययनपछि नेपाल लाइफको दाबी विभागले बीमितको उपचारको कागज माग गर्दै थप अनुसन्धानको सूचीमा समावेश गरेको थियो।
बीमितलाई पहिले नै निमोनिया रहेको आशंका गर्दै नेपाल लाइफले उपचारसम्बन्धी थप कागजात मागेपछि सुकलक्ष्मीले दाबी भुक्तानी दिलाई पाउनका लागि सीधै बीमा समितिमा २०७६ असार १७ गते निवेदन(उजुरी) दिइन्।
बीमितको उपचारको कागज उपलब्ध नगराएको, सक्कल ग्राहक प्रति फाइल पेस नगरेको र एउटामात्र बीमाको दाबी पेस गरेको भन्दै नेपाल लाइफले शंकास्पद दाबीको श्रेणीमा राखेको थियो। पछि थप अनुसन्धानका लागि उपचारको कागज माग गर्दा नदिई सीधै बीमा समितिमा निवेदन दिएकोले थप शंकास्पद रहेको नेपाल लाइफको दाबी थियो।
बीमितका तर्फबाट पेस गरिएको प्रमाण
- सिभिल अस्पतालबाट जारी मृत्यु प्रमाणपत्र
- मृत्युको कारणः हृदयघात
- हृदयघातको कारकः निमोनिया
- बीमितको २०७४ साउन १२ मा पहिलोपटक निमोनियाको उपचार
नेपाल लाइफको जिकिर
- मृत्युपूर्वको औषधोपचारसम्बन्धी सम्पूर्ण कागजात पेस नभएको
- दुईवटा बीमालेखमध्ये एउटाको हकमा मात्र दाबी पेस गरेको
- उपचारको कागज माग गर्दा बीमा समितिमा निवेदन दिएको
- मृत्युको १९ महिनापछि दाबी पेस गरेको
- सक्कल बीमालेख पेस नगरेको
- दीर्घ रोगसम्बन्धी विवरण ढाँटेर बीमा गराएको
बीमा समितिको ठहर
- बीमितको मृत्यु हृदघातबाट भएको पुष्टि
- मृत्युको सहायक कारकः निमोनिया
- बीमित दीर्घरोगी भएको पुष्टि हुन हुन नसकेको
- बीमितका तर्फबाट परम सदविश्वासको सिद्धान्त प्रतिकूल हुने कार्य नगरेको
- दुवै बीमालेखबापतको बीमांक रकम र नियमानुसारको अन्य रकम भुक्तानी दिनु
बीमा समितिले जानकारी मागेपछि नेपाल लाइफले बीमित जय कुमारको मृत्यु निमोनियाको कारणबाट भएकोमा उपचारको कागज उपलब्ध नगराएको र सक्कल ग्राहक प्रति फाइल पेस नगरेको भन्दै २०७७ जेठ २८ गते लिखित जबाफ पेस गरेको थियो।
बीमा समितिले २०७७ साउन ५ गते सुक लक्ष्मीसँग श्रीमान जय कुमारको मृत्युअघि भएको उपचारसम्बन्धी कागजपत्र मागेपछि २०७७ साउन १८ गते उनले सिभिल अस्पताल मीनभवनमा मृत्युअघि भएको उपचारसम्बन्धी कागजात पेस गरेकी थिइन्।
अस्पतालको कागजमा मृत्यु सूचना(नोटिस अफ डेथ) मा बीमितको मृत्युको कारण (कज अफ डेथ) मा आकस्मिक कारण हृदयाघात (इमिडिएट कजः कार्डियो पल्मोनरी अरेस्ट) र योगदान कारकमा निमोनिया(कन्ट्रिब्युटरी कजः निमोनिया) भनी उल्लेख गरिएको थियो।
योगदान कारक निमोनिया देखिएको भरमा बीमा गर्नुअघि बीमितलाई कुनै दीर्घरोग हुन सक्ने भनी बीमकले गरेको शंका पुष्टि हुने नदेखिँदा बीमकको उक्त जिकिर तर्कसंगत नभएको ठहर बीमा समितिले गरिदियो।
अर्कोतर्फ बीमितको उपचारमा संलग्न चिकित्सकबाट बीमकले भराएको चिकित्सकको प्रमाणमा समेत मृत्युको कारण निमोनिया रहेको र बीमितलाई मिति २०७४ साउन १२ मा पहिलोपटक मात्र उपचारार्थ हेरेको भनी उल्लेख भएको अवस्था रहेको हुँदा अन्यथा पुष्टि नभएको अवस्थामा बीमकको शंकाका आधारमा मात्र दाबी भुक्तानी रोक्न मिल्ने देखिन आएन भन्ने उल्लेख गर्दै समितिले सुकलक्ष्मी श्रेष्ठको पक्षमा फैसला गरिदियो।
प्राधिकरणले २०७८ कात्तिक ४ गते गरेको फैसलाको आदेशमा भनिएको छ, ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमालेखको इच्छाइएको हकवाला व्यक्तिलाई बीमितको दुवै बीमालेखको बीमांक रकम तथा बीमालेखको सर्तबमोजिमको हुन आउने रकम भुक्तानी गर्नु भनी आदेश दिने ठहर्छ।’
सुकलक्ष्मीले २०७६ जेठ १ गते दर्ता गराएको निवेदनमा बीमा समितिले झन्डै २ वर्ष ४ महिनापछि फैसला गरेको थियो।