काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सरल बैंकिङ सेवा अनिवार्य गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमार्फत सरल बैंकिङ सेवासम्बन्धी व्यवस्था गरेको छ।
सरल बैंकिङसम्बन्धी व्यवस्था विशेषगरी फरक क्षमता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि गरिएको हो। यस्ता छन् व्यवस्थाः
१. ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्ने ।
२. वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउञ्ज भएका स्थानमा Braille signs control buttons र audio support सहितको कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने ।
३. अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयम्ले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने ।
४. वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने ।
५. वित्तीय संस्था आफूले जारी गर्ने डेबिट/क्रेटिड कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्ने ।












