काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा वाणिज्य बैंकहरुले पौने ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यस हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुको नाफा ३२.३२ प्रतिशतले बढेको छ।
बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिए पनि खराब कर्जाका कारण कर्जा नोक्सानीको व्यवस्थाले लाभांश क्षमतामा भने खासै सुधार हुन नसकेको देखिन्छ। गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये १५ वटा लाभांश बाँड्न सक्ने देखिएको छ भने ४ वटाले वितरण गर्न नसक्ने अवस्था देखिएको छ।
कुन बैंकको लाभांश क्षमता कति ?
वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकले सर्वाधिक लाभांश क्षमता बनाएको छ भने सिटिजन्स र कुमाी बैंकको सबैभन्दा कम लाभांश क्षमता देखिएको छ। एभरेष्ट बैंकले ३८.३२ प्रतिशत लाभांश क्षमता बनाएको छ। अघिल्लो वर्ष पनि बैंकको लाभांश क्षमता ३७.८० प्रतिशत थियो।
यसैगरी दोस्रो सिद्धार्थ बैंक रहेको छ। यो बैंकले २६.१५ प्रतिशत लाभांश क्षमता बनाएको छ। जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। अघिल्लो वर्ष सिद्धार्थ बैंकले १३.०४ प्रतिशत लाभांश क्षमता बनाएको थियो।
तेस्रोमा सानिमा बैंक रहेको छ। यो बैंकले २०.८५ प्रतिशत लाभांश क्षमता बनाएको छ। अघिल्लो वर्ष बैंकको लाभांश क्षमता १५.४८ प्रतिशत थियो।
समीक्षा वर्षमा नबिल बैंकले १९.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशत, नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकले ११.०४ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता बनाएका छन्।
प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिजिटन्स बैंक र कुमारी बैंकले एकल अंकको लाभांश क्षमता बनाएका छन् भने प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश बाँड्न नसक्ने देखिएको छ।













