IME Life New

भारतसँगको स्थिर विनिमय दर परिवर्तन कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरसँग भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ।

भारतसँग दशकौँदेखि कायम स्थिर विनिमय दर (पेग) व्यवस्थाका कारण नेपालले नचाहँदा–नचाहँदै भारु र डलरको उतारचढावको भार बोक्नुपरेको भन्दै पछिल्ला दिनमा नीति पुनरावलोकनको बहस सतहमा आएको छ। एकाथरिले पेग परिवर्तनको समय आएको बताइरहँदा अर्काथरि जानकारहरुले यो बहस आवश्यक भए पनि अहिले नै निर्णयको घडी नआइसकेको तर्क गर्छन्।

Esewa
Crest

नेपालले भारतसँग १०० भारु बराबर १६० नेपाली रुपैयाँको स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्दै आएको छ। यसले मूल्य स्थिरता, सीमावर्ती व्यापार सहजता र कालोबजारी नियन्त्रणमा भूमिका खेलेको मानिन्छ। तर, डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः अवमूल्यन हुने संरचनाले आयातमुखी अर्थतन्त्रमा महँगीको दबाब बढाइरहेको छ।

पछिल्ला महिनामा डलरसँग नेपाली मुद्रा क्रमशः कमजोर बन्दा पेट्रोलियम पदार्थदेखि खाद्यान्न, औषधि र कच्चा पदार्थसम्मको लागत बढेको छ। उद्योग, निर्माण व्यवसाय र उपभोक्ता सबै तहमा यसको असर देखिन थालेको छ। ‘नेपालको विनिमय दर हाम्रो आन्तरिक आर्थिक अवस्थाले मात्र नभएर भारत र डलरको सम्बन्धले निर्देशित भइरहेको छ’, एक अर्थशास्त्री भन्छन्, ‘यही कारण पेग प्रणालीबारे पुनः सोच्नुपर्ने बहस स्वाभाविक हो।’

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार स्थिर विनिमय दरले अल्पकालीन स्थिरता दिएको भए पनि दीर्घकालीन रुपमा मौद्रिक नीतिको स्वतन्त्रता सीमित बनाएको छ। ‘ब्याजदर, तरलता व्यवस्थापन र कर्जा विस्तारमा राष्ट्र बैंकको नीतिगत प्रभावकारिता पेगका कारण कमजोर हुन्छ’, एक पूर्वबैंकर भन्छन्, ‘डलर महँगिँदा नेपालले आफ्नै कारणबिना महँगी आयात गरिरहेको अवस्था छ।’

यद्यपि, अर्का विज्ञहरु भने अहिले नै भारतसँगको विनिमय दर प्रणाली परिवर्तन गर्नु जोखिमपूर्ण हुनसक्ने चेतावनी दिन्छन्। नेपालजस्तो आयातमा निर्भर, उत्पादन क्षमता कमजोर र खुला सिमाना भएको अर्थतन्त्रका लागि स्थिर विनिमय दर ‘एंकर’ का रुपमा काम गरिरहेको उनीहरुको तर्क छ। ‘पेग हटाउने हो भने मूल्य अस्थिरता, विदेशी मुद्रा कालोबजारी र वित्तीय अनिश्चितता बढ्न सक्छ’, एक बैंकरले भने, ‘विगतमा ‘करेन्सी बास्केट’ जस्ता प्रयोग भए पनि अन्ततः नेपाल पुनः स्थीर विनिमय दरमै फर्किएको इतिहास छ।’

स्थिर विनिमय दरले एकल अंकको मुद्रास्फीति कायम राख्न मद्दत गरेको ती बैंकरको भनाइ छ। ‘आमनागरिकको क्रयशक्ति जोगाउन यसले ठूलो भूमिका खेलेको छ’, ती बैंकरले भने।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले पनि नेपाललाई हालको विनिमय दर व्यवस्थामा निरन्तरता दिन सुझाउँदै आएका छन्। भारतसँगको स्थीर विनिमय दर परिवर्तनको बहस आर्थिक दबाब र अन्तर्राष्ट्रिय परिवेशका कारण तीव्र बनेको भए पनि निर्णय भने सजिलो नदेखिएको जानकार बताउँछन्। जानकारहरुका अनुसार अहिलेको मुख्य प्रश्न ‘पेग बदल्ने कि नबदल्ने’ भन्दा पनि ‘पेगको बीचमै रहेर अर्थतन्त्रलाई कसरी बलियो बनाउने’ हो। उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र संरचनागत सुधार बिना विनिमय दर परिवर्तनले मात्रै समस्या समाधान नगर्ने उनीहरुको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS