काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर)को अन्तिम प्रतिवेदन अर्को सातासम्म आउन सक्ने देखिएको छ।
गत वर्ष पुसमा राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक विदेशी लेखापरीक्षकलाई नेपालका वाणिज्य बैंकहरुको (एलपीआर) का लागि आशयपत्र बुझाउन आह्वान गरेको थियो। यसरी आशयपत्र बुझाउने विदेशी लेखापरीक्षकमध्ये राष्ट्र बैंकले बंगलादेशको हाउलदार युनुस कम्पनीलाई छानौट गरेको छ।
राष्ट्र बैंक र १० वटा वाणिज्यसँग हाउलदार युनुस कम्पनीले एलपीआरको सम्झौता गरी काम गरिरहेको केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए। ‘बंगलादेशी कम्पनीलाई अन्तिम प्रतिवेदन बुझाउन ५ महिनाको समयसीमा दिइएको थियो’, पौडेलले भने, ‘अब यही जनवरी २४ तारिखसम्म उक्त कम्पनीले प्रतिवेदन तयार गरी दिनेछ। सम्भवतः अर्को साता प्रतिवेदन आउनेछ।’
राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको एलपीआरका लागि अन्तर्राष्ट्रिय लेखापरीक्षक बंगलादेशको हाउलदार युनुस कम्पनीलाई ६२ लाख ५४ हजार ९१२.५ रुपैयाँ खर्च गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तबमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठूला बैंकको विदेशी अडिटरबाट राष्ट्र बैंकले लेखापरीक्षण गर्ने प्रक्रिया अगाडि बढाएको हो। आईएमएफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए। आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि उक्त सर्त राखेको थियो।
आईएमएफले बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको थियो। आईएमएफले राष्ट्र बैंक ऐनमा संशोधन तथा राष्ट्र बैंकलाई बाह्य लेखापरीक्षणलाई प्राथमिकतामा राख्नसमेत सुझाएको थियो।












