काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण विद्युत तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएको हो। हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनालगायतका पूर्वाधारमा क्षति पुगेको छ। उक्त विपदपछि उद्धार, राहात, विद्युत आपूर्ति पुनः स्थापना तथा प्रभावित क्षेत्रमा आवश्यक समन्वयका लागि मन्त्रालयबाट गरिएका पहल तथा समन्वयात्मक कार्यसमेत भइरहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयबाट के–के भए काम ?
- बाढीका कारणबाट सम्पर्क हुन नसकेका कर्मचारी, मजदुरलगायत स्थानीयको विवरण संकलन र उद्धार कार्यका लागि गृह मन्त्रालयसँग समन्वय गरी उद्धार तथा पुनस्र्थापनाको कार्य भइरहेको । साथै, नेपाल विद्युत प्राधिकरणबाट ७ वटा सवारीसाधन उद्धार कार्यका लागि क्षतिग्रस्त स्थानमा पठाइएको छ भने १४ वटा सवारीसाधन सतर्क अवस्थामा राखिएको छ। उद्धार कार्यको सहजीकरण तथा समन्वयका लागि मन्त्रालयको सहसचिव (प्रशासन महाशाखा) बाढी प्रभावित क्षेत्रमा खटाइएको छ।
- रसुवा जिल्लामा ५ वटा सञ्चालनमा रहेका (कुल २३६ मेगावाट) तथा ३ वटा निर्माणाधीन (कुल ३४२.४२ मेगावाट) प्रमुख जलविद्युत आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), साञ्जेन खोला (७८ मेगावाट), माथिल्लो मैलुङ ए (६.४२ मेगावाट), मैलुङ खोला (५ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) तथा चिलिमे (२२ मेगावाट) रहेका छन्।
- नुवाकोट जिल्लामा ४ वटा सञ्चालनमा रहेका (कुल १२३ मेगावाट) तथा २ वटा निर्माणाधीन (कुल ५२.६ मेगावाट) आयोजना प्रभावित भएका छन्। ती आयोजनामा त्रिशूली जलविद्युत आयोजना (२४ मेगावाट), देवीघाट जलविद्युत आयोजना (१४.१ मेगावाट), माथिल्लो त्रिशूली–३ ए (६० मेगावाट), माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट), मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) तथा २५ मेगावाट क्षमताको सोलार आयोजना रहेका छन्।
- विद्युत आपूर्ति बन्द हुन नदिई विद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरणबाट प्राविधिक टोली परिचालन गरिएको छ ।
- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट तल्लो तटीय क्षेत्रमा थप क्षति हुन नदिन पूर्वजानकारीसहितको दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाई सजग गराइरहेको। केन्द्रबाट जडान गरिएको गेज स्टेसनलगायत अन्य संरचनाको समेत क्षति पुगेकोले थप सुरक्षा जानकारी उपलब्ध गराउन समस्या भएको ।
प्रभावित आयोजनाहरुको विस्तृत क्षतिको विवरण संकलन तथा प्राविधिक मूल्यांकन कार्य सम्बन्धित निकायहरुबाट भइरहेको मन्त्रालयले जनाएको छ। ‘प्राप्त हुने थप विवरणका आधारमा क्षतिको यथार्थ अवस्था तथा पुनःस्थापनासम्बन्धी आवश्यक जानकारी क्रमशः सार्वजनिक गरिनेछ’, मन्त्रालयले भनेको छ, ‘क्षतिको यथार्थ विवरण संकलन गर्न योजना महाशाखाको सहसचिवको संयोजकत्वमा समितिसमेत गठन भएको छ।’












