काठमाडौं । जापानको जनसंख्या घट्दै गइरहेको छ। आधिकारिक तथ्यांकअनुसार लगातार १० औँ सन् २०२५ मा पनि जापानमा जन्म संख्या घटेको हो।
जापानी स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले सन् २०२५ मा ७ लाख ५ हजार ८०९ जन्म भएको देखाउँछ। जुन सन् २०२४ को तुलनामा २.१ प्रतिशतले कम हो। यस तथ्यांकमा जापानमा जापानी नागरिकहरुको जन्म, जापानमा विदेशीको जन्म र विदेशमा जापानी नागरिकको जन्म समावेश छ।
यसैबीच सन् २०२५ मा विवाह गरेका जोडीको संख्या ५लाख ५ हजार ६५६ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले बढी हो। जब कि सम्बन्ध विच्छेदको संख्या ३.७ प्रतिशतले घटेर १ लाख ८२ हजार ९६९ पुगेको छ। सन् २०२४ देखि १६ लाख ५ हजार ६५४ मृत्यु भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा १३ हजार ३० अर्थात् ०.८ प्रतिशतले कम हो।
जापान विश्वकै सबैभन्दा कम जन्मदरमध्ये एउटा देश हो। यसले गर्दा श्रम अभाव, बढ्दो सामाजिक सुरक्षा खर्च र कर तिर्ने कम काम गर्ने उमेरका व्यक्तिसहित धेरै समस्या निम्त्याउँदैछ। यसले जापानको ठूलो ऋणको बोझ निम्त्याइरहेको छ। जसमा पहिले नै प्रमुख अर्थतन्त्रहरुमध्ये ऋण–आय अनुपात सबैभन्दा उच्च छ।
यसबाहेक घट्दो प्रजनन क्षमता र कम जन्मदरका कारण जापानको वृद्ध जनसंख्या सन् १९५० देखि वार्षिक रुपमा बढ्दै गएको छ। वृद्धको यो बढ्दो संख्याले विशेषगरी देशको स्वास्थ्य सेवा प्रणालीका लागि असंख्य सामाजिक समस्या सिर्जना गर्दछ।
गत वर्ष तथ्यांकले जापानमा १०० वर्ष वा सोभन्दा माथिका व्यक्तिको संख्या लगभग १ लाख रहेको देखाएको छ। जसमध्ये लगभग ९० प्रतिशत महिला थिए।
एक अनुमानअनुसार सन् २०७० सम्ममा जापानको ६५ वर्षभन्दा माथिको जनसंख्या कुल जनसंख्याको ४० प्रतिशत हुनेछ। यदि हालको प्रवृत्ति जारी रह्यो भने जापानको १२ करोड ४० लाखको जनसंख्या सन् २०७० सम्ममा घटेर ८ करोड ७० लाख हुने अनुमान गरिएको छ।
घट्दो जनसंख्याले ग्रामीण समुदायहरुलाई पनि प्रतिकूल असर गरिरहेको छ। जापानमा परित्यक्त घरहरुको संख्या अहिले लगभग ४० लाख पुगेको छ। यसबाहेक हालैको एउटा अध्ययनअनुसार ४० प्रतिशतभन्दा बढी नगरपालिका लोप हुने जोखिममा छन्।
जापानको घट्दो जनसंख्याका कारणले जीवन बीमा बजार पनि घट्दै गएको छ। यो अवस्थामा जीवन बीमा कम्पनीहरुले आफ्नो विकास रणनीतिको एउटा भागका रुपमा नर्सिङ हेरचाह र स्वास्थ्य सहयोगजस्ता सम्बन्धित क्षेत्रहरुमा बढ्दो रुपमा ध्यान केन्द्रित गरिरहेका छन्।
घट्दो जन्मदरका धेरै कारणहरु छन्। जसमा बढ्दो जीवनयापन लागत, शिक्षा र काममा महिलाको संख्या बढ्नु र गर्भनिरोधकमा बढी पहुँच समावेश छ। जसले गर्दा महिला कम बच्चा जन्माउन रोजिरहेका छन्। यसबाहेक यो देखिएको छ कि दम्पतीहरुमा विवाह र बच्चा जन्माउनेजस्ता महत्वपूर्ण दीर्घकालीन प्रतिबद्धता गर्न भविष्यमा आत्मविश्वासको कमी छ। –एजेन्सी












