काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गरिने जनाएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीतिमा विशेष नीतिगत व्यवस्थामार्फत शेयर धितो कर्जाको सीमा निर्धारण उल्लेख गरेको हो। मौद्रिक नीतिमा उल्लेख भएको यो विषयले शेयर बजार तरंगित भएको छ। यद्यपि, बजार सम्बन्ध स्टक ब्रोकर र लगानीकर्ताका संघसंगठनले राष्ट्र बैंकसमक्ष पठाएका सुझाव मौद्रिक नीतिमा समेटिएन। यसले लगानीकर्ताको मनोबल थप गिराएको छ।
शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले मौद्रिक नीतिले शेयर धितो कर्जामा सबै कम्पनीलाई एउटै मापदण्डमा राख्ने पुरानो अभ्यासभन्दा जोखिममा आधारित मूल्यांकनलाई प्राथमिकता दिएको सन्देश दिएको बताए। ‘यसले बलियो वित्तीय अवस्था, राम्रो सुशासन र पारदर्शिता भएका कम्पनीका शेयरमा कर्जा प्रवाह सहज हुने वातावरण बनाउनेछ भने कमजोर आधार भएका कम्पनीमा अत्यधिक उतारचढाव स्वतः नियन्त्रण हुनेछ’, उनले भने, ‘यस्तो व्यवस्थाले गुणस्तरीय कम्पनीतर्फ लगानी आकर्षित गर्दै बजारलाई हल्ला र अफवाहभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्थाका आधारमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।’
दीर्घकालमा यो नीतिगत व्यवस्थाले बजारको विश्वसनीयता, संस्थागत लगानीकर्ताको सहभागिता र वित्तीय स्थायित्वलाई बल पुर्याउने फुल्लेलको तर्क छ। ‘स्वस्थ प्रतिस्पर्धा, विवेकपूर्ण कर्जा प्रवाह र गुणस्तरीय लगानी संस्कृतिको विकासमार्फत नेपालको पुँजीबजारलाई अझ परिपक्व, पारदर्शी र दिगो बनाउने दिशामा यो नीति सकारात्मक कदमका रुपमा लिन सकिन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता प्रेम वली कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भन्ने विषयलाई बजारलाई खासै प्रभाव नपार्ने बताउँछन्। यो नीतिले बजार थप बलियो र अनुशासित हुन्छ।
बजार गति लिन नसक्नुको कारण लगानीकर्ता र स्टक ब्रोकरले पठाएका कुनै पनि सुझाव मौद्रिक नीतिमा समेटिनु रहेको वलीको भनाइ छ। ‘पुँजीबजार सुधार र विकासका लागि लगानीकर्ताका संघसंगठन र स्टक ब्रोकरले मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा सुझाव पेस गरेका थिए’, उनले भने, ‘तर, कुनै पनि सुझाव समेटिएन। त्यही कारण लगानीकर्तामा विश्वासको वातावरण गुमेको हो।’
बजारमा सुधार ल्याउन सरकारदेखि नियामक निकायहरुले पहलकदमी लिनुपर्ने वलीको भनाइ छ। ‘सबै कुरा ठीक छ भनेर बस्नु बजारका लागि घातक हुन सक्छ’, उनले भने।












