काठमाडौं । चरम मौसमी जोखिमले हुने क्षति अब व्यक्तिगत सम्पत्ति वा क्षेत्रहरुमा सीमित छैन। अब यो आर्थिक रुपमा निर्भर रहेका सबै पूर्वाधार, आपूर्ति शृंखला, बीमा बजार र सार्वजनिक सेवासहित साझा प्रणालीमार्फत बढ्दो रुपमा फैलिरहेको छ।
कार्बन डिस्क्लोजर प्रोजेटको नयाँ प्रतिवेदनअनुसार चरम मौसमले विश्वव्यापी अर्थतन्त्रलाई भविष्यमा लगभग ९०० अर्ब डलरको घाटा पुर्याउन सक्छ र जोखिम द्रुत रुपमा बढ्ने तय गरिएको छ। मे २०२६ मा प्रकाशित ११ पृष्ठको प्रतिवेदन ‘डिस्कनेक्टेड डिफेन्सः कर्पोरेसन, एक्सट्रिम वेदर रिस्क एक्रस कर्पोरेट्स, सिटिज एन्ड फाइनान्सियल स्सिटम’मा ८० देशका १ हजारभन्दा बढी सहर, राज्य र क्षेत्रका २२ हजार १०० भन्दा बढी कम्पनीको डाटामा आधारित छ।
प्रतिवेदनमा चरम मौसम एउटा प्रणालीगत जोखिम रहेको तर्क गरिएको छ। जसलाई क्षेत्रस्तरको अनुकूलनमार्फत व्यवस्थापन गर्न कम्पनीस्तरको खतरा मात्र नभई सरकारहरुबीच सहकार्य आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। नतिजाहरुले देखाउँछन् कि सन् २०२५ मा ११ हजार २६१ कम्पनीले पूर्ण वातावरणीय तथ्यांक रिपोर्ट गरे तर केवल ३५प्रतिशतले चरम मौसमलाई प्रमुख वित्तीय जोखिमका रुपमा पहिचान गरे। यसका बाबजुद कम्पनीहरुले सन् २०२५ मा चरम मौसमका कारण लगभग ३ अर्ब डलरको वास्तविक घाटा रिपोर्ट गरे। जसमा मुख्यतया ३० करोड ९० लाख डलरको प्रत्यक्ष लागत र २६ करोड ६० लाख डलरको सञ्चालन बन्द समावेश थियो। भारी वर्षा सबैभन्दा ठूलो कारक थियो। जसले गर्दा १.५ अर्ब डलरको नोक्सान भयो।
कम्पनीहरुले भविष्यमा मुख्यतया बाढी (५२८ अर्ब डलर लागत लाग्ने अनुमान), चक्रवात (१६१ अर्ब डलर) र भारी वर्षा (८६ अर्ब डलर)का कारण ८९८ अर्ब डलरको वित्तीय प्रभाव अनुमान गरेका थिए। लगभग आधा कम्पनी (४८ प्रतिशत) ले आगामी २ वर्षमा गम्भीर मौसमी जोखिमको अपेक्षा गर्छन्।
वित्तीय घाटा उत्पादन क्षमतामा कमी (३२६ अर्ब डलरको घाटा) र सम्पत्तिको मूल्यह्रास वा प्रारम्भिक अवकाश (२१८ अर्ब डलर)का कारणले हुने अनुमान गरिएको छ। यी व्यक्तिगत सम्पत्ति वा क्षेत्रहरुमा सीमित हुने अपेक्षा गरिएको छैन। तर पूर्वाधार, आपूर्ति शृंखला, बीमा बजार र सार्वजनिक सेवाहरुजस्ता व्यवसाय निर्भर गर्ने प्रणालीहरुमा फैलिनेछ।
प्रतिवेदनमा जोखिम न्यूनीकरणको लागत जोखिमको लागतभन्दा धेरै कम रहेको उल्लेख छ। ‘प्रतिकम्पनी जोखिमको औसत लागत ३ करोड ९४ डलर रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जब कि तिनीहरुलाई न्यूनीकरणको लागत ३१ लाख डलरमात्र छ। जुन लगभग १३ गुणा कम हो।’ –एजेन्सी












