काठमाडौं । बैंक वित्तीय संस्था वा कुनै व्यावसायिक संस्थाले नियमितजसो नगद रकम भौतिक रुपमा नै एउटा ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुपर्ने हुन्छ। कार्यालयले सेवाग्राहीबाट संकलन गरेको रकम एउटा शाखाबाट अर्को शाखामा लैजान वा ल्याउन, बैंकमा जम्मा गर्न, भुक्तानीका लागि बैंक खाताबाट झिकेर ल्याउनका लागि नगदै ओसारपसार गर्नुपर्ने बाध्यता हुन्छ।
यसबाहेक नेपाल राष्ट्र बैंकले पनि भारत तथा तेस्रो मुलुकबाट नगद भित्र्याउँदा वा राष्ट्र बैंकको क्षेत्रीय कार्यालयहरुमा आवश्यकताअनुसारको नगद उपलब्ध गराउन भौतिक रुपमा नै नगद ओसारपसार गर्नुपर्छ। राष्ट्र बैंकले आन्तरिक रुपमा नगद ओसारपसार गर्दा नेपाली सेनाको सुरक्षाभित्र ओसारपसार गर्छ। बैंक वित्तीय संस्थाले हतियारधारी वा गैरहतियारधारी निजी सुरक्षाकर्मीको सहयोगमा नगद ओसारपसार गर्छन्। निजी व्यावसायिक संस्थासँग यस्तो सुरक्षा व्यवस्था उपलब्ध नहुन सक्छ।
तसर्थ, नगद कारोबार वा नगद ओसारपसारका क्रममा हुने जोखिमविरुद्धको सुरक्षाका लागि मार्गस्थ नगद बीमा गरिएको हुन्छ। बीमा प्राधिकरणले यस्ता जोखिमको बीमासम्बन्धी प्रावधानलाई ‘मौद्रिक क्षति बीमा निर्देशिका, २०८१’ लागू गरेको छ। यो निर्देशिकामा प्राधिकरणले नगद ढुवानी गर्ने व्यवसायहरुका लागि विशिष्ट नियमहरु, जोखिम बहनहरु र अपवादहरुको रुपरेखा प्रस्तुत गर्दै मौद्रिक क्षति बीमालाई नियन्त्रण गर्ने व्यापक दिशानिर्देशहरु लागू गरेको छ।
मार्गस्थ नगदलाई बीमित संस्थाको अधिकार प्राप्त व्यक्तिको नियन्त्रणमा रहँदा नेपालभित्र तोकिएको भूगोलमा नगदको ढुवानी वा स्थानान्तरणका रुपमा परिभाषित गरिएको छ। यो बीमालेखमा नगद चोरी, चोरी, होल्ड–अप, वा डकैतीको कारणले गर्दा नगद, नगद बराबर र धितोपत्रहरुको क्षतिबाट जोगाउँछ। यो जोखिम बहन यात्राका लागि रातभरको रोक (रात्री बास) आवश्यक छ कि छैन भन्ने कुरामा ध्यान नदिई लागू हुन्छ। यसले नगद साथमा जाने कर्मचारीको लापरबाही वा धोखाधडीपूर्ण कार्यबाट हुने नोक्सानलाई पनि समेट्छ।
प्राधिकरणका अनुसार मार्गस्थ नगद बीमाका लागि कुनै पनि समयमा ढुवानी गरिएको नगद र धितोपत्रहरुको अधिकतम रकम (कभरेज ‘सी’) कभर गर्ने बीमाशुल्क दर १.५% मा निश्चित गरिएको छ।
नगद बीमालेखका लागि एकपटकको ओसारपसारमा स्थानान्तरण गरिएको नगद, नगद बराबर र धितोपत्रहरुको अधिकतम रकमका आधारमा एउटा विशिष्ट बीमाकृत रकम तोकिएको हुन्छ।
नगद ओसारपसारको जोखिम समेट्ने भए पनि ओसारपसारका क्रममा नगद हराएको अवस्थामा यो बीमालेखअन्तर्गत दाबी भुक्तानी गरिँदैन। यो बीमालेखले हुलाक वा कुरियरमार्फत ढुवानी गरिएको नगदलाई समेट्दैन । यसले बीमित व्यवसाय मालिकहरु, साझेदारहरु वा निर्देशक र कर्मचारीहरुद्वारा गरिएको धोखाधडी वा बेइमानीलाई समेट्छ।
बीमित संस्थाहरुले दैनिक रुपमा नगद कारोबार र नगद स्थानान्तरणहरुको पुष्टि गर्ने सम्पूर्ण विवरण र कागजपत्रहरु सुरक्षित राख्नुपर्छ। बीमकहरुले कुनै पनि समयमा यी विवरणहरुको निरीक्षण गर्न पाउनुपर्छ।
यो बीमामा अनिवार्य अधिक र स्वेच्छिक अधिकसम्बन्धी प्रावधानसमेत समावेश गरिएको हुन्छ। जसअन्तर्गत बीमा जोखिमका कारण नगद क्षति भएमा बीमित संस्था आफैँले पूर्वनिर्धारित न्यूनतम रकम क्षति व्यहोर्नुपर्छ।












