काठमाडौं । विश्व बजारमा उतारचढाव आए पनि विश्वको सबैभन्दा ठूलो सुन उपभोक्ता चीनले सुनको खोजीलाई निरन्तरता दिएको छ।
यस वर्ष अन्तर्राष्ट्रिय सुनको मूल्यमा आएको गिरावटको फाइदा उठाउँदै चीनले जुनमा आफ्नो सुन आयातमा उल्लेखनीय वृद्धि गरेको हो। चिनियाँ भन्सारले जारी गरेको तथ्यांकअनुसार चीनले जुनमा १७३ टनभन्दा बढी सुन आयात गरेको छ। जुन मार्च २०२४ पछिको उच्चतम एक महिनाको स्तर हो।
चिनियाँ लगानीकर्ताले विश्वव्यापी सुनको मूल्यमा आएको गिरावटलाई प्रमुख अवसरका रुपमा देखेका छन्। खुद्रा लगानीकर्ता र चिनियाँ वाणिज्य बैंकहरुले बलियो मागका बीचमा आफ्नो भण्डार पुनःपूर्ति गर्न विदेशमा आफ्नो खरिद बढाएका छन्। यो प्रवृत्तिले मूल्यमा आएको गिरावटले सुनमा चीनको विश्वास घटाएको छैन भन्ने संकेत गर्छ। बरु, कम मूल्यले नयाँ खरिदकर्ताहरुलाई बजारमा प्रवेश गर्न प्रोत्साहित गरेको छ।
सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल सुन आयात लगभग ८२० टन पुगेको छ। यो संख्या गत वर्ष (२०२५) सोही अवधिमा आयात गरिएको रकमको लगभग दोब्बर हो।
यो २०२५ को पहिलो ६ महिनाका लागि इतिहासमा दोस्रो उच्चतम आयात स्तर हो। २०२५ को पहिलो अ५ महिनामा रेकर्ड ८३० टन सुन आयात गरिएको थियो।
चीनले भौतिक सुनको मात्र नभई सुन–समर्थित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)को मागमा पनि ठूलो वृद्धि देखिरहेको छ। सन् २०२६ मा हालसम्म चिनियाँ सुन ईएफटी मा २८ टन खुद लगानी रेकर्ड गरिएको छ। यसले देखाउँछ कि लगानीकर्ता केवल बिस्कुट वा सिक्कामा सीमित छैनन्। तर, वित्तीय उत्पादनहरु मार्फत सुनमा आफ्नो जोखिम पनि बढाइरहेका छन्।
चीन विश्वको सबैभन्दा ठूलो सुन उपभोक्ता हो। त्यसकारण यसको खरिद ढाँचामा भएको कुनै पनि परिवर्तनले अन्तर्राष्ट्रिय बुलियन बजारलाई प्रत्यक्ष असर गर्छ।
रेकर्ड आयात र बलियो ईटीएफ प्रवाहले स्पष्ट रुपमा संकेत गर्दछ कि चिनियाँ बजारमा माग अत्यन्तै बलियो छ। यदि आयातको यो गति जारी रह्यो भने २०२६ ले वार्षिक आयातको लागि नयाँ सर्वकालीन उच्चतम स्तर कायम गर्न सक्छ। जसले विश्वव्यापी सुनको मूल्यलाई बलियो समर्थन प्रदान गर्दछ।












