काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभूवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र परिक्षा शुरू नहुँदै बाहिरिएको प्रकरणमा स्पष्टीकरण दिने प्रयास गरेका छन्।
पोखरेलले आइतबार राति फेसबुक पेजबाटै स्पष्टीकरण जारी गर्दै घटनाबारे प्रहरीले मुख्य दोषीलाइ पक्राउ गरी अनुसन्धान जारी राखेको बताएका छन्। गत शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर एमबिएस प्रथम सेमेस्टरको परीक्षा शुरू भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्स एपमार्फत् सार्वजनिक भएको थियो ।
उनले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा प्रणालीमा रहेका कमजोरीबारे प्रतिवेदनमा उजागर गर्ने बताए। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने उनको भनाइ छ।
उनले लेखेका छन्, ‘घटना सार्वजनिक हुने बित्तिकै मैले तत्काल अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय अघि बढाएँ। त्यसको परिणामस्वरूप २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरू प्रहरी नियन्त्रणमा पुगे।’
पोखरेलले भनेका छन्, ‘यो घटनालाई म केवल एउटा आपराधिक घटनाका रूपमा मात्र होइन, हाम्रो परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा पनि लिएको छु। इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीप्रतिको जनविश्वास अझ बलियो बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहनेछ।’












