काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धमा व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ। यसका साथै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्नेछ।
यद्यपि, देहायको अवस्थामा उल्लेखित सीमाभन्दा बढीको रकम नगद भुक्तानी गर्न बाधा पर्ने छैनः
- कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न।
- राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबीच दैनिक कारोबार सञ्चालनका लागि नगद कारोबार गर्न।
त्यसैले नगद कारोबारको सीमा बुझेर सचेत भई कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।












