काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा आज सार्वजनिक गरिएको छ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामार्फत राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनमा देखिएका चुनौतीहरु पनि औँल्याएको छ।
यस्ता छन् चुनौतीहरु
आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका क्रममा अर्थतन्त्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरुको सामना गर्नुपरेको थियो। विश्व भूराजनीतिले निम्त्याएको व्यापार महसुलको प्रभाव, इजरायल अमेरिका र इरानबीचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा भएको क्षति, स्ट्रेट अफ हर्मुज बन्द भई आपूर्ति शृंखलामा देखिएको अवरोध तथा इन्धनको मूल्य वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको चापका कारण निरन्तर अनिश्चितता देखियो।
नेपालमा ढिला भित्रिएको मनसुन तथा असोज महिनामा भएको अधिक वर्षाका कारण कृषि उत्पादनमा आएको कमी, २०८२ भदौ २३ र २४ को आन्दोलनपश्चात् उत्पन्न असहज परिस्थिति तथा निजी क्षेत्रको मनोबल कमजोर भई व्यवसाय विस्तार हुन नसक्दा समष्टिगत मागमा दबाब सिर्जना हुन गयो।
यसैबीच वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवम् निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता जस्ता विषयहरुमा देखिएका अन्यौल आदिले समेत वित्तीय प्रणालीबाट अपेक्षित रुपमा कर्जा प्रवाह बढ्न सकेन।
आर्थिक गतिविधि अपेक्षित विस्तार नभएको एवम् विगतमा प्रवाह भएका कर्जाको गुणस्तरसमेतका कारण निष्क्रिय कर्जा अनुपात वृद्धि भई बैंकको लगानी क्षमतामा ह्रास आइरहेको थियो। फलस्वरुप विप्रेषण आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँंदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रह्यो।












