काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालन र व्यवस्थापनको नजिकबाट अनुमत गरिरहेको जनाएको छ।
केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। ‘उक्त बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय राष्ट्र बैंकको जानकारीमा आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसपश्चात उक्त बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको तथा विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक रायसुझाव लिई छलफल भइरहेको छ।’
हाल उक्त बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचक राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था विद्यमान रहेकोले बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा राष्ट्र बैंकबाट थप छलफल र कानुनी रायसमेत लिई कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवं बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख छ।












