काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाद्वारा जारी गरिएको बुलेटिन अनुसार आज शनिबार देशका मुख्य नदीहरूमा बहाव सामान्य रहने भए तापनि केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
आज शनिबार सुनसरी, मोरङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।
सुनसरी, मोरङ र आसपासका जिल्ला भई बहने स-साना नदी तटीय क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले उक्त क्षेत्रका बासिन्दा तथा सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तह भन्दा तलै रहेको छ। आगामी दुइ दिन सम्म देशका प्रमुख नदीहरूमा बहावको सामान्य घटबढ मात्र हुने पूर्वानुमान गरिएको छ।
भोलि र पर्सि कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।












