काठमाडौं । बहुराष्ट्रिय वित्तीय सेवा फर्म जेपी मोर्गनले २०२७ मा विश्वव्यापी खाद्यान्नको मूल्यमा तीव्र वृद्धि हुन सक्ने चेतावनी दिएको छ। फर्मका अनुसार मलको अभाव, भूराजनीतिक तनाव र शक्तिशाली एल निनोले संकट झनै बढ्नेछ।
जेपी मोर्गनले सन् २०२७ को पहिलो ६ महिनामा विश्वव्यापी खाद्यान्नको मूल्य ५% ले बढ्न सक्ने अनुमान गरेको छ। सन् २०२६ को पहिलो ६ को तुलनामा यो संख्या २.८% थियो।
विश्वव्यापी मल आपूर्ति शृंखलामा मध्यपूर्वले प्रमुख भूमिका खेल्छ। तथ्यांकका अनुसार मध्यपूर्वले विश्वव्यापी युरिया निर्यातको लगभग ४२% र अमोनिया निर्यातको २७% ओगटेको छ। यस सन्दर्भमा होर्मुज जलमार्गवरिपरि कुनै पनि लामो तनावले विश्वव्यापी मल आपूर्ति र मूल्यलाई असर गर्न सक्छ।
यसका साथै नाइट्रोजन मल (जस्तै युरिया) उत्पादन गर्ने प्राथमिक कच्चा पदार्थ प्राकृतिक ग्यास हो। ग्यासको मूल्य बढ्दा मल उत्पादन महँगो हुन्छ। यदि किसानले यो बढेको लागतका कारण कम मल प्रयोग गरे भने बाली उत्पादनमा प्रत्यक्ष असर पर्नेछ।
जेपी मोर्गनका अनुसार प्रभावित मल क्षमता पूर्ण रुपमा ठीक हुन १ देखि ४ वर्ष लाग्न सक्छ र केही प्राकृतिक ग्यास प्लान्टलाई सामान्यमा फर्किन ३ देखि ५ वर्ष लाग्न सक्छ।
संकटको अर्को प्रमुख कारक मौसम हो, अर्थात् एल निनो। जेपी मोर्गनले अनुमान गरेको छ कि सन् २०२६ को अन्त्यसम्ममा धेरै बलियो वा सुपर एल निनो हुने ८१% सम्भावना छ। यो सन् २०२७ सम्म जारी रहने ९७% सम्भावना छ।
ऐतिहासिक रुपमा एल निनोले उष्णकटिबन्धीय क्षेत्रमा कृषि उत्पादनमा औसत ३.५% गिरावट ल्याएको छ। मोर्गनका अनुसार बलियो एल निनोले विश्वव्यापी खाद्य मुद्रास्फीतिमा ०.७% अंक थप्न सक्छ। जुन उच्च ऊर्जा मूल्यहरुसँग मिलेर १.३% देखि १.५% अंकसम्म पुग्न सक्छ। –एजेन्सी












