काठमाडौं । सरकारले यात्रीसँग बढी भाडा लिने विद्युतीय सवारीसाधनलाई कारबाही गर्ने चेतावनी दिएको छ।
भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आज अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘२०८२ चैत २५ मा यस विभागवाट प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणालीअनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिँदा यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै गरिएको हो’, सूचनामा भनिएको छ, ‘तर, विद्युतीय सवारीसाधनको हकमा उक्त भाडा वृद्धि लागू हुँदैन।’
कुनै–कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार–पसार गर्दा माथि उल्लेख भएअनुसार वृद्धि भएको भाडा असुलिएका साथै यात्रुलाई यात्री टिकटसमेत नदिइएको गुनासो प्राप्त भएको विभागले जनाएको छ। ‘विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेको छ’, विभागले भनेको छ, ‘सोहीअनुसार गर्न गराउन अनुरोध गरिन्छ।’
यदि उल्लिखित व्यवस्थाको विपरीत भए वा गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागले चेतावनी दिएको छ।












